महाभारतभित्रको प्रेमकथा
म सानो छँदा गाउँमा बढो धुमधामले टेलिभिजन भित्रिएको थिएन । छिमेकी/ आफन्तकोमा गएर हेर्नुपर्ने बाध्यता थयो । शनिबर बिहान महाभारत आउँथ्यो, रामायण आउँथ्यो । जुन दिन यी हिन्दी धारावाहिक आउँथे त्यो दिन पर्वजस्तै लाग्थ्यो । राजनीति, सत्ता, सङ्घर्ष, प्रेम केही नबुझ्दानबुझ्दै महाभारतको रस पिउने अवसर सबैले कहाँ पाउनु त्यो बेला दूरदराजको पहाडमा ।
अहिले पनि कहीं शङ्खध्वनीसहित ‘यदा यदा ही धर्मस्य ग्लाननिर्भवति भारत’ बज्यो भने दिमागमा त्यही चित्र—दृश्य आउँछ । दिमागमा गडेका केही पात्रको चरित्र र तस्वीर याद आउँछ । त्यसबेला त्यो फगत ‘गीत’ थियो, गीताको चौथो अध्यायबाट लिइएको श्लोक भन्ने के थाहा ! तैपनि घोक्रो फुकाइन्थ्यो, गुनगुनाइन्थ्यो !
महाभारत जति पछि भयो उति विराट लाग्ने रहेछ । अलिकति बुझें वा बुझियो कि भन्यो केही पनि बुझिएको नहुँदो रहेछ । यो सन्दर्भ वा प्रसङ्गचाहीँ गज्जब रहेछ भन्यो त्योभन्दा अर्को सन्दर्भ झन् गज्जब हुने रहेछ । आजपर्यन्त त्यस्तै लाग्छ ।
यद्यपि, मलाई महाभारतमा प्रेम पनि छ भनेर थाहा थिएन । महाभारतलाई प्रेमले पनि गतिशील बनाएको छ भनेर न प्रवचनमा पण्डितले सुनाए न त्यो सानो उमेरमा हेरेर थाहा पाइयो । सत्ता, षड्यन्त्र, छलकपट, सङ्घर्ष, शस्त्र, अस्त्रको घेराबाहिर गएर कसैले महाभारतबारे सुनाएनन्। द्वन्द्वको घेराबाट उठेर प्रेमको घेराबाट महाभारतको कहानी किन नसुनाइएको होला ? अहिले अनुभव भएको छ, महाभारत युद्धमा जसरी सत्ता र सङ्घर्ष प्रधान हो त्यसैगरी प्रेम पनि प्रधान रहेछ । यसो भनौं, महाभारतको उदय नै प्रेम जराबाट भएको रहेछ ।
महाभारतका केही प्रेम प्रसङ्ग
सत्यवती र ऋषि परासरको प्रेम प्रसङ्ग लिऔं । महर्षि व्यास (वेदव्यास) को जन्म नै परासर ऋषि र माझीकी छोरी सत्यवतीको प्रेम आकर्षणबाट सुरु हुन्छ । उनीहरुबिच सर्तसहित विवाह र सन्तान उत्पादनको प्रक्रिया पूरा भएपछि व्यास जन्मिए । सन्तान उत्पादन भएपछि पनि कुमारित्व कायम गराउने वाचा ऋषि परासरले पूरा गरेपछि मात्र हस्तिनापुरका राजा शन्तनु र सत्यवतीको प्रेम सन्दर्भ आउने हो ।
शन्तनु र गंगाका पुत्र हुन् देवब्रत । देवब्रत शन्तनुलाई कुरुवंश कायम राख्न गंगाबाट प्राप्त सन्तान हुन् । देवब्रतलाई हामी भीष्म भन्छौं जो पहिल्यै हस्तिनापुर युवराज घोषित थिए । तर कालान्तरमा शन्तनु र सत्यवतीबिच प्रेम अङ्कुरायो । आफ्नै छोरीको गर्भबाट जन्मिएको पुरुष नै हस्तिनापुरको उत्तराधिकारी हुनपर्ने माग सत्यवतीको पिताले राखेपछि आहत भएका शन्तनुलाई चित्त बुझाउन देवब्रत (भीष्म) ले प्रतिज्ञा गरे । सत्यवतीको प्रेममा बेचैन, ब्याकुल प्रेमरोगी पिताका लागि युवराज पदसहित त्यागेर आजीवन ब्रम्हचर्यको घोषणा नै भीष्मप्रतिज्ञा हो । यही प्रतिज्ञापछि शन्तनु र सत्यवतीको विवाह भयो र महाभारतको डोब खनियो । भीष्मको त्यो प्रतिज्ञा पिताको प्रेम प्राप्तिका लागि उत्सर्ग थियो, बलिदान थियो ।
अम्बा र शाल्वबिचको प्रेम कहानीले पूर्णता पाएको भए महाभारतमा भीष्मको पराजय कसरी सम्भव हुन्थ्यो ? उनै भीष्मले स्वयम्वर समारोहबाट अपहरण गरेका थिए तीन कन्या अम्बा, अम्बिका र अम्बालिका । अम्बिका र अम्बालिका त हस्तिनापुरका बुहारी भए तर अम्बाले शाल्वसँगको आफ्नो प्रेमका खातिर सबैखाले बिद्रोह गरिन् । यही प्रेम-द्वन्द्वले परशुराम र भीष्मबिच अनिर्णित तर भयङ्कर युद्ध भयो । अन्ततः पुनर्जन्ममा भीष्मको मृत्युको कारण बन्ने वरदान प्राप्त गरेर अम्बाले देहत्याग गरिन् । यहींबाट शिखण्डीको उदय र भीष्मको पतनको कथा सुरु हुन्छ । सबैलाई थाहा छ भीष्मको पतनविना महाभारतको अन्त्य सम्भव छैन । अर्थात् अम्बा महाभारतको सुरुदेखि आखिरीसम्म छिन् । प्रेमका खातिर अम्बाले गरेको बिद्रोह महाभारतको अर्को कडी हो ।
महाभारतमा द्रौपदी केन्द्रीय चरित्र हुन् । खासमा द्रौपदीले पाञ्चाल नरेशको दवावमा कर्णप्रतिको आशक्तिलाई घृणामा रुपान्तरण गरेको भेटिन्छ । यही घृणाले महाभारतमा चिरहरणको बीज रोप्छ । जसरी द्रौपदी कर्णप्रति आकर्षित थिइन् उस्तै चरित्र कर्णको पनि भेटिन्छ । भीष्मसँगको संवादमा कर्णले द्रौपदीसँग आजीवन प्रेम गरेको स्वीकार गरेका छन् ।
महाभारतमै विदर्भकी राजकुमारी रुक्मिणीको विवाह शिशुपालसँग हुने भएपछि कृष्णले अपहरण गरेर भित्र्याएको अर्को प्रेमकथा छ । दुर्योधनसँग बहिनीको विवाह होस् भन्ने चाहने बलरामको इच्छाविरुद्ध कृष्णले अर्जुनलाई उक्साएर शुभद्राको अपहरण गराई विवाह गराइदिएको अर्को प्रेम सन्दर्भ छ । हिडिम्बाको विद्रोह र भीमसँगको प्रेम रतीरागको अर्को कहानी छ । नागकन्याका रुपमा उलुपीले गरेको अर्जुनको अपहरण र प्रेमको अर्कै कहानी छ ।
शकुनी भन्नासाथ छल, कपट र षड्यन्त्रको गन्ध आउँछ । शकुनी आफैंमा बिम्बजस्ता, प्रतीकजस्ता लाग्छन् । शकुनी मामा-भान्ज प्रेमको पनि पर्याय छन् । कौरव र पाण्डवबिच महाभारतको सेतु बनाउने काम नै शकुनीको भान्जा अर्थात् दुर्योधन प्रेममा देखिन्छ । भान्जा प्रेमको आवरणमा शकुनीले चालेका हरेक चाल कौरवको विपक्षमा जाँदाजाँदा महाभारत भएकै हो । यसर्थ, कौरवको विनाश खासमा शकुनीको बदलाभावको खेती पनि थियो । भनिन्छ नि, समस्याको समाधान यसमा पनि निर्भर गर्दछ कि हामीलाई सल्लाह कसले दिइरहेको छ । जस्तो कौरव शकुनीको सल्लाह लिइरहेका थिए, यता पाण्डव कृष्णको ।
महाभारतमा दुर्योधन र कर्णबिचको मित्रताको वा प्रेमबारे कमै सुनाइन्छ । गुरु द्रोणाचार्यले अर्जुनप्रति गरेको एकपक्षी प्रेमले गराएको वास्तविक कर्णको जन्म प्रसङ्ग कम रुचिपूर्ण छैन । घृणा र भेदभावको सिकार कर्णप्रति दुर्योधनले दर्शाएको प्रेम र सम्मानको बलमा महाभारतमा नयाँ नयाँ अध्याय थपिएका छन् । यी र यस्तै अन्य विविध प्रसङ्गलाई सत्तासँग भन्दा प्रेमसँग तुलना गर्नु उपयुक्त हुन्छ ।
लेखकको सम्वन्धमा