January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

स्वाभिमानी हामी


प्रकृतिको विविध छटा संस्कृतिमा धनी
वीरताको जङ्गी गाथा स्वाभिमानी हामी
हिमाल पहाड तराईको अनमोल सम्योग
अनेकतामा रमाउने एकताको योग ।
 
चाँदीजस्तै टल्कने त्यो प्रकृतिका वादल
वीरहरुको रगतले पुरिने त्यो खाडल
बनाउन देश भनी थुप्रै सपुत भए
बहुलवादको नाम दिई गणतन्त्र ल्याए ।
 
लालीगुँरास मखमली ढकमक फुल्ने
पालुवा र बतासले आफ्नै भाका खोल्ने
ऋतुसँगै बदलिने यी धरा हुन् विशाल
अनमोल रत्न जडित भरिभराउ नेपाल ।
 
कोशी दिदी सुसाउँदै कोमल सङ्गीत दिने
स्वच्छ हावा शीतल छ मनुजले लिने
डाँफे मुनाल कोकिलको मधुर त्यो धुन
गर्व गर्छौँ नेपाली हौ भनी चिनाउँन ।
 
नेपाललाई चिनाउँने दन्तलहर राम्रा
असङ्ख्य छन् मठ, मन्दिर, देवालय हाम्रा
जनक, वुद्ध, भृकुटी र सीता यहीँ जन्मे
पाएको छु नाम मैले नेपाली हुँ भन्ने ।