March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

तीज सँगै मनाऊँ

बुहारीः
नारीहरूको अब तीज आयो
आमा बुबा माइत याद आयो।
सम्झेर ऐलै मन भो फुरुङ्ग
यो तीजमा माइत जान्छु आमा।।
 
सासूः
एक्लै भए मै पनि के गरौँली
सम्झेर आफ्ना म रुँदै बसौंली।
छोरी बुहारी सब एक नै हौ
प्यारी बुहारी बुझ भो नजाऊ।।
 
बुहारीः
बाबा र आमा कति पर्खंदा हुन्
छन् भाइ बैनी नगए म रुन्छन् 
अत्यास लाग्यो सबलाई भेट्न
यो तीजमा माइत जान्छु आमा।।
 
सासूः
लाग्थ्यो बधू हुन् अति सभ्य ज्ञानी
आयौ तिमी ठान्दछु भाग्यमानी।
इच्छा भयो तीज सँगै मनाऊँ
प्यारी बुहारी बुझ भो नजाऊ।।
 
बुहारीः
तारा र पद्मा पनि आउँछन् रे
लीला र इच्छा अझ गाउँछन् रे।
साथी सँगिनी सब भेट गर्न
यो तीजमा माइत जान्छु आमा।।
 
सासूः
रातो छ सारी टिकिया छ रातै
पोते चुरा पाउजु बज्छ साथै।
हामी सँगै गाउन नाच्न पाऊँ
प्यारी बुहारी बुझ भो नजाऊ।।
 
बुहारीः
झल्को सधैंको अब मेट्न पाऊँ
आफन्त मेरा पनि भेट्न पाऊँ
सक्नेछु मैले सबथोक  काम
यो तीजमा माइत जान्छु आमा।।
 
सासूः
खाऔँ मिठो जे दर होस् मिलेर
पूजा गरौं मन्दिरमा गएर।
यो वर्षको तीज यतै मनाऊँ
प्यारी बुहारी बुझ भो नजाऊ।।
 
बुहारीः 
सासू त आमासरि उच्च पाएँ
यो स्नेह मेरो मुटुमा सजाएँ
उत्साहले तीज सँगै मनाऊँ
आदर्श नारी म बनूँ रमाऊँ।।
 
सासू/ बुहारी दुवै 
शृङ्गार शोभा घरमा पियारी
सासू बुहारी र समान छोरी
नारीहरू अन्तर द्वन्द्व रोकौं
हामी सबै एक भनेर सोचौं।।
छन्दः इन्द्रवज्रा