February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

मेरा बा

महान हुन् मेरा बा
आदर गर्छु म सधैँ 
मलाई हुर्काउने, बढाउने
दुःख, कष्टका घाम पानी पचाउने मेरा बा !
 
तिम्रो पुत्र बनी जन्मिएको छु बा
संसारलाई तिम्रो नामले चिनाउने छु
पूर्णिमाको रात उज्यालो किन नहोस्
तिम्रो मुहार हुने छ उज्यालो त्योभन्दा धेर
 
हर सपना बोकी हिँडेको छु म
तिम्रा त्यो अबिरल सपना पूरा गर्ने छु
हातमा ठेला उठाई उठाई मलाई पढाउँदाका दुःख
कसरी बिर्सन सक्थेँ र बा !
 
‘दुःखमा पनि सुख छ छोरा’ भन्दै सम्झाएका कुरा
अब त बुझ्ने भएको छु बा
रातपछि आउने दिनझैँ
तिम्रा मुहारमा सुखका धर्सा हेर्ने प्रतीक्षामा छु बा !