साहित्यको महत्त्व
प्रिय चन्द्र
तिमी त प्रश्न सोध्न पल्कियौ कि क्याहो कि मलाई उत्तर दिन उल्क्याएको हो ? सायद दुवै हो । किनभने भनिन्छ मान्छेका सबैभन्दा ठुला अभीप्सा आत्मप्रकाशन र आत्मप्रकाशनका सबैभन्दा ठुला माध्यम अभिव्यक्ति र अभिस्थापना हुन् । अचेल यसको अत्यन्त सहज र सुलभ माध्यम भएको छ मुहारपुस्तिका जहाँ यी दुवै मानव अभीप्साका एकभन्दा एक बान्किला उदाहरण खातका खात पाइन्छन् । हामी पनि प्रश्न सोध्ने र उत्तर दिने बहानामा आफूलाई प्रकाशन नै त गरिरहेका छौँ, होइन र ? तर त्यसो भएपनि के बिग्रियो त आखिर मान्छेको अभीप्सै त्यही भएपछि ?
“मान्छे किन सकीनसकी साहित्य गोष्ठीको आयोजना गर्छन् ? किन सकीनसकी दिन बिताएर धाईधाई गोष्ठीमा भाग लिन जान्छन् ? एक कप चिया र दुइटा बिस्कुटका भरमा दिन बितुन्जेल पर्खिएर एउटा कविता सुनाउन र एउटादुइटा फोटो खिचाउन पाउँदैमा यस्तो तृप्त देखिन्छन् जस्तो मतपत्र च्याताईच्याताई चुनाव जित्ने नेताजी, अदालतबाट सफाइ पाउने भ्रष्टाचारी\अपराधीजी, दशौँ योजना अलपत्र पारीपारी नयाँ ठेक्का पार्ने ठेकेदारजी, आफ्नो लापरवाहीले पटकपटक बेहिसाब जनधनको क्षति गराएपनि नयाँ मन्त्रीमण्डलमा पुननियुक्ति पाउने मन्त्रीजी देखिँदैनन् । उल्टो सदा ङ्यारङ्यारै गरिरहन्छन्, किन होला ? साहित्यमा त्यस्तो के स्वाद छ, अथवा के गुण छ जसले गर्दा मान्छे पेट काटीकाटी किताब छपाएर बाँडिहिँड्न पाए नेताहरूले जग्गादलाल, म्यानपावरदलाल, चेलीबेटी बेचबिखनमा सम्लग्न, सुन तस्कर आदिबाट सुटकेसभरि कमिसन पाएकोभन्दा खुसी देखिन्छन् ?”
तर यी प्रश्न भने निकै जटिल छन्, यथार्थ र कताकति बिजाउँदा पनि कारण जिन्दगीमा मास्टरीबाहेक कुनै पद नपाएको, केटाकेटीलाई थर्काउनेबाहेक कुनै बहादुरी नजानेको र लाख रुपियाकै मुख नदेखेको मान्छेले ती महामहिमीय बहादुरी र सुटकेसकासुटकेस कमिसन पाउँदाको खुसीका बारेमा के भन्न सक्नु ! तैपनि साहित्यको महत्त्व र साहित्यकारीताको खुसीबारे भने आफूले जानेको ठानेका केही कुरा बताउन कुनै कठिनाइ भएन ।
साहित्यिक साधनाको खुसी आश्चर्यजनक लाग्नसक्छ भौतिक सम्पन्नता र पदीय हैसयतको उच्चता सबै खुसीको प्रत्याभूति ठानिने र त्यसैका अन्धदौडको वर्चस्व रहने चलनका कारण यो निशर्त खुसी हो, त्यसै खुसी, एउटा स्वान्त सुखाय जसलाई आनन्द पनि भनिन्छ । जसका बारेमा तिमीले भनिहाल्यौ : एउटा कविता सुनाएर कमिसने सुटकेस पाएकोभन्दा बढी तृप्त ठान्ने खुसी ।
यस्तो किन हुन्छ ? किनभने सायद मान्छे सबैभन्दा सचेत मन भएको प्राणी हो र मनको सुखभन्दा ठुलो कुनै सुख हुँदैन । साहित्यको सम्बन्ध सोझै त्यही उच्चसचेत मनसँग हुन्छ र त्यस आनन्दका निमित्त सम्पत्ति वा हैसियतका निमित्त जस्तो पाइलापाइलामा खुनी खन्जर तेर्सिएका पचासौँ अँध्यारा गल्ली पार गर्नुपर्दैन न अनाथ र विधुवाका कान खाने क्रन्दन र आँसुका फोहरा तथा न त हजार जिब्रोबाट निसृत भएजत्तिकै व्यापक आलोचनासँग तर्किन महाभारत गरिरहनुपर्छ । राम्रा कवितामात्रै लेख्नसक्तै हजारौँ उठापटकपछि प्रमुख अतिथि हुन आइपुगेका त्यस्ता महाप्रभुसँग घुँडा जोडेर बस्ने ठाउँमा पुग्न सकिन्छ । हुनपनि मस्तिष्कमा ज्ञान, मुटुमा भावना र औँलाका टुप्पामा सीप भएका कति प्रतिभाशालीले निधारमा कुनै वर्गीय–दलीय टाँचा नठोकाई र कुनै चाकडी–चुक्ली, नाता–कृपावादको वैतरणीमा नपसी देख्तादेख्तै त्यस्तो स्थान प्राप्त गरेका छन् । भन, यस्तो निकट, चोखो र मनभरि तृप्ति अन्यत्र कहाँ पाइन्छ ?
माथि भनेझैँ मान्छेको सबैभन्दा ठुलो अभीप्सा आत्मप्रकाशन हो जसका निमित्त केही साहित्यप्रेमीको जमघट भए पुग्छ । न कुनै ध्वजापताका, स्वागतद्वार, पुष्पाहार नै चाहिन्छ न महँगा संचार साधन र सुरक्षाका लावालस्कर न मगमगाउँदा परिकारका भोजभतेर । बस्, प्रतिभा छ भने त्यहीँ त्यतिबेलै त्यतिमै आफ्नो लोकप्रियताको स्थानीय, क्षेत्रीय र राष्ट्रिय त के अन्तर्राष्ट्रियसम्मै झन्डा फहराउन साइत चाहिँदैन ! यो आनन्द सुफत हुन्छ, चोखो र निर्विवाद जसलाई न अविश्वासको प्रस्ताव, महाभियोग वा सुषुप्त अख्तियारकै धम्की आउँछ न दाहिने–देब्रे मिडियाका आलोचना ।
यसरी साहित्यले आत्मप्रकाशनसँगै सबभन्दा छिटो र सजिलोसँग आत्मप्रस्तुतिको अवसर दिन्छ जुन आत्मसन्तुष्टि, आत्मसमीक्षा एवं आत्मोत्थानको ठुलो अवसर हुन्छ ।
हुनपनि साहित्यको प्रथम उपयोगिता आनन्द नै हो । सिर्जनाको, उपभोगको, तुल्यताको आनन्द; त्यसबाट पाइने ज्ञानको आनन्द; विश्वव्यापी साहित्यसंसारसँग जोडिनुको आनन्द तथा स्वाभिमान र स्वच्छतासहित विश्वमानवको दैनिक सुखदुखमा सहअनुभूतिसहित सार्थक जीवनको आनन्द । रबर्ट सोलका शब्दमा : Though its origin lies in the joy of creation, literature can be intensely serious. It can use its formal beauty as a way of enabling us to contemplate the most painful and terrible aspects of existence, or as a way of celebrating those things we value most highly in life.- Elements of Essys & Fiction, Robert Scholes, p 1.
दैनिक जीवनमा जे देखिन्छ, सुनिन्छ, भोगिन्छ त्यसबाट अनुभूत दुख–सुख, आक्रोश–आश्चर्यमध्ये कति त यति बलवान् हुन्छन् जुन त्यत्तिकै हराउन मान्दैनन् बरु छचल्किएर निस्किन्छन् कविता, कथा भएर । अनि बल्ल शान्त र सन्तुष्ट हुन्छ मन जुन काहीँ अन्य कुनै किसिमले हुँदैन ।
यसले जति लेख्ने प्रेरणा दिन्छ त्यत्तिकै पढ्ने भोक र आवश्यकता पनि जगाउँछ जसबाट निरन्तर ज्ञान र अनुभूतिको क्षेत्र बढ्दछ र सँगै लेखन पनि खारिने र खँदिलो हुने वातावरण बन्दछ । कारण साहित्यमा कोठामा बसीबसी सारा भूगोल, इतिहास र भविष्यमा चहार्न सकिन्छ र आफूले नगरेका हरेक कामको अनुभव गर्न पाइन्छ । यसबाट समाजको साँचोचैँ इतिहाससँग साक्षात्कार गर्न पाइन्छ कारण इतिहासमा प्रयोजनपूर्वक राख्न चाहेको कुरामात्र हुन्छ तर साहित्यमा बिम्बका माध्यमबाट यथार्थ नै राखिन्छ । अर्थात् आजसम्म कुनै इतिहासमा पनि एउटा अधिकरावाला व्यक्तिले अख्तियार दुरुपयोग गरेर अपराध आरोपित निर्दोषलाई इन्साफ दिन उसकी स्वास्नीको यौन शोषण गरेको विवरण पाइँदैन जुन ‘स्वार्थत्याग’मा पाइन्छ ।
व्यक्तिले जानेको भाषा, अरू ज्ञानको सीप, त्यसबाट बनेको क्षमता र भावनाको उच्चतम उपयोग साहित्यमै सम्भव हुन्छ । त्यसैले साहित्य जीवनको शब्दमा निर्मित र शब्दद्वारा परिचालित एउटा सीमातीत महासागरै भैदिन्छ, It is thus fundamentally an expression of life through the medium of language.- An Introduction to the Study of Literature, W. H. Hudson, p 10. भने जस्तै ।
यसले लेखकलाई सन्तानप्राप्तिको जस्तै सिर्जनाजन्य सन्तुष्टि दिन्छ भने समाजलाई पनि मनोरञ्जन, सन्देश, शिक्षा र ठीकको प्रशंसा, गलतको आलोचनाद्वारा उन्नति र इतिहासको निर्माणमा योगदान पुर्याइरहन्छ । तब त समाज क्रमश उन्नत हुँदैगैरहेको हुन्छ । कारण साहित्य र समाज एकार्काका पूरक पनि हुन् प्रमाण पनि । भानुभक्तकालीन र वर्तमान समाजको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक अवस्था र समकालीन साहित्यलाई दाँज्यो भने समानान्तर पाइन्छ । अर्थात् साहित्य र राष्ट्रको उन्नति वा अवनति पर्यायवाची हुन्छन् । त्यस्तै कुनै राष्ट्र वा सत्ताको पतनमा साहित्यको कति ठुलो हात हुन्छ भन्ने कुरा विश्वका क्रान्ति र परिवर्तनका पृष्ठभूमि हेरेमा छर्ललङ्ग हुन्छ । तब त साहित्यकार सधैँ सत्ताका कोपभाजन हुन्छन् । तब त प्लेटोले यिनलाई नगरबाहिर निकालेका हुन् । यसै यथार्थलाई पुष्टि गर्छ कुनै देश र सभ्यताको पतन गराउन त्यसको भाषा, साहित्य र ज्ञानभण्डारचैँ नष्ट गराइने घटनाहरूले । त्यसैकारण सामाजिक अस्वस्थताले साहित्यलाई पनि अस्वस्थ वा पतनतिर लैजान्छ जुन समाजको पतनमै टुङ्गिन्छ ।
मानिसका इच्छा अनन्त हुन्छन् तर तिनलाई पाउने र भोग्ने क्षमता कहिल्यै समानान्तर हुँदैन । अर्को, संयोग, कुयोग, भुलचुक, सरोकारका मानिसको दुरासय आदिले पनि मानिसलाई पटकपटक असफल र दुखी पार्नेगर्दछ । साहित्यले नै समतुल्य उदाहरण प्रस्तुत गरेर त्यस दुखबाट सबभन्दा चित्तबुझ्दोगरी सान्त्वना, आँट र नवप्रेरणा प्रदान गर्दछ । यसले फुर्सदमा उत्कृष्ट बौद्धिक मनोरञ्जन दिन्छ भने सुखमा पनि सन्तुष्टि र त्यसबाट मात्तिनु नहुने गम्भीरताबोध गराउँछ ।
यसले ठुलो सम्मान पनि प्रदान गर्दछ जुन निरपेक्ष त्यसैले कुनै धन, बल, पदसँग नगाँसिएको शुद्ध आदर र अभिवन्दनामा आधारित हुन्छ त्यसैले ज्यादै हार्दिक, पावन र गरिमामय हुन्छ । तब त साहित्यकार कुनै राष्ट्रको गरिमा र प्रतिष्ठाका प्रतीक नै मानिन्छन् ।
साहित्यले आर्जन पनि दिनसक्छ र ‘काव्यशास्त्र विनोदेन ….’ भनेजस्तै कतिपय दुर्गुणबाट बच्ने अवसर पनि ।
साहित्यले विज्ञान, गणित, कानुन आदिले जस्तो तोकेर कुनै खास उपयोगी ज्ञान वा सिप सिकाउँदैन भनेर यसको महत्त्ताबारे कताकति आलोचना पनि सुनिन्छ । हुनपनि यसको कुनै फलानै सिप भन्ने हुँदैन । साँच्चै यसले कुनै पेसागत विशेषज्ञता दिलाउँदैन तर एउटा विवेकसम्पन्न मान्छेचैँ बनाउँछ जो आफूले नजानेको काम जान्न प्रेरित र त्यसरी सम्पादित गराउने सिप राख्तछ । यो भनाइ हेरौँ : “साहित्य नै एक यस्तो विषय हो जसमा भौतिक जगत्को प्रत्येक वस्तु ग्राह्य छ र साथै कल्पना जगत्को पनि । यसले गर्दा साहित्यको विद्यार्थी जगत्को बहुरंगीयतादेखि परिचालित हुन्छ । व्यक्तिको भिन्नता, उसका वृत्तिको पार्थक्य र साथै स्थूल वा सूक्ष्मजगत्को प्रत्येक स्पन्दनमा आत्मसात् हुन्छ र उसमा स्थूल र सूक्ष्मजगत् विलय भएको हुन्छ ” (ललित–कला र साहित्य, जनकलाल शर्मा, पृ. ९५) तथा “अन्य शास्त्रको अध्ययनले मानव दाल–भात–डुकुको सवाल केही सुगमसाथ हल गर्न सक्ला । किन्तु, त्यसमा त्यो शक्ति छैन, जसले गर्दा मनुष्य जन्तुत्वबाट मानवत्वसम्म पुगोस्” ऐ. ९६ । तब त हो अन्य विषय र क्षेत्रका मान्छे पनि घुमीफिरी साहित्यमा आइपुग्नेगर्दछन् ।
तर लाग्छ, कुरा यतिमै सकिँदैन, यसको अलिक विस्तार चाहिन्छ । मान्छे विशेष उन्नत शारीरिक तथा चैतनिक (मन–मस्तिष्कसहित ज्ञानेन्द्र–कर्मेन्द्रिय) हरारीका शब्दमा cognitive abilities– learning, remembering, communicating विकासले सम्पन्न भएका कारण पशुले जस्तो पेट भर्ने र सन्तानोत्पादनबाहेक सङ्केत गरेर, कराएर र हाँस्ने–रुने गरेर मात्र न चित्त बुझाउँछ न त्यतिले मात्र उसको काम चल्छ । ऊ उच्च चेतनशील, कुशल वाचक र प्रखर बौद्धिक भएका कारण उसको जनसङ्ख्या, गतिविधि र व्यवस्थापन कल्पनातीत सीमासम्म फिँजिएको छ, फिँजिँदैछ क्षेत्रगत–गुणात्मक दुवै किसिमले । यसको सफल परिचालन उसको मूल दायित्व र चुनौती हो जसको निर्णायक साधन भाषा हो । भाषाको प्रयोगका दुई तह छन् : वस्तुगत र भावगत । वस्तुगत तहमा भाषा कसरी र भावगत तहमा किन प्रयोग हुन्छ भन्ने कुरा आउँछ । अगिल्लोमा ऊ मुलत बोलेर र लेखेर प्रयोग गर्छ भने पछिल्लोमा कामकाजी आवश्यकतापरक उद्देश्यका निमित्त र विचार, आनन्द र सौन्दर्यको व्यन्जनापरक उद्देश्यका निमित्त प्रयोग गर्छ । अगिल्लोले उसलाई जनावर रहन नदिएर मान्छे बनायो । पछिल्लोले मान्छेमात्र रहन नदिएर संयमित, समुन्नत, सम्मानित र वास्तविक मान्छे अर्थात् कलाकार बनायो र बनाइरहेको छ । अर्को शब्दमा “साहित्य सङ्गीत कला विहीन …..”?
अर्थात् साहित्यमा काल्पनिक पात्र र घटनाका माध्यमबाट धर्म, सिद्धान्त, मान्यता, प्रथा आदिजस्ता अस्तित्वहीन यथार्थको र त्यसमा विश्वासको सिर्जना र आवश्यकतानुसार त्यसमा परिवर्तन–परिमार्जन गर्न सम्भव भयो जसका कारण मानिसको संस्कृति, इतिहास, राष्ट्रियता, वाद, विचार बन्न र त्यसका वरिपरि सम्पूर्ण विश्वलाई गोलबद्ध पारेर निश्चित उद्देश्यका निमित्त परिचालन गर्न सम्भव भयो । यसबारे हरारीको यो भनाइ मननीय छ : The ability to create an imagined reality out of words enabled large numbers of strangers to cooperate effectively. p36. tyf The real difference between us and chimpanzees is the mythical glue that binds together large numbers of individuals, families and groups. The glue has made us the master of creation. -Sapiens p 42. यो ग्लु भनेकै साहित्य हो जसले भावना जगाउँछ, भावना जोड्छ र महत् भावना बनाउँछ ।
यसै यथार्थलाई बिट मार्छ यो भनाइले : “साहित्य, गायन र कथनको मनोरञ्जक कलेवरमा निर्मित भावना-सूचना-सोचको जीवित शृङ्खला हो जसको अभावमा मानव समाज चुँडिएको चङ्गा, कम्पास हराएको जहाज, स्मृति हराएको मान्छे र बाटो हराएको यात्री हुनेथियो” साहित्यबोध, पृ. १२० ।
त्यसैले प्रिय छ साहित्य, महान्, गरिमामय र निम्न पङ्क्तिमा भनेजस्तै अतुल्य छ :
साहित्य यो अमृततुल्य मीठो । सन्जीवनीतुल्य छ यो गुणीलो ।।
समान यो लाग्दछ कामधेनु । जे दिन्छ यो पर्दछ माग्न जान्नु ।।१।।
सोपानझैँ यो छ मनुष्यताको । कि सूत्र हो उन्नत मान्यताको ।।
सेवा गरे यो अमरत्व दिन्छ । अज्ञानतानाशक पथ्य बन्छ ।।२।।
हो यो महासागर हुन्न सीमा । पहाड हो वा चुचुरोविहीन ।।
लामो कि हो मार्ग हिँडीसकिन्न ।। तिलस्मीझैँ जो छ बुझीसकिन्न ।।
कस्तो लाग्यो ? प्रतिक्रिया लेख है ?
तिम्रो शुभेच्छुक
प्रमद
लेखकको सम्वन्धमा