March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

चरित्र

 खुसी पार्न शक्तिलाई बाहेक 
मैले अध्ययन गरेको छैन इतिहास
लेखेको छैन रचना
आफू पनि केही हुँ भन्ने
बोध गर्ने पाएकै छैन सामग्री
र त म
कस्तो
दास दासजस्तो
कस्तो
सामन्त सामन्तजस्तो
बोली र बानीभन्दा
पृथक छैन

बोकेर भ्रम र
भ्रमसँगको चाकडी
अरू त देख्नै/सुन्नै नपाएको
गरेर सानो कर्म
रमाउनै नसिकेको त्यसमा

बरु
लुटेर डकार्ने अनुकरण
खोज्दाखोज्दै म
मैले मलाई नै
घृणा गर्ने स्थानमा पो !

हेर त
मैले मलाईभन्दा बढी
अरू के नै गरेँ ?

म त भन्दै छु
मेरो मात्र शक्ति  
गर्‍यो शक्तिले के ?
गर्‍यो सुधार केही ?

खै!
खै! म त
देख्दिनँ कतै
जन हाँसेको

म र
मेरो मात्र
पेट भर्न पो
म स्वयं आफू खर्च भएछु
सदा मबाट
माथि न उठेपछि
रसातलतिरको
खै !
कस्तो यात्रा गर्दै छु

बोलेर चिप्लो बोली
चुनेर स्योस् आदर
खाएर पूर्व तयारी प्याकेज
त्यस्तै पो
निर्माण भएछ
चरित्र मेरो ।