तिज
तिज हिन्दू नारीहरुले मनाउने महान् चाड हो । यो चाड प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चार दिन मनाइन्छ । तिजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान गरी मनोरञ्जन गरिन्छ । यो पर्व पहिले पहिले नेपालका हिन्दू नारीहरुले मात्र मनाउने गर्दथे भने अहिले प्राय: सबै धर्मका नेपाली महिलाहरूले हर्षोल्लासका साथ मनाउनेगरेका छन् ।
नाचगान गर्ने, दर खाने र विवाहित महिलाहरूले आफ्नो श्रीमानको दीर्घायू र परिवारको सुख, समृद्धि प्रप्त होस भनेर र अविवाहित महिलाहरू पनि राम्रो, आफूलाई योग्य वर (पति) पाऊँ भनेर पानीसमेत नखाई निराहार व्रत बस्ने चलन छ ।
भगवान् शिवकी अर्धाङ्गिनी हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत बसेकी थिइन् । त्यो दिन यही हरितालिका तिजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका हुन् भन्ने जनविशवास छ ।
यो पर्व अहिले नेपालमा मात्रै नभएर भारतमा पनि नेपाली मूलका मानिसको बसोबास भएका ठाँउमा मनाइन्छ । युरोप, अमेरिकालगायतका संसारका विभिन्न मुलुकमा जहाँ जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ पनि धुमधामका साथ तिज मनाउने प्रचलन बढ्दोछ । प्रवासी नेपालीहरूकै प्रभावमा आएर विगतका केही वर्षयता गैरहिन्दू विदेशी महिलाहरू पनि नेपाली महिलाहरुसँगै नेपाली पहिरनमा सजिएर तिजका गीतमा छमछमी नाच्दै रमाउँदै गरेका दृश्य सामाजिक स़ञ्जालमा देख्न थालिएको छ ।
विषेशगरी तिजमा माइतीले छोरीचेलीलाई उनकै घरमा गई बोलाएर लिएर आउने र मिठा मिठा परिकारहरू पकाएर खुवाउने, खाने तथा सुखदुःखका मनका भावनाहरू साटासाट गरी एकै ठाउँमा भेला भएर बस्ने, रमाइलो गर्ने चलन छ । विगतमा वर्षभरिको सुखदुःख माइतीसँग साटासाट गरी आफ्नो परिवारको सुख र समृद्धिका लागि मनाइने यो चाड पछिल्ला वर्षहरुमा केही फरक शैलीबाट मनाउन गरेको प्रशस्तै पाउन थालिएको छ । त्यसैले गर्दा तिजको वास्तविक महत्त्व अलि कम हुन गएको हो कि भन्ने प्रतीत हुन्छ ।
नेपालकै गाउँठाँउ र दूरदराजमा मनाइने तिज र सहरमा मनाइने तिजमा आकाश जमिनको भिन्नता देखिन थालेको छ । तिज गाँउघर र दूरदराजमा पुरानै शैली र परम्परामा मनाउँदै आइएको भए तापनि सहरमा अलि फरक शैली देखिएको छ । सहरमा तिज एक महिना अगाडिदेखि नै मनाउने, घरघरमा नभई पाटीप्यालेसमा जाने, दरको सट्टामा अन्य विभिन्न परिकारको पाटी खाने, नाचगान गर्ने, रमाइलो गर्ने तथा कति ठाँउमा त तिजको कार्यक्रमका नाममा महङ्गो टिकटसमेत बिक्रीवितरण गरी भव्य कार्यक्रम गर्ने गरेको पाइन्छ । यसले गर्दा नेपाली नारीको महान् चाड तिजको मौलिक, साँस्कृतिक महत्त्व घट्नुका साथै हुने खाने र हुँदा खानेका बिचमा पनि ठुलो दरार पैदा गर्न सक्ने सम्भावना प्रशस्तै देखिएको छ । हुने खानेको भड्किलो शैलीले हुँदा खानेहरुको आत्मा सम्मानमा चोट पुग्न गई चाडपर्वप्रति नै वितृष्णा जाग्ने स्थिति देखिएको छ ।
तर विगत वर्षमा जस्तो यो वर्ष तडकभडकको तिज अवश्य नै आएन । कोरोनाजस्तो भयावह महामारीले हाम्रो पर्व तिजलाई प्रभावित पार्यो । अब जति हुनेखाने भन्नेहरूले पनि लुगाफाटो र गरगहनाको तडकभडक कसैलाई नदेखाई हुँदा खानेले जस्तै आफ्नै घरभित्र बसेर तिजजस्तो महान चाड मनाउँदै छन् । यस विषम परिस्थितिमा यसै गरी जोगिएर घरभित्रै चाड मनाउनु उपयुक्त हुन्छ पनि ।
विगतमा तिज पर्वमा गाइने नेपाली महिलाका विरह र सुखदुःखका गीतहरु अहिले इतिहास नै भएका छन् भन्न सकिन्छ । अहिलेका तिजे गीतहरूमा पनि अलि उत्ताउलोपना र भड्किलो संस्कृतिले ठाँउ लिएको देखिन्छ ।
वास्तवमा चाडपर्व मनाउँदा उत्ताउलो र भड्किलो हुनेगरी भन्दा पनि परापूर्व कालदेखि चलिआएको चाडपर्वको मौलिक र साँस्कृतिक महत्त्वको जगेर्ना गर्ने सन्देश छोड्न सक्नुपर्छ नत्र चाडपर्व मनाउनुको औचित्यमा प्रश्न चिह्न खडा नहोला भन्न सकिन्न ।
अन्तमा हरितालिका तिज पर्व मनाउनुहुने सम्पूर्ण आमा, दिदिबहिनीहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु। यस पटक हरितालिका तिज पर्वका प्रभावले कोरोनाको प्रभाव शून्य होस्, हाम्रा आगामी दिनका चाडपर्वहरू उल्लासपूर्ण वातावरणमा मनाउन पाऔँ भन्ने कामना गर्दछु ।
लेखकको सम्वन्धमा