बुबा
बोली फुट्दा बोलिएको पहिलो शब्द `बुबा´
ताते ताते गराउँदै हिँडाउने बुबा
संसारकै खुल्ला किताब ज्ञानको खानी बुबा
माया, प्रेम स्नेहको अटुट नाता बुबा ।
तोते बोली ताते हिँडाइ बुबाकै साथ सुरू
ज्ञान, सिप सिकाउने बुबाकै हात गुरु
जति सिके सिकूँ लाग्ने ज्ञान कति कति
सुन्दर, शान्त समुद्रको ठुलै छालजति ।
यसो गर, उसो गर भन्नुहुन्छ बुबा
पाइलैपिच्छे ठेस लाग्ला ठान्नुहुन्छ बुबा
भोकै, नाङ्गै अहोरात्र खट्नुहुन्छ बुबा
सन्तानको माया मनमा राख्नुहुन्छ बुबा ।
सास फेर्नै गाह्रो हुन्छ बुबाको साथबिना
ईश्वर झुक्छ बुबासामु केही ज्ञान लिन
बुबाबिना यो धर्तीमा आउन असम्भव छ
बुबा साथ भएपछि धर्ती जगमगाउँछ ।
हिजो भन्दै आज भन्दै सन्तान पर गए
स्वदेश र विदेशमा केही गर्ने भए
जहाँसुकै पुगे पनि आशीर्वचन बुबा !
मुख हेर्छु म त आज कुसे औँसी बुबा ।
सन्दर्भ: बुबाको मुख हेर्ने दिन
लेखकको सम्वन्धमा