May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

कुसे औँसी

कुश हिन्दू धर्मसँग जोडिएको एउटा पवित्र घाँस हो। यसलाई विष्णुको स्वरुप मान्ने गारिन्छ। यसको धरतीमा आगमनको कथा पनि निकै रोचक छ। यसको व्याख्या स्वास्थनी ब्रत कथामा पाइन्छ। त्यस कथाका आधारमा भगवान् विष्णुलाई जालन्धरकी पत्नी वृन्दाले श्राप दिइन्। त्यस कथाको विस्तृत वर्णन यस्तो रहेको छ।

शक्तिशाली जालन्धरले देउताहरुलाई धेरै दुःख दियो। देउताहरुले उसलाई जित्न सकेनन् र भगवान् शिवको शरणमा परे तर महादेवले पनि जालन्धरलाई उसको पतिब्रता पत्नीका ब्रतका प्रभावले गर्दा जित्न सकेनन्। जब वास्तविक कारण थाँहा भयो तब विष्णुलाई वृन्दाको सतित्व डग्न पठाए र जालन्धरको बध गरे। बृन्दालाई वास्तविकता थाहा भयो र विष्णुलाई झार हुने श्राप दिइन्। त्यसपछि विष्णु कुशका रुपमा यस धर्तीमा अवतरित भए।

धार्मिक रुपले स्वयम् भगवान्‌को अंशको रुपमा कुसलाई लिइन्छ। यसरी कुशको जन्मलाई आधार मान्दा असुरी शक्ति माथिको जितको लागि गरिएको छलको उपज हो कुश।

कुशको महिमा धेरै रहेको कुरा यो संस्कृतको श्लोकबाट पनि उजागर गर्न सकिन्छ्।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि

करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने

यसको तात्पर्य कुश स्नान गर्दा, जप, तप, होम, स्वअध्यन, पितृकर्म आदि सम्पूर्ण कार्यमा आवश्यक पर्दछ । धार्मिक आश्थाको व्याख्या मात्रले कुशको पूर्ण व्याख्या हुन सक्दैन।

यसको वैज्ञानिक विश्लेषण पनि आवश्यक छ । वैज्ञानिक रुपमा कुशसँग विकिरण हटाउने गुण हुन्छ। यसले विभिन्न विकिरणहरुको प्रभाव कम गर्नसक्छ। विभिन्न खोजहरुमा यसले एक्सरे विकिरणको पनि प्रभाव कम गर्छ भनेर प्रमाणित भैसकेको छ।

कुसे औँसी भाद्र कृष्ण औँसीका दिन पर्छ। यसलाई गोकर्णे औँसीक रुपमा पनि लिने गारिन्छ। यो दिनलाई पितृको सम्झना गर्ने विशेष दिनका रुपमा पनि लिने गरिन्छ। यस दिन हिन्दू धर्मालम्वीहरु यस दिन काठमाडौँको गोकर्णमा गई पितृ श्राध्द गर्दछन्।

यस दिनलाई पिताको मुख हेर्ने दिनका रूपमा पनि लिने गरिन्छ । यस दिन छोराछोरीले आफ्ना पिताहरुलाई मिष्ठान्न भोजन गराउने तथा सकेको दक्षिणा दिने गर्छन् । खासमा हिन्दू संस्कारमा पुत्रीबाट माता पिताले केही नलिने प्रथा रहेको हुँदा खास अवसरमा पुत्रीहरुले पितालाई केही दिन मिलोस् भनी यो प्रथा सुरु भएको हुनुपर्छ। सुरु सुरुमा पुत्रीलाई आफ्नो माइती घर जान सजिलो होस् र आफ्ना पिताहरुलाई पनि केही इच्छाएका चिजहरु दिन सकियोस् भनेर यो प्रथा सुरु भएको र बिस्तारै यसमा दुबै सन्तान (छोरा र छोरी ) ले मनाउन थालेको हुनुपर्छ। यस प्रथाले पितालाई उचित सम्मान दिन खोजेको देखिन्छ। साथै यो दिनमा हिन्दू धर्ममा धेरै जसो प्रयोगमा आउने कुश भित्र्याइन्छ। कुस भित्र्याउने औँसी भएकाले पनि यसलाई कुसे औँसी भनिएको हुनसक्छ।

यसलाई मानव सभ्यताको विकासक्रमबाट हेर्ने हो भने वैदिक सनातन धर्ममा कृषिको सुरुवात हुन थालेको अवस्थाको चित्रण पनि गर्न मिल्छ। सनातन धर्ममा प्रयोग हुने वस्तुको भण्डारण गर्ने दिन कुसे औंसी भएको हुदाँ यसलाई आदिम कालमा ढुङ्गे युगबाट समाजिक कृषि युगको

प्रादुर्भावको युगका रुपमा चित्रित गर्दा खासै फरक नपर्ला।