September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

सुन्दर जिल्ला तेह्रथुम

तेह्रथुम नेपालको पूर्वी भेगमा अवस्थित सानो पहाडी जिल्ला हो । पुरानो जिल्ला विभाजनअनुसार पूर्व ४ नम्बरभन्दा पनि पूर्वका सोह्रवटा थुम्काहरूमध्ये तेह्रवटा थुम्काहरूलाई समेटेर यस  जिल्लाको नामकरण गरिएको हो । यस जिल्लाको सदरमुकाम म्याङ्लङ हो । पहाडी जिल्ला भएकाले यो भौगोलिक दृष्टिले बिकट नै हो तर पछिल्ला समयमा यस जिल्लाका धेरै स्थानमा मोटरबाटो पुगेको छ ।

तेह्र थुमको भौगोलिक अवस्थितिको कुरा गर्दा

यो जिल्ला अक्षांश २६ १३ मि. देखि २७५८ मिनेटसम्म  र देशान्तर ८७२७ मि. देखि ८७ ४५ मिनेटसम्म रहेको देखिन्छ ।

सिमाना

तेह्रथुम जिल्लाको पूर्वमा पाँचथर, पश्चिममा धनकुटा, उत्तरमा ताप्लेजुङ र सङ्खुवासभा र दक्षिणमा धनकुटा र पाँचथर जिल्ला रहेका छन् ।

यो जिल्ला सानो ६७९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।

सानै जिल्ला भए पनि धेरै पर्यटकीय तथा धार्मिक महत्त्वका स्थल यहाँ पाइन्छन् । यहाँका प्रमुख जाति बाहुन, क्षेत्री, लिम्बू, गुरुङ, राई आदि हुन् । यहाँका प्रमुख भाषाहरु नेपाली, लिम्बू, राई आदि हुन् ।

यस जिल्लाका पर्यटकीय तथा धार्मिक महत्त्वका स्थलहरू :

तेह्रथुम जिल्लामा धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् । ती स्थलहरू निकै आकर्षक छन् । त्यहाँ पुगेपछि कसैको मन नलोभिने कुरै हुँदैन । सधैँ त्यहीँ हरियाली बगैँचामा रमूँझैँ लाग्छ । तीनजुरे, मिल्के, जलजले आदि यहाँका निकै सुन्दर र अकर्षक पर्यटकीय स्थान हुन् । तीनजुरे, मिल्के, जलजले क्षेत्रलाई गुराँसको राजधानीका रूपमा चिन्ने गरिन्छ । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् ।

तीनजुरे हिमाल यहाँको अर्को आकर्षक स्थल हो । यहाँ पुग्ने जोकोही यात्रुको मन त्यसै पनि आनन्दित हुन्छ । यहाँको हरियाली, सफा र स्वच्छ वातावरण, मुसुक्क मुस्कुराएको हिमाली दृश्यले मानिसका मनको पीडा हलौँ पारिदिन्छन् ।

नेपालको सबैभन्दा लामो झरना पनि यही जिल्लामा पर्दछ । त्यो ह्यातुङ् झरना हो । यसको उचाइ ४०० मि. भन्दा बढी छ । यो स्थान अत्यन्तै रमणीय रहेको छ । यहाँ धेरै मान्छेको भीड लाग्ने गरेको देखिन्छ । यहाँ जाने उपयुक्त समय वर्खा याम हो । हरिया जङ्लका बिचमा छङ्छङ् गर्दै झर्ने त्यो झर्ना,

त्यसमाथि चरीको चिरबिर आवाज, सिरसिर चल्ने हावा, कपाससरी झर्ने पानी आदिले पर्यटकको मन सजिलै लोभिन्छ ।

अनेकौँ सुन्दर डाँडा, सोल्माको चिया बारी, वसन्तपुर आदि यहाँका अन्य सुन्दर स्थलहरू हुन् । यहाँका उच्च डाँडाहरू हिउँ परेका बेला अत्यन्तै रमणीय हुने गर्छन् । यी सुन्दर स्थलहरूमा पर्यटकको भिड लागिरहन्छ । कन्चनजङ्घा, मकालु हिमालका सुन्दर दृश्यावलोकन तीनजुरे डाँडाबाट गर्न पाइन्छ । यस क्षेत्रमा प्याराग्लाइडिङको पनि अर्कै मज्जा लिन सकिन्छ । मेन्छ्यायाम डाँडाबाट सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य देख्न पाइन्छ ।

यस जिल्लामा धार्मिक दृष्टिले महत्त्व राख्ने ठाउँहरू धेरै छन् । सिंहबाहिनी मन्दिर म्याङलुङ, पाथीभरा मन्दिर म्याङलुङ र छातेढुङ्गा, सिमिनाक्षी जिरिखिम्ती, गौखुरी मोराहङ, सिद्धदेवी सोल्मा, जलकन्यदेवी सोल्मा, रातपोखरी तीनजुरे, शिव मन्दिर दागपा, पाँचकन्यादेवी फाक्चामारा, शिवालय मनिदर जलजले, आदि यहाँका प्रमुख तीर्थस्थलहरू हुन् ।

यसरी हेर्दा तेह्रथुमलाई एउटा सानो तर निकै सुन्दर जिल्लाका रूपमा चिन्न सकिन्छ ।