February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

सालिक

ऊ रोएर होइन हाँसेर गयो
हारेर होइन जितेर गयो
भिडबाट अगाडि बढेर
लड्दालड्दै
बहादुरीसाथ अगाडि
बढ्दाबढ्दै
ऊ ढल्यो ऊ गयो
ऊ यता नआई उतै गयो
नजानु थियो गयो
तर ऊ कहिल्यै
नफर्कने गरी गयो
हारेर हैन जितेर गयो
रोएर हैन हाँसेर गयो
उसले सबैलाई छोडेर गयो
इतिहासको पानालाई जोडेर गयो
 
माटो भिजाएर गयो
आँसु छुटाएर गयो
छाती खोलेर अनि
धावा बोलेर गयो
नजानु थियो तर गयो
धपक्क आगोको
एक झिल्का फिलिङ्गो
बलेर गयो
ऊ हारेर हैन जितेर गयो
रोएर हैन हाँसेर गयो ।
 
बोल्नेहरूलाई उसले
लाटा भन्यो
पढ्नेहरूलाई उसले
बाचाल भन्यो
आफूविरुद्ध खनिनेहरूलाई
कायर ठान्यो
अनि युगलाई घायल मान्यो
बोलीका बदलामा
गोली पायो
रगतको होलीमा हेलिएर
वीरगति पायो
सहादत पायो
अनि भित्र पर
फूलहरूले सजिने ठाउँतिर गयो
अन्ततः उसले सालिक पायो
ऊ हारेर हैन जितेर गयो
रोएर हैन हाँसेर गयो ।