December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

गीत

तन त भिज्यो झरीले तर मन यो रुझेन 
(मनैमा रह्यो यो मनको कुरा त्यो मनले बुझेन) २
दुई मुटु एउटै बनाउने थियो कसम खाएको  
(प्रेम अधुरा भएन पूरा हामीले चाहेको) २
 
कल्पेर बस्छु मनमा सधैँ त्यो चन्द्र मुहार  
(रोएरै बिते रात यी सारा लागेन पुकार) २
दिएर किन मायामा धोका पापी मन बनायौ
(मेरो यो खुसी लगेर आज अन्तै पो रमायौ) २
 
सकिन हेर्न पराया सिन्दुर भरेको सिउँदोमा 
(तिमीबिनाको एक्लो यो जीवन कसरी जिउनु म) २ 
फूल हो कि माया भनेर टिपेँ कडा पो रहेछ  
(मुटुमै राखी झन् नजिक ल्याएँ टाढा पो भएछ) २ 
 
चोखो मनको निश्चल माया अमर हुन्छ भन्थे 
(फुलेर माया सुवास छर्दै सगर चुम्छ भन्थे) २
सकिनँ मैले बुझ्नलाई तिम्रो चाहना मनको  
(छरेर बैस रूप उन्माद के गर्नु धनको ) २
 
मायाको सागर अनन्त थियो चाहेनौ तर्नलाई  
(दुई दिनको माया के लाउनु थियो अन्तै घर सर्नलाई) २
सम्झिन्छु तिम्रो कालो केशमा सिउरेको गुराँस 
(आउँछौ कि भनी हेर्दछु बाटो बन्दछु निरास ) २