March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

प्रकृति नै लाडिन्छिन् तिम्रो तोते बोलीमा

प्रकृतिको अनुपम उपहार यो तोते बोली,
बोलीमा उनको लुटुपुटुको आभाष छ,
मिठास छ, लाड छ, प्यार छ,
के छैन, संसारको सम्पूर्ण सुखको आधार छ,
खुसीको अम्बार छ ।
 
बिस्तारै अप्ठ्यारो गरी गरी उच्चारित शब्दहरू,
प्रष्फुटन हुन गाह्रो भई मुख बङ्ग्याएको,
जिब्रो लट्पट्याएको, हात झड्कारेको, खुट्टा उचालेको,
कुनै शब्द सिकाउँदा उच्चारण गर्न नसकी जिल्ल परेर हेरेको,
योभन्दा सुन्दर दृश्य,
हुन सक्ला केही यस लोकमा ?
 
प्रकृति ! तिम्रो वास यो तोते बोली,
तिम्रो सम्पूर्ण कलाकारीताको निचोड,
यो तोते बोली,
अभौतिक प्रतीत हुने यो बाल लीला,
कसरी सृजना गर्यौ ? कुन क्षण कुन शुभ मुहुर्तमा ?
कुन सर्तमा, कुन अर्थमा ?
तिम्रा सारा प्राकृतिक छटा फिक्का पार्दै,
तथा अन्य सारा सृजनालाई ओझेल पार्दै,
केवल र केवल यही एक तोतेबोलीको उपहारले,
मानवजातिलाई,
तिमीले जुग जुगको दास सनायौ ।
२०७७ साल आषाढ १९,
स्वआश्रम