May 20, 2025, Tuesday
२०८२ जेष्ठ ७, मंगलवार

घरभित्रको घर

एउटा सिङ्गो कोठा
एउटा घरको अंश
म बर्सौदेखी घर भनेर
आफ्नै निवास भनेर चिनाइरहेछु
कतै कति समय कतै कति समय
बिताउँदै म परिचय दिइरहेछु
फेरिएको वतन
नफेरिएको दैनिकी ।
 
यो राजधानी हो
मनको राजधानीले
मान्दै नमाने पनि
म कानुनको पालना गरे जस्तो
यतै रहेको छु
कतै रुमल्लिरहेको छु।
 
घरभित्रको एउटा कोठा
कोठाभित्रको फरक फरक कुना
फरक फरक भण्डार मानेर
आफूलाई ब्यवस्थित मानिरहेछु
मेरो पुस्तकालय मेरो औषधालय हो
मेरो पाकशाला
मेरो धर्मशाला हो
मेरो शयन कक्ष
मेरो आराम गृह हो।
मेरो भण्डार कुनो
मेरो छुट्टै घर हो।
 
मन त रहेछ
मेरो यात्राको
मेरो चिन्तनको
यो छुट्टै अनुभव हो
यो बिछट्टै स्वाद हो।
 
मान्छेहरू
संसार नै जित्ने गरी
कुदिरहेका बेला
म मुस्कान भोकमा
मान्छे कुर्सी खोज्दै
दौडिरहेको बेला
म सडक पेटीमा
खै मलाई !
लाग्यो यही नै प्रिय
खै मलाई !
लाग्यो यही नै स्वर्ग
मैले नदेखेको टुइन टावर
मैले नहेरेको आइफेल
मैले नचाहरेको बेइजिङ
मेरो खर्कभन्दा विशाल लागेन
मेरो आँगनभन्दा
प्यारो लागेन
खै किन किन
मनभित्रको मन
कुनै छट्पटीमा
कुनै अभावमा पनि
सानो यही परिवेशमा
रमाइरहेछ किन?