November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

न्यायको फैसला !

आज सबेरै एक सुन्दरी
कोठीबाट निस्केकिछिन्
सहर परिक्रमामा
जो हिँड्दैछिन् सुनसान मार्गमा
ठोकिन पुग्छिन् अनेकौं अन्जानसँग
कोही उनैमाथि बुइ चढ्न खोज्छन्
कोही चाहन्छन् आफूले पकड जमाउन
धन र शक्तिकै आडमा खोज्छन् पाउन ।
कोही उनको खुलेआम अस्मिता दहन गर्दै छन्
चित्कारहरू वायुमा बगिरहेछन् त्यहाँ ।
कोही उनको देहमाथि पैतला बझारी बझारी
मग्न छन् नाङ्गो नृत्यमा ।
कोही कान भई बहिरा छन्
कोही नाक भई बेगन्ध बनेका, न त कसैले देख्न सक्छ
न त कसैले अनुभूत गर्न ।
थाहा हुँदाहुँदै बेखबर भएकी छिन्
कोठीमा फेरि उनको तलास जारी छ
उनलाई पाउने कसैको हतास भारी छ ।
 
खोज्न थालेको कैयौँ साल भो !
खै कहाँ छिन् त ती सुन्दरी
जो कानुनको उपनामले
बदनाम भएकी छिन्
त्यही कोठीमा
जसमा श्रीमान् उनलाई पट्टी बाँधी
बन्धी बनाई सुनाइरहेछन्
एक तराजु न्यायको फैसला !