April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

धन

अजिब धन छ नित्य मनुष्य पछि लाग्दछ
कर्म यसकै निम्ति सुकर्मबाट भाग्दछ ।
 
यो के हो  ? किन यस्तो भो ? बुझ्दैन मूढ मानव
अहोरात्र पुकारा त्यो ! धनैले जुनी दानव ।
 
धनधर्म, नीच कर्म मनुष्य जुनी व्यर्थ भो
सोच, बुझ जुनी सार समयमै मनुष्य हो ।
 
खाली हात आयो मान्छे जान्छ पुनः त्यसै गरी
बुझ लौ धन क्यै हैन मोह तोड कसै गरी ।
 
गर्नु छ कर्मको खेती जिउन सुखी जीवन
इमानी सादा श्रमिलो अमूल्य जुनी हो धन ।
 
सोच, हेर, गर त्याग कमी हुन्न कसैगरी
जिइन्छ सुखी सन्तोषी जुनी भेद थरी थरी ।
 
बाँच्नु छ आफूले नित्य अरू बाँचून् सधैँभरि
कामना यही होस् सारा सुध्रून् जन यसै गरी ।