जे होला होला
आधा जति देखियो ढाड उनको नाङ्गो
त्यहीँदेखी नरहरूको मुख भयो बाङ्गो ।।
जमरे छाती देखाउँदै हिंड्ने आफूचाहिँ
चिउँडोदेखि कुर्कुच्चा ढाक्नु रे उनलेचाहिँ ।।
फेसबुकको सत्ता पनि भन्छन् मेरै भो
सञ्जालभरि कुरा काट्ने बिद्धान धेरै भो ।।
एउटा आँखा छोरा अर्को आँखा छोरी
मातृ–सत्ता पितृ–सत्ता दुवै बराबरी ।।
अदालतले न्याय हैन फैसला पो दिन्छ
धनि, गरीव, सानो, ठूलो राम्रै गरि चिन्छ ।।
अभियुक्त कारागारमै सपथ खान पाउँछ
छुट्नासाथ शान देखाई सांसद बन्न आउँछ ।।
जेल हाम्रो स्कूल भयो नेता जन्माउने
नेता भए मन्त्रि बनि सित्तैमा कमाउने ।।
भ्रष्ट नेतालाई हत्कडी कसले ठोकिदिने
कुखुराको चल्ला जस्तो माऊले छोपिदिने ।।
पत्रकार पुग्छन् घटनामा पुलिस भन्दा पैलेनि
मोवाइल झिकी फुत्त भिडियो खिचें मैले नि ।।
इयु, भारत, अमेरिका, चीनको दाउपेच भो
सत्ताको भाउ कुर्सीको खेल घुम्ने मेच भो ।
कस्तो नियम कस्तो कानुन जान्नु छैन केही ।
कडा शब्द चर्को भाषण ठोकिहाल्छन् कोही ।।
कता जाला समाज हाम्रो मानवता के होला ?
रामभरोसा भयो देश मेरो जे होला होला ।।
लेखकको सम्वन्धमा