April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

रामप्रसाद पन्तका दुई कृति सार्वजनिक

काठमाडौं, २०७७ श्रावण २१

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवास ललितपुरमा साहित्यकार तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तका दुई कृति ‘ जयपुरदेखि पुरीसम्म ‘ (नियात्रासङ्ग्रह) र ‘ पुर्खाको बाटो ‘ (नियात्रोपन्यास) कृतिको विमोचन गर्नुभयो ।

सो अवसरमा जोशीले नेपाली नियात्रा साहित्यमा पन्तको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै साहित्यिक पत्रकारिताको विकासमा पनि पन्तको समर्पण बिर्सन नहुने बताउनुभयो। कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा. रामप्रसाद दाहाल, डा. लेखप्रसाद निरौला, यादव भट्टराईले रामप्रसाद पन्तको कृतित्व र व्यक्तित्वका बारेमा बोल्नुभएको थियो।

कृतिकार पन्तले रोग सङ्क्रमणको यस्तो विषम परिस्थितिमा पनि आफ्नो निवासमै बोलाएर कृति विमोचनको अवसर दिनुभएकोमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति कृतज्ञता व्यक्त गर्दै बन्दाबन्दीको समय आफ्ना कृति प्रकाशनका निम्ति अनुकूल भएको बताउनुभयो। नियात्रा कृति मात्रै अठारवटा प्रकाशन गरिसकेका पन्तका विभिन्न विधाका बत्तीस कृति प्रकाशित छन्।