September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

लोपेईलाई फन्को मार्दा

२०१९ जुलाई ९ तिर मलाई म्यासेज आएको सम्झन्छु, एक पटक मात्र भेट भएका चिनियाँ मित्रको । ‘दीपु, हामी म जन्मेको घर जाँदै छौँ। यदि तिम्रो परीक्षा सकिएको भए जाने हो त ? हामी त्यहाँ माछा पनि मार्ने छौँ, म जन्मेको ठाउँ घुम्ने छौँ !’ यो म्यासेज पढ्नेबित्तिकै मनमा एकखाले उत्साहले ठाउँ लियो अनि मैले तुरुन्तै चिनियाँ भाषामै म्यासेज फर्काएँ, ‘यदि म तपाईंहरूसँगै गएँ भने तपाईंहरूलाई कुनै कठिनाइ त हुन्न नि हगि ?’ त्यस्तो केही हुन्न भन्ने उताबाट प्रतियुत्तर आएसि म खुसी भएँ। चिनियाँ साथीसँग हुने यात्राले मलाई उमङ्गित बनाएको थियो । ठाउँ कस्तो होला, भाषा कसरी बोल्ने होलान्, कसरी प्रस्तुत हुने होलान्, मलाई देख्दा के भन्लान् आदि जिज्ञासा मेरा मनमा उब्जिरहे ।

यिनै चिनियाँ मित्रसँग मेरो पहिलो गफ विच्याटमा रिक्वेस्ट आएसँगै भएको थियो। मलाई डाइरेक्ट म्यासेज आउँदा मैले कसरी चिन्नुभयो त मलाई भन्ने प्रश्न राखेको थिएँ अनि मलाई सारा कुरा बताएपछि भेट्न राजी भएँ। उनी मलाई म बस्ने ठाउँमा नै लिन आइपुगेका थिए। धेरै कुराहरू चिनियाँ भाषामा गर्‍यौं। उसै पनि अङ्ग्रेजी जानेका, पढेका चिनियाँ भेट्टाउनु भनेको ढुङ्गा खोज्दा देउता मिले सरह नै हो। चिनियाँमा आफ्ना कुरा राख्न उति समस्या पनि रहेन।

तर यता तोङ्पेई (उत्तरपूर्वी चीनको चाइनिज एसेन्ट अरूभन्दा फरक र पृथक मानिन्छ। ङ्यार्–याँर् यस्तै मिसिएको चिनियाँ) बुझ्न अलिक कठिन हुन्छ। फेरि भाषा भन्ने कुरो १ वर्ष पढेर मात्रै जानिने पनि त होइन नि । यसमा वर्षौंको साधना अनि अभ्यास चाहिरहन्छ नै। ५ वर्षमा बानी पर्छ, १० वर्षमा घुलमिल होइन्छ् र एउटा जीवन नै पुग्दैन भाषामा विज्ञ हुन भन्ने पढेको थेँ कतै।

खैर, जे होस्, यिनीसँग राजनीति, चीनको विकास, नेपालीका कुरा, मेरो यात्रा, चीनमा मेरो लक्ष्यलगायत धेरै कुराहरूमा हल्का हल्का विचार राखेँ। बेला बेलामा ९ महिनामा यस्तो राम्रो चाइनिज भनेर उनी मलाई मख्ख पार्थे। 

दोस्रो भेटमा भएको संवादले यात्राको बाटो तय गर्‍यो। १२ जुलाईमा लोपेई यात्राको लागि च्यामुसीबाट निस्कियौँ। मैले पदयात्रामा बोकिने झोलाभरि आफूलाई चाहिने सामानहरूको बन्दोबस्त मिलाइसकेको थिएँ।

त्यसअघि बिहान एक कास्मिरी दिदीको नोटरीको काम सकिदिनुथ्यो। बाटोमा आउँदै गर्दा मनप्रीत दिदीको पनि फोन आएकोथ्यो। वहाँहरूलाई ट्रेन स्टेसनसम्म छाड्न जान समय नमिल्ने भएपछि मैले च्यामुसी छाड्नुअघि उहाँहरूलाई भेट्नु थियो। भेट्न जाँदा मनप्रीत दिदी र जोन्सी दिदीले मेरा लागि सर्ट र बुद्धिस्ट कलरको टिसर्ट किन्दिनुभएको रहेछ। म यति दोधारमा परेँ कि, लिऊँ या नलिऊँ। नलिऊँ किनेर ल्याइदिसक्नुभएको छ, लिऊँ सकि’राछुइनँ। ‘यसरी उपहार दिने कामचाहिँ मलाई राम्रो लाग्दैन, यो पटकलाई ठिक छ, अर्को पटकलाई हुन्न है’ भनेँ अनि टिसर्टको रङ्ग मलाई मनपर्ने कसरी छान्नुभयो त भनेर सोधेँ । भाइ हो नि । भाइलाई के मनपर्छ दिदीलाई थाहा हुन्न र ? भन्नुभयो।

साँच्चै कस्तो गहिरो कुरो ! मैले स्वीकार गरेँ।

जानेबेलामा च्यामुसी बसाईमा के गर्ने, के नगर्ने भनेर मलाई भन्नुभयो, मैले सुनेर आफ्ना कुरा भनेँ। छुट्टिने बेलामा मलाई बोल्न कठिन भयो । च्यामुसीको मौसमजस्तै म एकैछिनमा बद्लिएँ । मनका बादलहरूले मस्तिष्कमा हान्ने छाँट पाएसि म निस्किएँ।

भर्याङ् र बाटाभरि कुरा खेले।  केही मानिससँगको सम्बन्ध यस्तो गहिरो बसिदिन्छ । उनीहरू टाढा जान लागेको अनुभूति भएसि मन उसै भावुक बन्छ नै। यो छोटो समयमा पनि केही मानिसहरू मनमस्तिष्कमा गहिरो छाप छाडिदिन्छन्। आखिर मान्छेको मन न हो, मिलनमा खुसी हुन्छ अनि जस्तोसुकै विछोड्मा दु:खी हुन्छ। 

२ बजे आसपास मलाई ती चिनियाँ साथी लिन आइपुगे। उनी आफ्ना परिवारसँगै आइपुगेका रहेछन्। च्यमुसीलाई केही दिनका लागी बिदा मागेर यात्राका लागि निस्किएँ। यात्राको दौरान मलाई तराईतिर यात्रा गरेजस्तै अनुभूति भयो। सम्म ठाउँ, जमिन र आकाश जोडिएको क्षितिज पर परसम्म।

सडकका दायाँबायाँदेखि बिचमा रूख रोपिएका। झन्डै २०० किमी यात्रा रूखहरू नभएको ठाउँ देखिनँ मैले। पोपलर जातिका रूख ज्यादा। सडक फराकिला, चिल्ला, मानिसहरू आआफ्ना काम गरिरहेका नै, व्यस्त ! दृश्यहरू हेर्न लायकका थिए।

हामीसँग प्रकृतिदेखि लिएर हरकुराले यो चिनभन्दा भाग्यमानी बनाएको नै छ तर हामीले बेवस्ता गर्‍यौं।

छ महिना चिसाले कठ्याग्रिने ठाँउमा हरकुरा सम्भव बनाएका छन् चिनियाँहरूले। हामीलाई त्यो कठिनाई छैन, तर पनि यताको यो दृश्यबाट उता च्याउँदा मन कुटुक्क खान्छ। फराकिलो सोच र दृष्टिकोण लिएर अघि बढे नेपाललाई विकासको गति समात्न गाह्रो छैन। विकास अरू देशको मोडलमा होइन माटो सुहाउँदो नै हुनुपर्छ तर त्यो दीर्घकालीन पनि हुनुपर्छ। मुख्य कुरो खाली जमिन आँखाले कतै देखेन, कि मकैबारी, कि धान खेत, कि तरकारी, कि रूख। बिरुवा भएका ठाउँमा झार फाँड्न मानिसहरू लागिरहेका देखिन्थे, हाम्रोमा बिरुवा रोपेसि वृक्षारोपण कार्य सकियो, त्यसपछि ती बिरुवा ‘अनाथ’ भैजान्छन्। चीनले रूखहरूको व्यापक स्याहार गरेको छ, रूख बिनाको चीन कल्पना सायदै होला। त्यसैले यता स्याटेलाइटले पनि चीनका धेरै भागलाई हरियो देखाएको कुरो मेरा साथीले सुनाएको सम्झन्छु।

त्यो रात चिनियाँ साथीले आफू प्लस् टु पढेको सरह सानो सहर पुर्यायो। त्यहाँ साथीका भाइको परिवार रहेछ । हामीलाई हार्दिकताका साथ स्वागत गरियो।

साँझ खाना खाएर हामी पार्क घुम्न निस्कियौँ। खाना रातमा अलि चाँडै खाएर पार्क निस्किछन् धेरै चिनियाँहरू । पार्कमा साँझ हरउमेरका मानिसहरू भेट्न सकिन्छ। खाना खाइसकेपछि सय पाइला हिँड भन्ने चिनियाँ भनाइ नै छ। कोही नाचिरहेका, कोही डुलिरहेका, कोही कसरत गर्दै । चिनियाँहरूले स्वास्थ्यप्रति अपनाएको सजगता प्रस्ट देख्न सकिन्थ्यो।

केटाकेटीहरू सबैभन्दा बढी पानीको फोहोराका छेउ उभिएका थिए । पानीमाथि पुग्दा खुसीले चिच्याउँथे । मैले मित्रकी श्रीमतीलाई भने, संसारभरका केटाकेटीहरू उस्तै छन् । यिनीहरू पानीमा खेल्न रुचाउँछन् । माटो खेल्न रुचाउँछन्।’ यसरी त्यो लोपेई सहरलाई एक फन्को पनि लगाइयो।

भोलिपल्ट जुलाई १३ चीन आइपुगेको १० औँ महिना पनि पूरा भएछ। बिहानको खाना खाएर हामी हेइलोङ्चियाङमा माछा मार्न लाग्यौं। दिन उदास उदास’थ्यो। हामी चीन र रसियालाई छुट्याउने नदीमा पुग्यौं। निक्कै शीतल र शान्त अनुभूति भयो। माछा मार्न तयारी हुँदैथ्यो। एक पुलिस आएर यो ब्रिडिङको समय हो, बल्छी खेल्नु तर अरू नगर्नु भने । त्यसैअनुसार हामीले मान्यौँ।

मैले निक्कै बेर टोलाएर नदीपारीका डाँडाहरूलाई हेरिरहेँ। भुँडीफोर, बकुल्लालाई धेरैपछि देखेँ। पानीमा पौडिएँ, किनारको पानी तातो थियो, केही मात्रामा आनन्द लिन चुकिनँ। धेरै बेर त्यहाँ बसिरहें। डाँडाहरूलाई एकटक हेरिरहेँ। हातमा फगेटो, असला समाउँदा आएको गन्ध उस्तै पाएँ। मनमनै सोचे धन्न यिनीहरूका लागि मान्छेले सिमाना कोरिदिएनन् । नत्र चराहरूको, माछाहरूको पनि राष्ट्रियता हुन्थ्यो । सायद मान्छेजस्तै सीमान्तकृत भएर बाँच्थे होला ।

मलाई मान्छेको कर्म, जीवनयापन सधैं उस्तै लाग्यो। म उनीहरूभन्दा फरक र उनीहरू मभन्दा फरक भन्ने नै आएन। मैले साँझ खाना खाँदा पनि यही भनेँ, `वोमन द युयान् पु थोङ् द तानस्री वोमन सिन्ली त क्वानसी स्री यी याङ् द´ अर्थात् हामीले बोल्ने भाषा फरक देखिए पनि हाम्रो भावनात्मक सम्बन्ध उस्तै छ। हुन त म ऊभन्दा फरक, म ऊभन्दा राम्रो भन्ने कुरोले नै संसार सधैं अस्तव्यस्त भएको देखिन्छ। तर आफ्नो राम्रो भन्न अरूको नराम्रो हुनुपर्छ भन्ने सोचचाहिँ गलत नै हो । सायद सबै उस्तै छन् भन्ने भाव मनमा आएछ क्यार ।

म त्यो रात पाहुना बन्दा उनीहरूलाई के अनुभूति भयो होला भनेर कल्पना गर्दै थिएँ। उनीहरू पनि सुत्नलाई कस्तो छ, कता सुत्छौ, चिसो होला कि यस्तै प्रश्न जुन प्रश्न हामी नेपालमा सोध्छौँ त्यस्तै, मात्रै माध्यम फरक, म भावमा उस्तै देख्थेँ! 

मेरा चिनियाँ मित्रले यसअघि पनि केही नेपाली भेटेका रहेछन् । उनीहरू ३ वर्ष चीनमा पढेर पनि उस्तो राम्रो बोल्दैनन् भन्ने सन्दर्भमा मैले यो सबै आआफ्नो सपना, अन्तरात्माबाट आउने प्रबल इच्छामा निर्भर हुने कुरो हो भनेँ । उनी मेरो कुरा मान्न तयार भए। उनी र उनका श्रीमतीले पनि यात्रामा मेरो प्रशंसा गरिरहे।

चिनियाँ मित्रले कलेज पढ्दाका साथीहरू पनि बोलाएका रहेछन्। उनले ती साथीहरूसँग मेरो परिचय यसरी गराए-  ‘ऊ हाम्रो साथी दीपु, नेपालबाट आएको। उसले चिनियाँ पढेको १ वर्ष पनि भएको छैन तर कति राम्रो र प्रस्ट बोल्छ ।…’

मैले भनेँ, ‘सिक्नु धेरै छ । अहिलेलाई ठिकै छ ।’

हामीले खुसी भएर धेरै कुरा गर्‍यौँ ।

उनीहरूले अङ्ग्रेजी पढे पनि उस्तो राम्रो बोल्दैनरहेछन् । नेपालमा पिउनेहरूले रक्सी पिएका बेला फुरेको अङ्ग्रेजीजस्तै लाग्यो मलाई । म उनीहरूले बोलेको अङ्ग्रेजी मिलाइदिन्थे। उनीहरूमा रहेको अङ्ग्रेजीमोह देखेर म भाषा जान्नु राम्रो कुरो हो, भाषा जाने संसार नै घरजस्तै लाग्छ भन्थेँ । उनीहरू सही थप्थे ।

जङ्गबहादुर बेलायत जाँदा त्यहाँका बच्चाबच्चीले अङ्ग्रेजी बोलेको देखेर दङ्ग परेजस्तै म पनि धेरै पटक दङ्ग परेको छु, रहस्यचकित भएको छ। यी केटाकेटीहरूभन्दा त मैले केही गार्‍हा शब्दहरू जानेको हुँला है भनेजस्तै नि लाग्छ। ती केटाकेटीले बोल्ने चाइनिज त सुनिरहुँजस्तो लाग्छ । साह्रै मजाले बोल्छन् । मनमा एउटा प्रश्न आउँछ ‘म नि यसैगरी बोल्ने कहिले हुन्छु होला ?’

पहिलोपल्ट मैले म पढ्ने सहर च्यामुसीलाई पनि सम्झेँ । आफू बसेको ठाउँको पनि यसरी माया लाग्दो रहेछ। मैले आफू बस्ने ठाउँ जस्तै भए पनि माया र मोह बढ्दो रहेछ भन्ने अनुभूत गरेँ । च्यामुसी छँदा घरलाई सम्झिन्छु, लोपेई आइपुग्दा च्यामुसीलई सम्झिएँ । यस्तो पनि हुँदो रहेछ । मूलतः च्यामुसी मेरो दोस्रो घर नै हो, छिमेकी साट्न सकिन्न भनेजस्तै मैले मेरो जिन्दगीमा बदल्न नसक्ने अर्को सत्य ! 

मैले अन्तिममा केही शब्दहरु चाइनिज भाषामा लेखेर धन्यवाद व्यक्त गरेँ,‘您好! 我非常感谢你们的关系!我没想到您们会给我那样美丽的回忆!我忘不了!如果你觉得我会帮助您们,可以告诉我!在萝北,我得到家人!我们不是不同,一定是一样的!我的中文是不太好,但是我一直在学习如何做到最好!您妻子的英语也好,有一天她一定会成功!您的还也很聪明!我见过跟您是一个最好的缘分!谢谢 !’[अनुवाद :नमस्कार! म तपाईंसंगको सम्बन्धको लागि धेरै आभारी छु! मैले कल्पना पनि गरेको थिइनँ कि तपाईंहरू मलाई यस्तो यादगर कोसेली दिनुहुन्छ भनेर। म बिर्सिनै सक्दिन! तपाईंहरूलाई मैले केही मद्दत गर्न सक्छु भन्ने लाग्छ भने अप्ठेरो नमानी बताउनुस् है। लोपेईमा मैले मेरो परिवार पाएँ! हामी फरक छैनौं,  हामी उस्तै छौँ । मेरो चिनियाँ भाषा धेरै राम्रो छैन, तर म त्यसलाई कसरी राम्रो बनाउने भनेर प्रयास गर्दै छु। तपाईंकी श्रीमतीको अङ्ग्रेजी राम्रो छ, उनी एक दिन आफ्नो सपना पूरा गर्नेछिन्। तपाईंको छोरो पनि धेरै चलाख छ! मैले जिन्दगीमा तपाईंजस्तो मित्र पाउनु सबैभन्दा मिठो संयोग हो। धन्यवाद।]

दुई दिनको यात्रापछि लोपेईलाई ‘मिस्’ गर्दै हामी फर्कियौँ। ती चिनियाँ दाइले मलाई म बस्ने विश्वविद्यालयको गेटछेवैमा ल्याई छोड्दिए। कुनै सम्झना यस्तै हुन्छन्, जसलाई सम्झँदा पनि मन ढक्क फुल्छ।