March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

यही हो उत्तरआधुनिकतावाद् !

सायद यही हो-
उत्तरआधुनिकतावाद
जहाँ
देवताको नागरिकता खोँजिदै छ
धर्म राष्ट्रियकरण हुँदै छ
धर्मनिरपेक्षताको नाममा पवित्र रक्सी खुवाइँदै छ ।
 
जहाँ
विभाजित सामाजिक मनोभाव र
विषमताको खेती गर्दै सामाजिक एकता खोजिँदै छ ।
 
जहाँ
दर्शन र विचारलाई विचलित गराई
स्वार्थको खेती हुँदै छ
मौलिक संस्कृतिलाई छद्म भेषमा बेची
सांस्कृतिक अतिक्रमणको नारा लगाइँदै छ ।
 
 
जहाँ
देशभक्ति र राष्तट्रियतालाई
दृष्टिबिहीन नस्लवादमा जोखिँदै छ
कसिले मानवतालाई लीलामी गरिँदै छ ।
 
जहाँ
पाश्चात्यको विशेषणमा पूर्वीय मौलिकताको विशेष्य खोजिँदै छ
मौलिकताका धरोहरहरुलाई फगत आधुनिकताको बेसारे लहडमा ढालिँदै छ
विषमताको तृष्णालाई अमृत भनेर पान गराइँदै छ ।
 
जहाँ
कम्युनिष्टका नाममा कमाउनिस्ठा भैएको छ
गणतत्रको आडमा गनाउतन्त्र चलाइएको छ
एउटा साँढे फालेर
सयौँ साँढे पालिएको छ
सङ्घीयताको नाममा एकताको केन्द्र भत्काइएको छ
जहाँ वर्गीयताको नाममा नस्लीय जातिवाद ल्याइएको छ
सिंहदरबार गाउँगाउँमा लाने निउँमा
श्री ३ हरू असरल्ल छरिएका छन्
देश बनाउने नाममा करका पदचापहरू निमुखाको ढाडमा नापिँदै छन्
सायद यही हो उत्तरआधुनिकतावाद् ।