September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

के गर्यौँ र के गरेनौँ

कहिल्यै सिकाएनौँ हामीले-
असल र ठुलोबिच भिन्न
सिकायौँ त केवल ठुलो मान्छे बन्न
खेतका गरा गन्न
बारीका पाटा गन्न
रोपनी र बिघा गन्न ।
कहिल्यै सिकाएनौँ हामीले-
इमान्दार र स्वाभिमानी बन्न
सिकायौँ त केवल ठुलो मान्छे बन्न
बैंक ब्यालेन्स गन्न
घरका तला गन्न
काँधमा फुली गन्न ।
 
कहिल्यै सिकाएनौँ हामीले-
सबै मान्छेलाई मान्छे भन्न
सिकायौँ त केवल ठुलो मान्छे बन्न
अरूका निम्ति खाडल खन्न ।
 
कहिल्यै खोजेनौँ हामीले-
रातारात धनाढ्य हुनेका कुरा
पहेँलो वस्त्रमा छोपिएको छुरा
बारम्बार भनेका कुरा हुँदा अधुरा
खोज्यौँ केवल हामीले-
नैतिकताको खोल ओढेर बाँच्न
कसैको झिम्के इसारामा नाच्न
अरूलाई रुवाएर हाँस्न ।
 
कहिल्यै लेखेनौँ हामीले-
जसको इतिहास लुकाइयो
जसको प्रमाण सुकाइयो
जुन कुराको मूल्य चुकाइयो
केवल लेख्यौँ, तिनीहरूकै बारेमा-
जसले युद्धमा अरूलाई भिडाए
जसले स्वार्थका लागि अरूलाई गिडाए
जसले नचिढाउनु पर्नेलाई चिढाए ।
 
कहिल्यै बोलेनौँ हामी-
राम्राले भन्दा हाम्राले अवसर पाउँदा
सत्य भुलेर असत्यले गीत गाउँदा
न्याय बास बसेर अन्याय उदाउँदा
केवल बोल्यौँ तिनीहरूकै निम्ति-
जसले हाम्रा चेलीबेटी लुटे
निर्दोषलाई बस्सरी कुटे
हामीलाई नै भिडाउन जुटे ।
 
हामी त केवल मट्याङ्ग्रा हौँ
विषादी छर्दै गर्दा आउने फट्याङ्ग्रा हौँ
हामी त केवल कसैका सिँढी हौँ
मान्छे नबस्ने दोबाटे घरका पिँढी हौँ ।