March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

के तपाईं सेयर बजारमा प्रवेश गर्न चाहनु हुन्छ ?

 ुँजी (सेयर) बजार

सामान्य भाषामा  पुँजीबजार  भन्नाले त्यस किसिमको   बजार  जहाँ दीर्घकालीन पुँजी रकमको एउटा  निश्चित  दरमा लेनदेन हुन्छ। अर्को शब्दमा भन्नुपर्दा पुँजीबजार एउटा यस्तो बजार हो, जसमा दीर्घकालीन वित्तीय साधनहरू जस्तै Share, debenture, mutual fund units इत्यादिको कारोबार हुन्छ। विश्वका विभिन्न किसिमका अर्थतन्त्रहरू भएका मुलुकहरूमा एउटा कुरा साझा रूपमा रहेको हुन्छ।  त्यो के हो भन्ने पुँजी निर्माणका स्रोतहरूको रूपमा विकास गरिएको पुँजी बजार  हो। नेपालमा पनि अर्थतन्त्रलाई सुदृढ एवं चलायमान बनाउनका   निम्ति  पुँजीबजारको विकास गरिएको  देखिन्छ। यसको प्रमुख उद्देश्य भनेको राष्ट्रलाई आवश्यक पर्ने पूर्वाधार विकास एवं अन्य उत्पादनशील क्षेत्रको  विकासको निम्ति आवश्यक दीर्घकालीन पुँजीको व्यवस्था गर्नु हो। यसको साथै पुँजीबजारको विकासले अन्य सार्वजनिक एवं Public कम्पनीहरूको पुँजी वृद्धि विस्तारको लागि चाहिने आवश्यक  पुँजी व्यवस्था गर्नु  पनि यस बजारको उद्देश्य रूपमा लिइन्छ ।

 पुँजीबजारको महत्त्व

 अर्थतन्त्रका प्रमुख मुद्दाहरू भनेका  उत्पादन, उपभोग, वितरण, विनिमय, सार्वजनिक वित्त इत्यादि हुन् । तीमध्ये उत्पादनलाई अलि  विशेष रूपमा  लिइन्छ। विभिन्न वस्तु तथा सेवाहरू उत्पादन गर्नु ,वितरण गर्नु एवं उपभोक्ताहरूद्वारा उपभोग गर्नु आदि विषयहरू  अर्थतन्त्रका आधारभूत  मुद्दाहरू हुन्। पुँजी एउटा यस्तो अति आवस्यक तत्त्व जुन  वस्तु तथा सेवाहरू उत्पादन गर्नको निम्ति अत्यावश्यक तत्त्वको रूपमा लिइनछ। अर्थतन्त्रमा उपस्थित विभिन्न आर्थिक क्षेत्रहरू जस्तै उत्पादन, व्यापार, बैंकिंग एवं सेवा सम्बन्धी  इत्यादि आर्थिक क्षेत्रहरूमा ठुलो लगानीको  माग  रहन्छ । यस किसिमको पुँजीको मागलाई  यथोचित सम्बोधन  गर्न देशमा विकसित  पुँजी बजारले क्षमता राख्छ।  तसर्थ पुँजीबजारको विकासले समग्र आर्थिक एवं उत्पादन क्षेत्रहरूलाई आवश्यक पर्ने दीर्घकालीन  पुँजीको व्यवस्था गर्न सहयोग गर्छ। साथसाथै मुलुकमा उच्चआर्थिक  वृद्धि  तथा पूर्वाधारको विकास  पुँजीबजारको विकासका साथै गर्न सकिन्छ भन्ने  विश्वास लिन सकिन्छ।

एक्काइसौं शताब्दीमा अल्पकालीन एवं  दीर्घकालीन  पुँजी निर्माण एउटा सामान्य चक्रीय प्रक्रियामा  आधारित रहेको देखिन्छ। जस्तै  प्राथमिक बजारमा विभिन्न सानासाना व्यक्तिगत एवं सामूहिक बचतहरूलाई  पुँजीबजारमार्फत  एकिकृत गरी विभिन्न उत्पादनशील क्षेत्रमा लगानी वृद्धि भई रोजगारी वृद्धि हुने, आम्दानी वृद्धि हुने एवं बचतमा वृद्धि हुने अन्तमा  पुनः लगानीमा वृद्धि हुने प्रक्रिया रहेको देखिन्छ। विशेषगरी नेपालको पुँजीबजार सार्वजनिक एवं  निजी क्षेत्रबाट सञ्चालित विभिन्न उत्पादन तथा सेवा क्षेत्रहरूमा सञ्चालित कम्पनीहरूलाई आवश्यक पर्ने दीर्घकालीन पुँजी  निर्माण एवं  व्यवस्थापन गर्न एउटा विभिन्न  पक्षहरूबिच समन्वय  तथा सहकार्यको  परिणाम हो । यस सहकार्यमा धितोपत्र बोर्ड, नेप्से,CDS (नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिंग लिमिटेड) विभिन्न  संस्थाहरू तथा राष्ट्रबैंकबाट निर्मित नीति नियम रहन्छ।

कम्पनीले कसरी पुँजी सङ्कलन  गर्छ?

कम्पनीहरू विभिन्न प्रकारका हुन्छन् । जसमध्ये कम्पनी ऐन २०६३  अनुसार नेपालमा मुख्यतया दुई किसिमका कम्पनीहरू हुन्छन् ।ती हुन पब्लिक कम्पनी र प्राइभेट कम्पनी। पव्लिक कम्पनीको  आफ्नो नामको अन्त्यमा लिमिटेड रहेको हुन्छ । जस्तै कृषि विकास लिमिटेड, नबिल बैंक लिमिटेड, शिवम् सिमेन्ट कम्पनी लिमिटेड आदि । प्राइभेट कम्पनीहरूले आफ्नो नामको अन्त्यमा  प्रालि. (Private Limited) लेखेको हुन्छ। जस्तै नेबिको बिस्कुट  प्रालि, बुद्ध एयर प्रा लि आदि। प्राइभेट कम्पनी र पब्लिक कम्पनीमा धेरै भिन्नता भए तापनि एक महत्त्वपूर्ण भिन्नता भनेको Private कम्पनीहरूले सर्वसाधारणबाट पुँजी सङ्कलन गर्न पाउँदैन तर पब्लिक कम्पनीहरूले सर्वसाधारण जनताबाट पुँजी सङ्कलन गर्न पाउँछन्।

कम्पनीहरूले आफ्नो व्यवसायिक कार्य गर्नको लागि पुँजीको आवश्यकता पर्दछ । यसलाई अधिकृत पुँजी भनिन्छ। कम्पनीको कुल  पुँजीलाई  सानासाना  अंशमा  बाँडिएको हुन्छ।  प्रत्येक अंशलाई  सेयर  भनिन्छ। साधारणतया सेयर को  मूल्य रु १००  निर्धारण गरिएको हुन्छ । मानौं कुनै कम्पनीको अधिकृत पुँजी रु १०  करोड छ भने  प्रति सेयर  रू १००  निर्धारण गरी उक्त कम्पनीको पुँजीलाई १० लाख साना-साना सेयर इकाइ (kitta) मा विभाजन गरिएको हुन्छ । पब्लिक कम्पनीको सेयर तीन किसिमका हुन्छन् ।

. संस्थापक/प्रवर्धक  सेयर (Promoter Share)

. अग्राधिकार सेयर (Preference share)   

सर्वसाधारण  सेयर (Equity share or Ordinary share)

.संस्थापक/प्रवर्धक सेयर (Promoter share) : पब्लिक कम्पनी स्थापना गर्नको लागि  केही व्यक्तिहरू मिलेर पुँजी निर्माण गरी कम्पनी रजिष्टारको कार्यालयमा  दर्ता गर्नको लागि आवेदन दिनुपर्छ। यसरी कम्पनी स्थापना गर्दा सुरुमा promoter हरूद्वारा लगानी गरिएको कुल पुँजी रकमलाई promoter share भनिन्छ। साधारणतया कम्पनी स्थापना गर्दा प्रमोटर सेयरले कुल पुँजीको ७०% ओगटेको हुन्छ। कम्पनी पुरानो हुँदै गएपछि यस किसिमको सेयरले करिब ५१% भाग ओगटेको हुन्छ। हाल नेपालमा अधिकांश बैंकमा प्रमोटर सेयरले कुल पुँजीको ५१% भाग ओगटेको छ। निश्चित मापदण्डमा रहेर  प्रमोटर सेयर पनि secondary market मा कारोबार गर्न मिल्छ।

. अग्राधिकार सेयर (Preference Share) : पब्लिक कम्पनीको अर्को किसिमको share preference share  हो। यस किसिमको Shareholder ले  तोकेको निश्चित प्रतिशतमा लाभांश पाउँछन्। सर्वसाधारण shareholder ले  लाभांश नपाए तापनि यस किसिमको shareholder ले  तोकिएको निश्चित प्रतिशतमा लाभंस आउने हुनाले यस किसिमको सेयरलाई अग्राधिकार सेयर भनिएको हो। अन्तर्राष्ट्रिय रूपमा यस किसिमको share प्रचलनमा आए तापनि नेपालमा  कृषि विकास bank र नेकोन (Nekon air) कम्पनीहरूको बाहेक अन्य कम्पनीहरूले  preference share निष्कासन गरेको देखिँदैन।

. सर्वसाधारण सेयर (Equity  share or  Ordinary share):  पब्लिक कम्पनीको अर्को महत्त्वपूर्ण किसिमको सेयर भनेको सर्वसाधारण समूहको सेयर हो। संस्थापकहरूले कम्पनी स्थापना गरिसकेपछि यसको व्यवसाय विस्तार गर्नको लागि सर्वसाधारण, कर्मचारी तथा Mutual fund  हरूलाई त्यस कम्पनीमा लगानी गर्नको लागि  आह्वान गर्दछ। यसरी लगानी गरिएको पुँजीलाई Ordinary share भनिन्छ। साधारणतया यस किसिमको सेयरले कुल पुँजीको ४९ प्रतिशत भाग ओगटेको हुन्छ। यस किसिमको Shareholder ले  कम्पनीको नाफा/नोक्सानको जोखिम  मोलेको हुन्छ। यस किसिमको Shareholder ले  पाउने प्रतिफल कम्पनीको प्रगतिमा भरपर्छ। तेसैगरी विभिन्न कम्पनीहरूले ऋणपत्रहरू पनि बिक्री गर्ने गर्छन् र व्यावसाय बृद्धि गर्न चाहिने पुँजी सङ्कलन गर्छन्।

. ऋणपत्र (debenture or bond):  कम्पनीले आफ्नो व्यवसाय वृद्धि गर्नको लागि ऋण स्वरूप  पनि पुँजी सङ्कलन गर्न सक्दछ। यस किसिमको स्रोतलाई ऋणपत्र भनिन्छ। कम्पनीले ऋणपत्रलाई दिने ब्याजको दर र समयवधि ऋणपत्र निष्कासन गर्दाखेरि नै तोकिएको हुन्छ।

सर्वसाधारण नया लगानीकर्ता  सेयरबजारमा कसरी प्रवेश गर्ने ?

माथि प्रस्तुत गरिएको जानकारीबाट केही बजार सम्बन्धी मुख्य ज्ञान स्पष्ट भयो भन्ने लाग्छ। सर्वसाधारणले पब्लिक कम्पनीको सर्वसाधारण  समूहको सेयर  खरिद गर्न सक्छन्। सर्वसाधारणले कुनै पनि कम्पनीको सेयर  खरिद गर्नको  लागि उक्त कम्पनी Nepal Stock Exchange( Nepse) मा सूचीकृत भएको हुनुपर्छ। सर्वसाधारणले त्यस किसिमका कम्पनीको सेयर खरिद गर्नको लागि तीनवटा विकल्प हुन्छन्। ती यस प्रकार छन् – 

.प्राथमिक सेयर निष्कासन (Intial Public Offering/IPO ): कुनै पव्लिक कम्पनीले सर्वसाधारणबाट पुँजी सङ्कलन गर्नको लागि विभिन्न  कागजातसहित विवरण पत्र पेस गरी सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ। विवरण पत्रमा  कम्पनीको महत्वपूर्ण सूचनाहरू जस्तै कम्पनीको उद्देश्य ,अधिकृत पुँजी, मुख्य प्रवर्धक, वित्तीय विवरण, पछिल्लो तीन वर्षको प्रस्तावित वित्तीय विवरण आदि उल्लेख गरिएको हुन्छ। सम्पूर्ण तथ्यहरूलाई अध्ययन गरी धितोपत्र बोर्डले सर्वसाधारण  समूह सेयर निष्काशनको अनुमति दिन्छ। बोर्डको स्वीकृतिपछाडि उक्त कम्पनीले सेयर बिक्री गर्नको लागि कुनै एउटा क्यापिटललाई अनुमति दिन्छ। उक्त क्यापिटलले सर्वसाधारणलाई कम्पनीको सेयर खरिद गर्नको लागि  आहवान गर्दछ। सर्वसाधारण, कर्मचारी  र mutual fund  हरूले सेयर  खरिदको लागि आवेदन दिनुपर्छ। सेयर खरिद गर्न आवदेन  गर्न चाहने व्यक्तिले एउटा Demat खाता र वैंक खाता खोलेको हुनुपर्छ। साथैDemat खाता र बैंक खाता लिंक गर्ने CRN नम्बर पनि लिएको हुनुपर्छ। सेयर खरिद गर्न चाहने व्यक्तिले भौतिक रूपमा वा अनलाइनमार्फत निवेदन दिनुपर्छ। Meroshare apps मार्फत online  आवेदन दिन सकिन्छ भने  भौतिकरूपमा आवेदन दिनको लागि तोकिएको स्थानमा गएर आवेदन बुझाउनु पर्नेहुन्छ। कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा (face value) प्रारम्भिक मूल्यमा वा  face value  मा केही रकम थप  लिएर सेयर बिक्री गर्न सक्दछ। Face value मै  सेयर   बेचिएको छ भने यसलाई IPO भनिन्छ। जस्तै रु १००  face value  भएको सेयरलाई रु १००  मा नै बेचियो भने यसलाई आईपीओ भनिन्छ| केही कम्पनीहरूले face value मा केही रकम थप लिएर सर्वसाधारणलाई सेयर  बेच्न सक्दछ। यसरी निष्काशन गरिएको सेयरलाई FPO (Futher Public offer)  भनिन्छ। थप गरिएको रकमलाई प्रिमियम भनिन्छ। जस्तै केही समय अगाडि सिटिजन बैंकले रु १००  face value भएको सेयरलाई रु १००  थप  premium लिएर रु २००  मा FPO सर्वसाधारणलाई बेचेको थियो| त्यसैगरी एनएमबि बैंकले  रु१००  को face value  भएको share मा  रु २००  थप  premium लिएर रु ३०० मा FPO  जारी गरेको थियो। सर्वसाधारणले खरिदको लागि आवेदन दिएपछि सेयर खरिद आवेदन सङ्ख्या र निष्कासन गर्न लागेको सेयर सङ्ख्याको आधारमा सर्वसाधारणलाई सेयर बाँडफाँड  गरिन्छ।

.दोस्रो बजार (Secondary market): प्राथमिक सेयर निष्कासन प्रक्रियाबाट सर्वसाधारणलाई सेयर बाँडफाँड गरिसकेपछि उक्त सेयर नेप्सेमा सूचीकृत हुन्छ र कारोबारको  लागि योग्य  हुन्छ। नेपालमा  सेयर कारोबार गर्नको लागि broker (धितोपत्र दलाल)हरू नियुक्त गरेका हुन्छन्। हाल नेपालमा ५५  ओटा  broker कार्यालयहरू सञ्चालनमा छन्। सेयर कारोबारमा संलग्न हुने व्यक्तिले कुनै एउटा ब्रोकर  कार्यालयमा खाता खोल्नु पर्दछ र  नेप्से code लिनुपर्दछ। कुनै व्यक्तिले कुनै कम्पनीको सेयर खरिद गर्नु परेमा उक्त कम्पनीको कति कित्ता सेयर  कुन दरमा  किन्ने हो सोको आदेश वा जानकारी  दिनुपर्दछ। broker कार्यालयले उक्त सेयर उक्त दरमा  बजारमा  बिक्री गर्न कोही व्यक्ति तयार भएमा खरिद  गरिदिन्छ र उक्त व्यक्तिको नामको  demat मा share पठाइदिन्छ। कुनै कम्पनीको  share बेच्नु परेमा यही प्रक्रिया अपनाइन्छ। हाल नेप्सेले अनलाइन मार्फत पनि सर्वसाधारणलाई सेयर कारोबार गर्ने व्यवस्था मिलाएको छ। यसको लागि लेब्रोकर  अफिसमा गएर online कारोबारको लागि  आवेदन दिनुपर्दछ। साथै   प्रक्षेपित कारोबार रकमको २५% धरौटी राख्नु पर्दछ। यसपछि  transaction code   र password उपलब्ध हुन्छ। यसरी उपलब्ध गराएको पासवर्डलाई  change गरी अनलाइन कारोबार गर्नसकिन्छ। अनलाइन कारोबारमार्फत संसारको जुनसुकै कुनामा बसेर पनि नेपालको  share बजारमा सूचीकृत कुनै पनि कम्पनीको सेयर कारोबार गर्नसकिन्छ।

. सामुहिक लगानी कोष (Mutual funds) 

सबै सर्वसाधारणसँग सेयर बजारको बारेमा राम्रो ज्ञान नहुनसक्छ। जसको कारणले  लगानी डुब्न सक्छ। त्यस किसिमका लगानीकर्तालाई  लक्षित  गरी बैंकहरूले  आफ्नो सहायक कम्पनीहरूमार्फत सर्वसाधारणबाट रकम जम्मा गरी कोष  निर्माण गरेका हुन्छन्। उक्त कोषमा जम्मा भएको रकमबाट विभिन्न कम्पनीको सेयर खरिद बिक्री गरी नाफा कमाई सर्वसाधारणलाई वितरण  गर्दछन्। उक्त कोषलाई mutual fund  भनिन्छ। mutual fund को पुँजीलाई पनि सानासाना  अंशमा विभाजन गरिएको हुन्छ। त्यसलाई पनि  सेयर नै भनिन्छ। साधारणतया यस्ता सेयरको मूल्य प्रतिकित्ता १० रुपियाँ निर्धारण गरिएको हुन्छ। धेरैजसो  mutual  fund को अवधि तोकिएको हुन्छ जस्तै ५ वर्ष ,७  बर्ष,१०  बर्ष आदि । mutual fund ले तोकिएको अवधिसम्म सेयर किनबेच गर्दछन् । प्रत्येक वर्ष नाफा  नोक्सानको हिसाब गरी लाभांश बाँडछन्। अबधि समाप्त भएपछि आफूसँग भएको सम्पूर्ण सेयर बेचर उठेको रकम सेयरधनीहरूलाई  हिस्साअनुसार बाँडिन्छ। सेयरबजारमा राम्रो ज्ञान नभएको वा आफूसंग सेयर  कारोबार गर्ने समय नभएको व्यक्तिहरू   mutual fund  मार्फत सेयर कारोबारमा  संलग्न हुन सक्छन् ।  

अन्त्यमा सेयर बजारमा लगानी गर्नुपूर्व आधारभूत ज्ञान एवं जानकारी लियर प्रवेश गर्नु लाभदायक  हुन्छ ।  थोरै पुँजीबाट आफूले चाहेको कम्पनीमा लगानी गर्न सकिने, अन्य सङ्घसंस्थामा काम गरेर बिहान बेलुकाको समयमा विभिन्न कम्पनीका बारेमा अध्ययन गरी ती कम्पनीको सेयरमा लगानी गर्न सकिने, सेयरमा लगानी गरेको पैसा आवश्यक परेको बेलामा तुरुन्त बेचेर आफ्नो गर्जो टार्न मिल्नेजस्ता फाइदालाई मध्यनजर राख्दै  सेयरबजारमा कसरी प्रवेश गर्न सकिन्छ भन्ने सोच भएका व्यक्तिहरूलाई केही  ज्ञान होस् भन्ने उद्देश्यले  यो लेख तयार गरेका छौं ।