ती सलहहरू फर्किंदै छन् सीमा कटेर अनन्त क्षितिजमा तर जुगौदेखि जरा गाडेर बसेका यी सलहहरू बगरमा हैन बजारमा बस्छन् ठुला ठुला सहरमा बस्न मन पराउँछन्।
यी झार र बिरुवा खाँदैनन् न तिनका बोक्रा नै खान्छन् । यी त ढुङ्गा, माटो, पानी र रूख खान्छन्।
त्यसैले त यिनीहरू खोला र नदीका बगरहरू रित्याउँदै छन् देशको देउता बस्ने माटो खाइसकेका छन् ठुला नदीनालाको पानी खाएर आफ्नो प्यास मेटेका छन् ठुला रूख औधी मिठो मान्ने यिनले वन नै उजाड बनाएका छन्।
आफू हुन्डरीसँग खेलेर पाथीपाथी दुःख निल्दै खेतका गराबाट जगतको जीवन धान्ने र जगतमा स्वर्णिम उज्यालो छर्ने बिर्खे दाइहरूका छाला यिनैले चपाएका हुन् त्यसैले त पानीको अभावमा सुकेका खेतका गराजस्तै उनका तन र मनमा असरल्ल धाँजा फाटेका देखिन्छन्।
फेरि ! शरीरभरिको लाज ढाक्न आफैँ दुलही बनेको दिन सम्झनुपर्ने गालामा अलिकति लाली देख्न लगनगाँठो कसेको दिन सम्झिनु पर्ने सुन्तली भाउजूको लाजलाई छोपेको होइन लाजले छोपेको त्यो वस्त्र यिनलाई खुब मनपर्छ त्यसैले त उनी द्रौपदी बन्न विवश हुन्छिन् दुःशासनका सामु।
यहाँ कैयौँ बिर्खे र सुन्तलीहरू सुदूर यात्रा पूरा गर्ने सारथी बनेका छन् यिनका।
जिन्दाबाद र मुर्दाबादका गीतमा रमाउने यिनका झुण्डहरू छरिएका छन् छरपस्ट गाउँ, बेंसी र सहरका कुनाकाप्चामा अनि हिमाल र पहाडका खोंच र टाकुरामा।
सेतोलाई कालो र कालोलाई सेतो बनाउन सक्ने यी सलहहरू गाइरहन्छन् गीत उजाड र विनाशकारी क्रान्तिको।
राम रामको मिठो गीत गाउने यी ती मुखहरूले पिठ्युँमा धारिलो छुरा रोप्दै अनि गोहीका आँसु झार्दै माकुराका बच्चाजस्तै बाँचिरहेका छन्- विश्वासको प्रतिफल ।
लेखकको सम्वन्धमा