December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

अनलाइन\भर्चुअल शिक्षा र म

कोरोना भाइरसको कारण  विगत लामो समयदेखि मुलुक बन्दाबन्दीको अवस्थामा छ । यसको प्रभाव विविध क्षेत्रमा परे पनि शिक्षा क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ । विश्वभरि नै हेर्ने हो भने अन्य क्षेत्र सामान्य अवस्थामा फर्किन थालिसकेका छन् तर धेरै जसो मुलुकमा कलेज र विद्यालयहरू अझै पनि सुचारु गर्न सकिरहेको अवस्था छैन ।

विश्वका धेरैजसो मुलुकले अनलाइन\भर्चुअल कक्षा सञ्चालन गरेर पढाइलाई निरन्तरता दिइरहेका छन् । अनलाइन\भर्चुअल कक्षा अहिलेको आवश्यकता पनि हो तर हाम्रोजस्तो मुलुकका लागि यो त्यति सम्भव हुन्छ जस्तो मलाई लाग्दैन । हजारौँ सामुदायिक विद्यालयमा अध्यनरत मजस्ता विद्यार्थीका लागि अनलाइन\भर्चुअल कक्षा धेरै परको कुरा हो ।

अनलाइन कक्षाका लागि चाहिने इन्टरनेटदेखि लिएर स्मार्ट फोनजस्ता सुविधा दिन सक्ने अवस्था मेरा घरमा छैन । यदि त्यो क्षमता मेरा अभिभावकसँग थियो भने म सरकारी विद्यालयमा पढ्ने थिइनँहोला । बरु म त्यो सामानमा खर्च गर्नुको साटो त्यो पैसा मेरो पढाइलाई गुणस्तरीय बनाउन अन्य आधारभूत सामग्रीमा प्रयोग गर्थेँ । कोरोनाका समस्याले अहिले मजस्ता विद्यार्थीका धेरै परिवारलाई दुई छाक टार्न गाह्रो परिरहेको छ । धेरै अभिभावकले आफ्नो काम गुमाएका छन् । काम गुमाउनेमध्ये मेरा अभिभावक पनि परेका छन् । यस्तो बेलामा मैले आफ्ना अभिभावकसँग इन्टरनेट र स्मार्टफोन कसरी माग्न सक्छु ? मागिगए पनि मेरो माग पूरा होला त ? मेरो परिवारले यो व्यवस्था मिलाउन नसकेकै कारणले म पढाइबाट बञ्चित हुने पो हुँ कि ? यो म एक जनाको मात्र समस्या होइन । मजस्तै नेपालभरिका सरकारी विद्यालयमा पढ्ने कैयौँ विद्यार्थीको अवस्था के होला त ? के यस विषयमा शिक्षा क्षेत्रमा सम्लग्न सम्पूर्ण पक्षको ध्यान पुगेको छ त ?

अन्त्यमा कुनै पनि बहानामा मजस्ता सामान्य परिवारमा हुर्किएका कैयौँ बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित हुनु नपरोस् । यसतर्पm सरोकारवालाहरूको बेलैमा ध्यान जान सकोस् । राज्यले चाहेमा शिक्षालाई सबैका पहुँचमा पु¥याउने विभिन्न वैकल्पिक माध्यमहरू हुन्छन् । तीमध्ये सर्वसुलभ माध्यम अपनाएर सबै विद्यार्थीलाई एकै किसिमले शिक्षा दिन आवश्यक देखिन्छ ।