September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

भान्सा घर

मूल घरबाट आग्नेय दिशातिर 
आँगनमा रहेको तुलसाको मोठबाट नैऋत्य
मकै फल्दै गरेको बारीबाट वायव्यतर्फ
अनि कटहरको रूखबाट ठिक उत्तर ध्रुवमा 
खरको छानो अनि बाँसको टाटीमा
एसियन पेन्टलाई चुनौती दिने 
माटाका चार भित्ताले 
बाँधिएर बनेको वर्गाकार भान्सा-
मेरा घरको भान्सा
जहाँ वर्षमा फाट्टफुट्ट तीन जहानको
त अधिकांश समय दुई जहानको मुखमा हाल्ने माड बन्छ
बाहिरपट्टि ढुङ्गालाई माटोले छोपी बनेको अगेनो
अगेनोमा म्याग्मा जत्तिकै राता बलेका कोइला
जसमाथि बसाइएको छ ठुलो कुँडे कराही
कराहीमा भर्खर दोएर ल्याइएको गाईको दुध
औँला चोबेर खाइदिऊँ जस्तो लाग्ने दुधको तर
अगेनोको छेउमा टिनको ढोका
ढोकाबाट सिधा पस्ने बित्तिकै भर्खर काठ तासेको
फ्ल्याकमा चार खुट्टा लगाई बनाएको आयतकार टेबुल
त्यसको तल बस्नलाई बनाएको टेबुलको साख्य भाइ बेन्च 
अलिकती भित्तापट्टि
साँझबत्ती राख्ने ठाउँ
जसमा हिजो बलेका मृत बाती छन्
बाती राखेकोबाट वामपट्टि आधुनिक शैलीको र्‍याग
र्‍यागमाथि आधुनिक ग्यासको चुलो
चुलोभरि चिया पोखिएर बसेको खत
चुलो ठिक तल मरमसला, घरमा बनेको घिउदेखि 
बजारबाट ल्याएको सर्सिउँको बिउसम्म छ 
जसको छेउमा खाली पेटको सङ्केत गर्दै गरेको 
आधुनिक ग्यासको खाली सिलिन्डर
जसलाई दाउराजस्तै मानी छेउको 
माटोको चुल्होमा बालिदिऊँ झैँ
जब छोराको अरबको पसिना
चुहिएर चुल्होमा पर्न थाल्छ 
तब त्यो चुल्हो निभ्न लाग्छ 
र त्यहाँ अन्त्य हुन्छन् प्रत्येक भोकहरू ।