April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

भानुप्रति

रम्घा चुँदी तनहुँ सम्थर फाँट टार
आँखा खुलेछ कविको दिनमा असार
श्रीकृष्ण साथ घरमा क ख रा सिकेका
पाखा घुमी प्रकृतिको वयमा घुलेका
( १ )
बेचेर घाँस जल कूप खनौँ भनेको
घाँसी अभिष्ट नरको कृति राख्छु धोक
देखेर भानु मनमा कटिबद्ध बन्छन्
राखौँ सुनाम दृड भै कविता सुसेल्छन्
( २ )
रामायणै सरल श्लोक बनाइ पढ्ने
सङ्गीत भाव रसिलो मन लठ्ठ पार्ने
आलोक लोक लयमा घर गाउँ भाका
गुन्जाउने मधुरिमा वन गोठ पाखा
( ३ )
त्यो भोलिवाद सजिलो पर काम सार्ने
बिन्ती निवेदन भनी कवितै उगेल्ने
सत्ता चरित्र छलको उपमा समेट्ने
लेखेर व्यङ्ग थुनिदा मनमौज गर्ने
( ४ )
सोती जहान घरको उछितो गरायौ
शिक्षा बधू चलनले महिला डरायौ
आवाज वा समयको परिपाठ देख्यौ
साँच्चै थियौ कृपण वा प्रतिविम्व लेख्यौ
( ५ )
माधुर्य भाव गहिरो रव लेखनीले
नेपालको मुटु छुने गरिमा कलाले
त्यो कालका मनुजका इतिहास लेख्यौ
हाम्रो समाज गृह दर्पणमा समेट्यौ
( ६ )
वाणी लियौ कलमको रचना पवित्र
फैल्यो दिगन्त सुषमा हरकाव्यभित्र
भाषा चिनाइ घरको जगमा सचित्र
यो देशका हृदय हौ कवि भानु भक्त
( ७ )