कोरोना न्याय

जन्मिँदै श्रीपेच धारण गरी
अवतरित ए ! विश्वसाम्राज्ञी कोरोना,
तिम्रो न्याय मन पर्यो,
थोरै भए पनि मन चाहिँ पर्यो ।
संसारलाई नै आफन्त मानी,
‘वसुधैव कुटुम्वकम्’को पाठ पढेकै हो,
तर, त्यसै पाठलाई,
‘म मात्रै हुँ, दोस्रोको अस्तित्व मान्दिनँ’ भनी,
गत दुई शताब्दीबट,
‘एकोहम् द्वितियो नास्ति’मा परिणत गर्ने,
मानव जातिलाई,
एक अर्कालाई अनुहारै देखाउन नहुने गरी,
अपराधीझैँ नाकमुख छोपेर हिँड्ने बनायौ,
घरभित्र ‘हाउस अरेस्ट’ झैँ बस्ने बनायौ,
निसास्सिएर उकुसमुकुस हुने बनायौ ।
समता र समानताको पाठ,
किताबी ज्ञानमा मात्र सीमित गरेर,
नेपाली ‘गाउँखाने काथा’मा जितेपछि,
‘सेरोफेरो जम्मै मेरो,
राम्रो राम्रो चिज जति मेरो,
नराम्रो चिज जति तेरो भन्दै’,
हुँकार गर्ने प्रवृत्ति भएको,
अभिमानी मानवजातिलाई,
ठुलै पाठ पढायौ ।
संसार मेरा मुट्ठीमा भन्दै,
प्रकृति विनाश गर्यो,
कति वन जङ्गल स्वाहा गर्यो,
प्राणी अस्तित्व लोप गर्यो,
क्रूरताको बहुलट्ठीपनमा बहकिँदै,
चराचुरुङ्गी, कीटपतङ, जनावर केही छुटाएन,
प्रकृति नै मेरा लागि भन्दै,
आफ्नो सिकार बनायो ।
‘मिलेर बस, बाँडेर खाऊ’,
मुखमा रामराम बगलीमा छुरा भयो,
अनि सह-अस्तित्वको सम्बन्ध,
कल्पनाको उडान मात्र ।
तिम्रो आगमनले,
स्वघोषित संसार विजेता,
माखेसाङ्लोमा छटपटाउने,
र अन्य उत्पीडित प्रजातिको,
उन्मुक्त, स्वच्छन्द, विनारोकटोक,
उदात्त विचरण,
मन पर्यो, विछट्टै मन पर्यो ।
तर, यति हुँदाहुँदै पनि,
तिमीलाई एक मानव र अर्कोमा चाहिँ केही फरक लागेन ?
तिमीले पनि त निरीह, निमुखा, गरिब, बुढा,
छानी छानी लैजाँदी रहिछ्यौ,
तिम्रा नजरमा त्यत्रा,
‘लुक टु लन्डन टर्न टु टोकियो’,
एउटा कुरा गर्ने काम अर्कै गर्ने,
विकास भन्ने वातावरण विनाश गर्ने,
स्वनामधन्य यी दुईखुट्टे जनावर देखै परेनन् त ?
म एक साधारण व्यक्ति,
तिमीलाई सल्लाह सुझाव दिने हैसियत पनि राख्दिनँ,
तर,
यसरी आँखा चिम्लेर फाँड्ने हो भने,
तिमी र मानवमा बिस्तारै,
फरक मेटिने पो हो कि,
डर छ केवल,
यस पृथ्वीमा आएर,
फेरि मानवकै न्यायिक रोग तिमीमा सर्ने हो कि ?
लेखकको सम्वन्धमा