March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

हामी एक हौँ

नेपाली हौँ सधैँ एक 
हाम्रो एकै पहिचान
पहाड, मधेस, थारू सबै
यसै देशका हौँ सन्तान ।
 
कोही छैनन् ठुला साना
समान छौँ यहाँ सबै
बाहुन, छेत्री, दलित, नेवार
हाकिम, मजदुर, किसान एकै ।
 
पूर्व मेची पश्चिम काली
उत्तर हिमालपारी सम्म
फैलिएको हाम्रो देश
दक्षिण तराई लमतन्न ।
 
चार वर्ण छत्तिस जात
बुद्ध, क्राइस्ट, खुदा, राम
भाषा भेष अनेक छन्
विश्वमा छ हाम्रै सान ।
 
नदीनाला झर्ना ताल
प्रकृतिको अद्भूत स्थल,
दुर्लभ बुटी यहीँ मिल्छन्
वनपाख स्वर्गझैँ छन् ।
 
देवताको तपो भूमि
बुद्ध सीता जन्मे यहीँ
पशुपतिनाथको बास
हिन्दू बौद्ध तीर्थ खास।
 
प्राणभन्दा प्रिय हाम्रो
आफ्नै राष्ट्र स्वाभिमान
सहकार्यभित्र निष्ठा
राखे उठ्छ देशको सान।