करुणा र कोभिड
आज म अलि बिसन्चो भएको महसुस गरिरहेकी छु । आज कताकता मेरा अतीतका यादहरू पनि एक तमासले तँछाडमछाड गर्दै आइरहेका छन् । जीन्दगीमा केही त्यस्ता क्षणहरू पनि आए जसले आफूलाई बेला बेलामा विक्षिप्त बनाएर गए तर ती क्षणहरूलाई सामना गर्ने सामर्थ्यका कारण आज म जस्तासुकै विपत्तिहरूलाई पनि सहजै लिने भएकी छु । लाग्छ जीवन पनि शालिग्रामजस्तै हो, जसरी चट्टानबाट निस्किएर बगेको ढुङ्गो विभिन्न भेल, बाढी र बगरसँग ठक्कर खाँदै फुट्दै खिइँदै निरन्तर बगिरहन्छ अन्ततः शालिग्राम बनेर घरघरमा पुजिन्छ उसरी नै जीवन पनि दुःख, पीडा, अभाव असफलता, धोका आदिबाट परिपक्वता प्राप्त हुँदै जाँदोरहेछ र जिउने कला प्राप्त हुनेरहेछ । शालिग्राम र मानवजीवनमा केही फरक पनि रहेछ । उसले आफूलाई दुःख दिने र चोट पु¥याउने ती ढुङ्गाहरूलाई सम्झन सक्दैनरहेछ तर मानवले जीवनका अनुभवी कालखण्डहरू व्यतीत गरिरहँदा तिता विगतलाई नसम्झिरहन नसक्नेरहेछ । मेरा जीवनका उकाली र ओरालीहरूमा अनेकौँ पात्रहरू जोडिन आइपुगे । तीमध्ये पछिल्लो समयमा अविस्मरणीय पात्र बनेर जोडिने पात्र हौ– कोभिड तिमी । तिमीले छोटो समयमै मेरो जीवनमा अमीट छाप पारिसेकेका छौ ।
मेरो जीवन पनि अभाव, पीडा र धोकामा नरमाएको होइन । ऊर्जाशील जीवन यिनै चुनौतीहरूसँग लड्दै र भिड्दै यहाँसम्म आइपुगेको हो । म चुनौतीहरूसँग आजकल डराउँदिनँ बरू चुनौतीहरू मसँग कयौँ पटक डराएर गएका प्रमाणहरू प्रशस्तै छन् । अभाव पीडा पनि मेरा सामु नतमस्तक हुन्छन् र आजभोलि दुस्मनी साँध्नका सट्टा मित्रवत् व्यवहार गर्छन् । यसैले मलाई पनि सुरु सुरुमा यिनलाई देख्दा खुब रिस उठ्थ्यो तर आजभोलि यिनीहरू मेरै वरिपरि खेल्ने अभिन्न मित्र नै हुन् भन्ने लाग्छ । मलाई जीवन जिउने कला सिकाउन यिनको योगदान अमूल्य छ भन्ने म ठान्दछु । मेरो जीवनमा जोडिएका हरेक पुरुषहरू प्रेमिल बनेर आएका थिए । उनीहरूले मसँग सम्बन्ध गाँस्न हात फैलाएका हुन् तर अधिकांश सफल बनेनन् किनकि यो संसारमा मायामा साथ सबैलाई दिन सकिएला तर जीवनभर साथ दिन एकबाहेक सबैलाई नसकिने रहेछ । यो पनि मलाई जीवनले सिकाएकै पाठ हो । यसैक्रममा पछिल्लो समयमा चुनौतीको पहाड नै बनेर आएको कोभिड तिमीले विश्वभर आफ्नो ढाल फिँजाएर आफू विश्वविजयी भएको घोषणा गर्न तम्तयार देखिन्छौ । तिमीले सिङ्गो मानव जगतलाई प्रहार गरी तहसनहस पारिरहेका छौ । यस पटक तिमीले गरिबीभित्र हैन सम्पन्नतामा हमला गरिरहेछौ र त्यहाँ आफ्नो विजयी झन्डा फरफराउन खोजिरहेछौ । अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया, जापान, चीन आदि विश्वका जल्दाबल्दा शक्ति राष्ट्रहरूमा तिम्रो साङ्घातिक हमला जारी छ । आज सिङ्गो विश्व तिमीलाई तह लगाउन असमर्थ देखिन्छ । यस परिदृश्यमा मैले तिम्रो हमलाबाट अलग बस्ने र सुरक्षित बन्ने कल्पना गर्न सम्भव छैन । यसर्थ यस अवस्थालाई मैले चुनौती र अवसर दुवै मान्नपर्ने अवस्था बनेको छ । विश्व जगत तिम्रा विरुद्ध रहनुपर्ने बाध्यता रहेको अवस्थामा तिमी मेरा सामु एकातिर यो चुनौती हौ भने अर्कातिर तिमीलाई आफ्नो सङ्गतमा ल्याएर सामाजिक जीवनलाई परिवर्तन गरी सामान्य जीवनशैली बनाउन सिक्नु मेरा लागि ठुलो अवसर पनि बनेको छ ।
जब तिमी मेरा जीवनकै वरिपरि देखापर्यौ, सुरुसुरुमा त मलाई निकै डर लाग्यो किनकि मेरो जीवनमा यसरी नजिक हुने अधिकांश मैले देखेका र चिनेकाहरू हुन्थे । तर यस पटक मैले जीवनभर देख्दै नदेखेको र चिन्दै नचिनेको अपरिचित तिमीले मलाई पिछा गर्दै हरदम सताउन थालिरहेको छौ । यस अर्थमा यस्ता अपरिचित तिमीसँग म नडराइरहन सकिनँ । यति मात्र कहाँ हो र ! जुन समाज र जुन परिवारमा तिमीले सताउन थाल्यौ त्यसको प्रत्यक्ष असर मैले नै भोग्नु पर्दा मलाई अरूलाई भन्दा बढी पीडाबोध हुनथाल्यो । जब तिमीले मानिसहरूलाई आक्रान्त बनायौ बाध्य भएर तिमीबाट अलग पार्न मानिसहरूले पीडितलाई एकान्तमा राख्नै पर्ने भयो । एकान्तमा रहँदा पनि तिमीले पीडितलाई सताउन नछाडेपछि त्यस अवस्थामा मैले पीडितलाई कुनै सहयोग गर्न सकिनँ । मलाई थाहा थियो जब समाजमा मानिसलाई अप्ठ्यारो आइलाग्छ तब उनीहरूको पीडामा मल्हम लगाउन म (करुणा) हरदम तयार भैदिन्थेँ आफन्तहरूले पीडितलाई मै (करुणा) मार्फत सद्भाव र सहयोग पठाउँथे । तर हरेक मानिसका ती समस्यामा सहयोगी बन्ने म (करुणा) लाई नै आज तिमीले समाजसँग अलग गरिदिएका छौ । यस अर्थ मैले आफ्नो सेवक मन पनि समाजका अगाडि खुम्च्याएर बस्नुपरेको छ । सिङ्गो विश्व समाज तिमीसँग डराउनुपर्ने स्थिति आएको छ ।
बेलायतबाट फोनमा हिजो एकजना नर्सले अस्पतालमा आएका हजारौँ पीडितका आफन्तलाई हामीले फोन गरेर तपाईँका आफन्तलाई बचाउन सकेनौँ र उहाँ सदाका लागि तपाइँको सम्पर्कबाट टाढा हुनुभयो । अब उहाँको भौतिक शरीरसँग पनि तपाइँको भेट हुने छैन भन्दै लाखौँ आफन्तहरूलाई खबर दिनुपर्दा अत्यन्त पीडाबोध हुने कुरा बताइन् । उनको यस्तो कुराले मैले आफू बाँच्नुको सार कहीँ पनि देखिनँ । तिमीले मानिसहरूलाई परिवारबाट मात्र नभई म (करुणा) बाट पनि एक्ल्याइरहेका छौ । यसैले मानव समाजमा तिमीले कति निर्दयी बनेर सताइरहेका छौ भन्ने मैले मनैबाट बोध गरेँ ।
मलाई थाहा छ, कोभिड ! तिमीले मलाई र यस विश्वलाई सधैँ यस्तो निरङ्कुशतामा जकडिरहन अवश्य सक्दैनौ । मैले आफूलाई यति कमजोर र निरीह ठान्नुपरेको मेरा जीवनमा सायदै होला । तिमीभित्र देखिएको यो हिटलरी शैली अवश्य पनि आजको समाजले स्वीकार गर्ने छैन र गर्दैन पनि । यसैले कोभिड ! तिमीले आफ्नो यो अपरिचित र बुर्काधारी उग्र स्वभावबाट सामान्य मानवीय समाजमा अट्न सक्ने स्वभावमा परिवर्तन हुनुको विकल्प म देख्दिनँ । कोभिड ! अब तिमी विश्वविजयी बन्न सक्दैनौ । यसैले तिम्रो मनभित्र तिमीले अवश्य वास दिनुपर्छ र तिमीबाट प्रताडीत ती आममानिसको मनमा मलम पट्टी लगाउन मैले पाउनुपर्छ । मेरो सङ्गत गर कोभिड तिमीलाई मात्र हैन यो संसारलाई प्रेमिल बनेर रिझाउन सक्ने सामथ्र्य मसँग छ । यसैले तिमी अब निरङ्कुश बनेर संसार जित्ने सपना नदेख । मसँगको सङ्गतबाट बरु विश्वविजयी बन्न सक्छौ । यसो भयो भने विश्व जगत पनि तिमीबाट चिढिएर बस्नुपर्दैन । तिमीले पनि आजको समयसँगै समाजमा घुलमिल भएर बस्नपाउने छौ । फरक यति हो कि तिमी शासक बन्न नसकौला तर प्रभावित जीवन जिउने अधिकार तिमीलाई प्राप्त हुने छ । जति अधिकार स्वाइन, वर्ड, स्क्रब अनि अन्यले पाइरहेका छन् ।
लेखकको सम्वन्धमा