खोजी
अखबारको “वान्टेड कोलम” मा
म आफ्ना आउने दिनहरूको अनुहार खोजिरहेछु ।
जसले आफ्नै सपनाको हत्या गरेको छ
जसले आत्म स्वाभिमानमा लुट मचाएको छ ।
आफ्ना चेलीहरूको अस्मिता बचाउन नसकेको अनि
आफूले गरेका गल्तीको
लाज पचाउन नसकेको अभियोगमा
भावनाका जेलमा
म थुनिएको हुने छु आत्मग्लानीसहित
जति बेला मेरा आँखामा आँसु सकिएका हुने छन् ।
यी मेरा मिथ्या प्रतिबद्धतामा
म खोजिरहेछु सत्यताको बिज
मेलै खनेका विकासका बाटाहरूमा
म खोजिरहेछु रोड रोलहरू
जसका मद्दतले म यात्राका क्रममा
कायम गरिरहने छु समानता
ढुङ्गा माटोमा मिलेझैँ ।
मैले लेख्ने लेख अनि कवितामा
म आफ्नै व्यथा अनि भाव खोजिरहेछु
खोजिरहेछु एक अनभिज्ञ पात्र
जसले मञ्चन गर्ने छ उमङ्गमय नाटक ।
सौर्यमण्डलमा अनवरत घुम्ने पिण्डका
म खोजिरहेछु अस्तिव अनि रहस्य
झुन्ड्याइएका क्यालेन्डरमा
म खोजिरहेछु परिवर्तनको मिति
ती कमिलाका तातीहरूमा
म खोजिरहेछु अनुशासनको पालना
ती बलिरहेका दाउराहरूमा
म खोजिरहेछु बिरुवाका सास
ती टिलपिल गर्ने तारासहित जुनेली रातमा
म खोजिरहेछु सूर्यको प्रकाश अनि ताप ।
म तिनीहरूमा मित्रताको डोरी रोजिरहेछु
जसले मलाई पासो हाल्न खोजिरहे
अन्नतः म आफैँलाई आफ्नो परिचय सोधिरहेछु
म आफैँसँग उज्ज्वलमय जीवन खोजिरहेछु
बाघले आफ्नो सिकारको खोजी गरेझैँ
अन्नतः म आफैँलाई आफ्नो परिचय खोजिरहेछु ।
लेखकको सम्वन्धमा