रोग भोक र शोकले सताइएका नेपालीहरू, वीर गोर्खालीहरू शान्ति र सुसंस्कृतिले चिनिएका अभाव र गरिबीले थलिएका स्वाभिमानीको ताज पहिरिएका सच्चा र देशभक्त, नेपाली हौँ हामी ।
विकास र संवृद्धिको आशामा रातदिन स्वदेशी र विदेशी भूमिमा सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै हातगोडाका छाला फाटेको पत्तो नपाई दुःखमा पनि हाँस्न सिकेका परिश्रमी नेपाली हौँ हामी ।
संस्कार फेरिएको छ, देश बदलिएको छ, नयाँ नक्सा कोरिएको छ, हाम्रो जनजीवन अभावले घेरिएको छ अँध्यारोलाई पनि उज्यालो देख्ने सपना र आश्वासनमा पनि बाँच्न सक्ने प्रगतिशील नेपाली हौँ हामी
धर्तीपुत्र माटो र पानी जन्मिदैका आत्मीय साथी कृषिमा आत्मनिर्भर बन्ने चर्का नारा घन्काउँदै कृषि क्रान्तिका अभियन्ता बन्ने पौरखी कृषकका उत्पादनलाई खान नमिल्ने भनी, माटोमा गाड्ने दूरदर्शी नेपाली हौँ हामी ।
घरमाभन्दा छिमेकमा बस्न रुचाउने आफ्नै दाजुभाइको प्रगतिमा खुट्टा तान्दै भुइँमा झार्ने अरूको चियोचर्चो गर्दै हिँड्ने कामभन्दा धेरै कुरा जान्ने चिया पसलमा प्रवचन दिँदै हिँड्ने विश्वकै राजनीति जान्ने विज्ञ नेपाली हौँ हामी ।
आफ्नै उत्पादनलाई सडाएर भाइभाइलाई लडाएर छिमेकीको ढुकुटी बढाएर आफ्ना खेतबारी बँझ्याएर कृषिप्रधान देशलाई रेमिट्यान्सले धान्ने कृषक नेपाली हौँ हामी ।
देशमा स्वास्थ्य सङ्कट आएको छ विश्वभरि कोरोना छाएको छ देशको सीमा मिचिएको छ राष्ट्रवादी बनेर सडकमा चक्का जाम गरेर लकडाउनको उल्लङ्घन गर्ने अनुशासित नेपाली हौँ हामी ।
अन्तर्राष्ट्रिय सहयोग सम्झौताका सन्दर्भमा केही नेता र जनताले विरोध गरेको थोरै नेतालाई मन परेको एमसीसी पारित भए राष्ट्रघाती हुने ठानेको महिनौँदेखिको चर्चाले बच्चादेखि बुढाले पनि नाम सुनेको यसको नतिजा कुरेर बसेका अनिर्णयको बन्दी नेपाली हौँ हामी ।
लेखकको सम्वन्धमा