January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

परिश्रमको फल मिठो हुन्छ

चार्ल्स डार्बिनको विकासवादबारे यौटा सिद्धान्त छ– अस्तित्वका लागि सङ्घर्ष । यस सिद्धान्तका अनुसार कुनै पनि जीव प्राथमिक चरणमा अस्तित्वका लागि सङ्घर्षरत हुन्छ । सङ्घर्षकै परिणामवश कुनै पनि प्राणी सङ्घर्षकालकै स्वरूपलाई प्राप्त हुने गर्छ जसलाई प्राकृतिक चयनको सिद्धान्त भनिन्छ । यो जीवशास्त्रमा अत्यन्त प्रसिद्ध सिद्धान्त हो तर यही सिद्धान्तलाई हामी आफ्नो व्यक्तिगत जीवनमा पनि लागु भएको देख्न सक्छौँ ।

प्रत्येक मनुष्यको जीवनमा कुनै न कुनै लक्ष्य निर्धारित हुन्छ । उक्त लक्ष्य प्राप्तिका लागि मनुष्य निरन्तर प्रयत्नरत रह्यो भने निश्चय नै उसलाई आफ्नो लक्ष्य प्राप्त हुन्छ एवं लक्ष्य प्राप्त गर्न गरेको सङ्घर्षका क्रममा गरिएको प्रयत्न उसको पहिचान नै बन्न पुग्छ । प्रायः सबै सफल मान्छेको जीवनमा हामी केही समान कुरा देख्छौँ जस्तैः लक्ष्यप्रतिको श्रद्धा, प्रेम, लगनशीलता, कर्मनिष्ठता, सफलता–असफलता आदि दुवैमा समान धारणा आदि ।

जब हामी परिश्रमको कुरा गर्छौँ तब हामीलाई पूर्वीय संस्कृत साहित्यका महाकवि कालिदासको नाम स्मरण हुन्छ । कालिदासका बारेमा हामीमध्ये धेरैलाई थाहा पनि होला । उहाँको जीवन निश्चय नै परिश्रमको पर्याय थियो ।

कालिदासको वास्तविक नाम के थियो, यो कसैलाई थाहा छैन । उहाँको पारिवारिक पृष्ठभूमिका बारेमा पनि हामीलाई थाहा छैन । तर उहाँले लेखेका कृतिहरू एवं उहाँबारे व्याप्त धेरै कथाहरू नै वर्तमान समयमा उहाँबारे जान्ने आधार हुन् ।

भारतको उज्जैन देशमा एक समय महान् शासक विक्रमादित्यको शासन थियो । उनकी एक विदुषी पुत्री थिइन् विद्योत्तमा । विद्योत्तमा सबै कलामा निपुण थिइन् एवं शास्त्रकी परम ज्ञाता पनि थिइन् । जसरी सागरमा मोती भरिएपछि सागर छचल्किन्छ त्यसरी नै विद्याको उच्चताले विद्योत्तमामा पनि घमण्ड चुलिएको थियो । उनको व्यवहार अत्यन्त घमण्डपूर्ण भएको थियो । यही घमण्डका कारण उनले ‘जसले मलाई शास्त्रार्थमा हराउँछ ऊसँग नै विवाह गर्छु’ भनेर घोषणासमेत गरेकी थिइन् । नित्य कैयौँ विद्वान्हरू दरबारमा उनीसँग शास्त्रार्थ गर्न आउँथे तर हारेर जान्थे । हारेका प्रतिद्वन्द्वीप्रति विद्योत्तमाको व्यवहार ठिक हुन्नथ्यो जसकारण उज्जैनका धेरै विद्वान्हरू रिसाएका थिए । विद्योत्तमाको सेखी झार्न ती विद्वान्‌हरूले उनको विवाह कुनै महामूर्खसँग गरिदिने निश्चयसमेत गरे ।

एकदिन बाटो हिँड्दा उनीहरूले यौटा मान्छे रूखमा चढेर हाँगाको टुप्पामा बसेर फेद काटिरहेको देखे । यस्तो परममूर्ख देखेर ती विद्वान्‌हरूले विद्योत्तमाको विवाह त्यसैसँग गरिदिने निश्चय गरे । उसलाई रुद्राक्ष माला, त्रिपुण्ड्र, भष्म आदि लगाइदिएर ती विद्वान्‌हरूले विद्योत्तमाका सामु प्रस्तुत गरे । विद्योत्तमालाई उनीहरूले ती महाविद्वान् भएको र हाल मौनव्रत धारण गरेको भनी साङ्केतिक भाषामा शास्त्रार्थ गर्ने निश्चयसमेत गराए । यसरी छलवश ती महामूर्खको सङ्केतहरूको अर्थ देखाएर उनीहरूले विद्योत्तमाका सामु उक्त महामूर्खलाई एक महाविद्वान् प्रमाणित गराएर विवाह गराइदिए ।

बिहेको रात विद्योत्तमालाई आफ्नो विवाह महाज्ञानीसँग भयो भनी धेरै घमण्ड थियो । ती महामूर्ख पनि आफूले राजकुमारीसँग बिहे गरेकोमा मक्ख परेका थिए । त्यत्तिकैमा प्रसंगवश विद्योत्तमाका पतिले ‘उँट’ शब्दको संस्कृत ‘उष्ट्र’ को उच्चारण ‘उट्र’ ‘उट्र’ गरेको सुनेर विद्योत्तमालाई शङ्का लाग्यो । विद्योत्तमालाई आफ्को विवाह ती विद्वान्‌हरूले एक महामूर्खसँग गराइदिएछन् भनी थाहा पाउँन ढिलो भएन । त्यसपछि त विद्योत्तमाले आफ्ना पतिलाई घरबाट निष्कासित गरिदिइन् । निष्कासित पतिलाई उनले धेरै गाली गरेर, अपशब्द बोलेर अपमानितसमेत गरिन् ।

अपमानको कठोर सजाय भोग्दै रुँदै उनका पति रातमा बास लिन काली मन्दिरमा पुगेछन् । कालीको मन्दिरमा उनी रुँदै पल्टिएछन् । त्यत्तिकैमा महाकालीका लागि बलि चढाउँन बोको लिएर केही पण्डितहरू त्यहाँ आएछन् । मध्यरातमा बोकाको आवाज सुनेर उनको निद्रा टुट्यो र उनले जिज्ञासावश बोकालाई किन काट्न लागेको भनी सोधेछन् । पण्डितहरूले भनेछन्– “त्यस बोकाको बलिबाहेक कुनै अरू औचित्य छैन । त्यसैले बलि चढाउँन लागेको हो ।” त्यत्तिकैमा महामूर्ख भनिएका विद्योत्तमाका पतिले भनेछन्, “बोकोभन्दा पनि तल्लो त म छु, किनकि ममा र पशुमा केही अन्तर छैन भनेर मेरी पत्नीले मलाई मध्यरातमा घरबाट नै निष्कासित गरिन् । त्यसैले बोकाको स्थानमा मलाई बलि चढाऊ ।” पण्डितहरूले पनि बोकाको बलिको स्थानमा मनुष्यको बलिले काली अधिक प्रसन्न हुने सोचेर उनलाई बलि चढाउँन वेदीमा लगेछन् ।

त्यत्तिकैमा ठुलो आँधी आएर त्यहाँको दृश्य नै धुमिल पारिदिएछ र त्यो आँधीलाई कालीदेवीको कोप ठानेर ती सबै पण्डितहरू तितरबितर भएर भागेछन् । बलि चढाउँन भनी थापिएका महामूर्ख भनिएका विद्योत्तमाका पति एक्लै भएछन् । भनिन्छ त्यत्तिकैमा उनलाई देवी कालीको दर्शन भएछ । कालीले उनलाई ठुलो उद्देश्यले यस संसारमा पठाएको बताइछिन् । भगवती कालीले उनलाई यौटी आमाले पुत्रलाई झैँ ‘उनी भविष्यमा यौटा महान् साहित्यकार बनुन्’ भनी आशीष पनि दिइछिन् । कालीको दर्शन र आशीष लाभ लिएपछि उनी कालिदासका नामले आफूलाई चिन्न थाले । त्यसपछि त उनी पूरा समय संस्कृत व्याकरणको अध्ययन एवं अभ्यासमा बिताउँन थाले । संस्कृत व्याकरणका साथसाथै उनी साहित्य रचनाको अभ्यास गर्न थाले । कविताहरूको निर्माणका साथै ईश्वरका स्तुतिहरूको पनि रचनाले उनी प्रसिद्ध हुन थाले ।

शास्त्रमा निपुण भएर वषौँपछि कालिदास आफ्नी पत्नीलाई भेट्न दरबार गए । राति भइसकेको थियो र उनले पत्नीलाई ढोका खोल्न आग्रह गरे । पत्नीले उनलाई केही विशेष पढीलेखी पनि आएका छौ कि भनेर संस्कृतमा प्रश्न गरिन् । प्रश्न संस्कृतमा थियो– “अस्ति कश्चिद् वाग्विशेषः ?” कालिदासले केही उत्तर दिएनन् र चुपचाप गएर सुते । भोलिपल्ट बिहानै पत्नीलाई जवाफ दिन भनी पत्नीले गरेका प्रश्नका तीन शब्दबाट उनले तीन काव्य रचना गरे । ‘अस्ति’ बाट कुमारसम्भव काव्यको रचना भयो जसको पहिलो श्लोक– अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम ….आदि । ‘कश्चिद्’ बाट मेघदूत काव्यको रचना भयो जसको पहिलो श्लोक– कश्चित् कान्ताविरहगुरुणा स्वाधिकारात्प्रमत्तः ….आदि । ‘वाग्विशेषः’ बाट रघुवंशको रचना भयो जसको पहिलो श्लोक– वागर्थविव सम्पृक्तौ वागर्थ प्रतिपत्तये ……आदि ।

यसरी पत्नीले आफ्नो विद्वतामाथि उठाएको प्रश्नको पनि उनले विद्वतापूर्ण उत्तर दिएर काव्य नै रचना गरे । कालिदासले यस अतिरिक्त अन्य ग्रन्थ जस्तैः अभिज्ञान शाकुन्तलम्, मालविकाग्निमित्रम्, ऋतुसंहारं, शृंगारतिलकम् आदि ग्रन्थहरूको समेत रचना गरेका छन् । सरल भाषा, अर्थपूर्ण शब्दचयन, अलङ्कृत शैली एवं हाँसोठट्टाको प्रयोगले उनका काव्य न केवल नेपाल भारत किन्तु अनुवादका माध्यमबाट विश्वभर पढिन्छन् । यस किसिमको प्रसिद्धिको परम श्रेय कालिदासको परिश्रमको नै परिणाम हो जसले टुप्पोमा बसेर फेद काट्ने मूर्खदेखि उनलाई एक परम विद्वान्‌का रूपमा प्रतिष्ठित गरायो ।

त्यसैले एकनिष्ठ लक्ष्य उन्मुख भएर हामी पनि प्रयत्नबाट विमुख हुनुहुन्न । जसरी एककेन्द्रमा लागेको सिसाको लेन्सले सूर्यको ज्योतिलाई आगोमा परिणत गर्छ त्यसरी नै हामी पनि आफ्नो श्रमलाई एक केन्द्रमा लक्षीभूत गरेर परम शक्तिको अभिलाषा गर्नुपर्छ । जसरी कालिदासले प्राप्त गरेको ख्याति उनको परिश्रमको उपादान थियो त्यसरी नै हामीले प्राप्त गर्ने लक्ष्यका लागि परिश्रमबाहेक अन्य केही उपाय छैन ।