April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

असार

धुलो हटाउन पानी बनीकन आउँछ असार
‘मानो खाई मुरी उब्जाऊ’ भनीकन आउँछ असार
महलमा बसेर ‘मै हुँ’ भन्नेलाई के थाहा हुन्छ र हजुर
गरिबको वर्ष दिनको खाना बनी आउँछ असार ।।


मुखिया र जमदारको सान बनी आउँछ असार
मङ्सिरमा धान बन्न धाम बनी आउँछ असार
चैत बैशाखको खडेरीलाई के थाहा हुन्छ र हजुर !
खेती लाउन पानीको मुहान बनी आउँछ असार ।।


हली, बाउसे, रोपारेको चटारो बनी आउँछ असार
धान रोपाइँ सकाउन हतारो बनी आउँछ असार
गरिबी हटाउँछु भन्नेलाई के थाहा हुन्छ र हजुर
मकै पाके अनिकालको झटारो बनी आउँछ असार ।।


कोइलीले ‘कुहु’ गर्न थालेपछि आउँछ असार
पालुवाले रूखका पात ढाकेपछि आउँछ असार
वनका गिट्ठा–भ्याकुरलाई के थाहा हुन्छ र
फलफूलको राजा आँप पाकेपछि आउँछ असार ।।