January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

अहिंसा परमो धर्म

अविरल डि.सी

हामी बस्ने संसार हामी एक्लै मानव समुदायको मात्र निवास स्थल होइन । यहाँ धेरै प्रकारका प्राणी, जीवहरू पनि बस्छन् जसको आफ्नो पृथक् अस्तित्व छ । तथापि स्वार्थपनमा डुबेर कतिपल्ट मनुष्यले यो बिर्सन्छ कि यस पृथ्वीमा उसँगै वातावरण साझा गर्ने अन्य सहचर पनि छन् जसको अस्तित्व बिना सायद सृष्टिचक्र नै बिथोलिन पुग्छ ।

हाम्रो पूर्वीय अध्यात्मले हामीलाई सिकाउँछ– अहिंसा परमो धर्म अर्थात् धर्महरूमा अहिंसा सर्वश्रेष्ठ छ । अहिंसालाई परम–धर्म मान्नुको अर्थ यो होइन कि हिंसाको कुनै आवश्यकता छैन । समाजको स्थिति मिलाइराख्न, दुष्टलाई सजाय दिन एवं आफूमाथि आइलाग्नेहरूलाई ठिक पार्न हिंसाको आवश्यकता पर्न सक्छ । तर यसको तात्पर्य यो होइन कि हिंसाको नाममा कुनै निर्दोष प्राणीको हत्या गर्नु वा केवल जिब्राको स्वादको लागि कुनै प्राणीको हत्या गर्नुपर्छ भन्ने ।

आज संसारमा पशु अधिकारका लागि आवाजहरू पनि उठ्न थालेका छन् एवं शाकाहार वा भेगन आन्दोलनका बारेमा पनि यत्रतत्र सुन्ने गरिन्छ । यो हाम्रै लागि गौरवको कुराको हो कि हाम्रो पूर्वीय संस्कृति अहिंसा प्रधान संस्कृतिको पक्षधर रहेको छ । यसै संस्कृतिका धरोहर भगवान् बुद्ध एवं महावीर स्वामीले जीवनभर अहिंसा धर्मको प्रचार गर्नुभयो । वैष्णव संस्कृतिले त झन् शाकाहारलाई आध्यात्मिक साधनाको मार्ग बनाएर आफ्नो वैशिष्ट्य कायम गरेको छ ।

पूर्वीय आध्यात्मिक परम्परामा अहिंसाको नाम लिनासाथ प्रायः जैन संस्कृतिको स्मरण गरिन्छ । वैदिक हिन्दू धर्मजस्तै जैन धर्म संस्कृति पनि एक आध्यात्मिक परम्परा हो जसले आत्माको हितका लागि, मोक्ष पदको विस्तार हेतु, साधना–तप–अनुशासन एवं ज्ञानलाई महत्त्व दिन्छ ।
जैन धर्मको नाम लिनासाथ हामीलाई ती नग्न सन्यासीहरूको स्मरण हुन्छ जो बिनाकपडा, कठोर साधना एवं शास्त्रीय अनुशासन प्रसक्त जीवन व्यतीत गर्छन् । तर त्यस अतिरिक्त जैन धर्मको यौटा विशेष चिह्न शाकाहार हो जो न केवल साधु बरु साधारणभन्दा साधारण गृहस्थले पनि पालन गर्नुपर्छ । शाकाहारको तात्पर्य जीव हिंसाबाट परहेज गर्दै सबै प्राणीलाई सहचर मान्दै मोक्षमार्ग (परम सुख) को लागि तप गर्नु रहेको छ ।

जैन धर्म एवं त्यसमा पनि शाकाहारको कुरा निस्कँदा मलाई जैन धर्मका २२ औँ तीर्थंकर (जीवन नै जसको तीर्थसमान हुन्छ) अरिष्टनेमीको स्मरण हुन्छ । जैन धर्ममा २४ तीर्थंकरहरू प्रसिद्ध छन् जसले समय समय अहिंसाप्रधान जैन धर्मको प्रचार गरेका थिए । जैन साहित्यहरूमा यिनलाई भगवान् कृष्णका समकालीन मानिएको छ । यिनका पिताको नाम समुद्रविजय र माताको नाम शिवादेवी थियो । यिनको जन्मस्थान द्वारकाको शौरीपुर मानिन्छ । जब यिनको उमेर विवाह योग्य भयो तब यिनको विवाह उग्रसेनकी छोरी राजीमतीसँग नियत गरियो । विवाहको तैयारी पनि पूरा भइसकेको थियो एवं विवाहका लागि दुलाहा बनेका अरिष्टनेमी जन्ती लिएर दुलही लिन गइरहेका थिए । तर विवाहका लागि जाँदै गर्दा बाटामा उनले धेरै पशुहरू बाधिँएको देखे । यौटा गोठालो परिवारमा जन्मिएका कारण अरिष्टनेमिलाई पशुहरूप्रति विशेष प्रेम पनि थियो । बाँधिएर राखिएका पशुहरूको क्रन्दन सुनेर अरिष्टनेमिले पशुहरूलाई बाँधेर राख्नुको कारण सोधे । जन्ती गएका एकजनाले ती पशुहरू विवाहभोजमा पकवानहरू बनाउँन राखिएको बताएपछि अरिष्टनेमिको मन केही विक्षिप्त भयो । उनको मनमा क्रमशः ती पशुहरू आफ्नो विवाहमा मारिने एवं ती पशुको आसुँको सन्ताप खेलिरह्यो । अहिले कराइरहेका पशुहरू केही समयमा नै मर्ने कुराले उनलाई ठुलो धक्कासमेत दियो । त्यसपछि त के थियो र उनी विवाह नगरेरै मुकुट बाटैमा फ्याकेर विरक्त भावमा केही समय बिताई सन्यास लिए । यिनले सन्यास ग्रहण गरेको ५४ दिनपश्चात् यिनलाई केवलज्ञान प्राप्त भयो । राजीमती, जोसँग यिनको विवाह सम्बन्ध गाँस्ने कुरो थियो, पनि अरिष्टनेमिको अनुशरण गरेर श्राविका बन्न पुगिन् ।

भोजनको आवश्यकता प्रत्येक सजीव प्राणीलाई हुन्छ । तर कुनै पनि भोजन प्रकृति अनुकूल छ कि छैन एवं उक्त भोजन कतिसम्म नैतिकताद्वारा आर्जित छ त्यो पनि विशेष चिन्तनीय कुरा हो । आजभोलि कोरोना महामारीका कारण संसार नै अस्तव्यस्त बनेको छ । कोरोना महामारी कसरी उत्पत्ति भयो भन्ने बारे भिन्न भिन्न धारणाहरू छन् । तर यौटा बलवती धारणा, जुन धेरै विज्ञहरूले प्रस्तुत गरेको छन्, यो हो कि चीनको वुहान नगर, जो मासुका लागि प्रसिद्ध नगर हो, त्यहीबाट सङ्क्रमणको पहिलो घटना सुरु भएका कारण एवं चमेरा, साँप आदिको भक्षणद्वारा नै यो रोगको सङरक्रमण फैलिएको हो । संसारभरमा मांसाहारका कारण धेरै रोगहरू देखापरेका छन् एवं विज्ञहरू यहाँसम्म पनि बताउँछन् कि यौटा निश्चित उमेरपछि मांसाहारको मात्रा सक्दो कम गर्नुपर्छ । त्यस अतिरिक्त, मांसाहार नैतिक धरातलमा पनि त्यति उपयुक्त देखिन्न किनकि नैतिकताले हामीलाई यही सिकाउँछ कि आफू समान पीडा हुने, सृष्टिसञ्चालनमा सहायक कुनै पनि जीवको हत्या, त्यो पनि केवल जिब्रोको स्वादका लागि, एकदमै अधम कृत्य हो । अहिंसाले हामीलाई नैतिक हुन, निरोगी हुन एवं सकारात्मक भएर आचरण गर्न सहाय पुर्याउँछ । त्यही कारण अहिंसाको पाठ सबैले सिक्न जरुरी छ । त्यस अतिरिक्त अझ बुद्धको भूमि नेपाल एवं नेपालीहरूले अहिंसाको पाठ सिक्नुपर्छ एवं सिकाउँनुसमेत पर्छ ।