November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

कागजको फूल

प्रकाशमणि दहाल

“दर्शन ठुल्बुवा !” ग्रीष्माले टाउको झुकाई, शुभराजले हात जोड्यो ।

“दर्शन ग्रीष्मा । के मेला डुलेको ? यो भाइ को नि ?”

“हो, ठुल्बुवाहजुर, मेला डुलेको । उहाँ शुभराज दाइ, उहाँ पनि उही मलिका माविमै पढ्नुहुन्छ, दश कक्षामा ।”

स्वाभाविक स्त्रीजन्य लज्जाभावभन्दा बढी नै लाजले घुम्लुङ्ङ छोपेर उसको अनुहार अबिर घसेजस्तै रातियो । ठुल्बुवा अर्थात् वडाध्यक्ष रणेन्द्रबहादुर शाहीले दुवैलाई निरीक्षण गरे तलदेखि माथिसम्म । उनका आँखामा विशेष चमक देखापर्‍यो । उनका बगलमा उभिएका अरू दुईका आँखामा झन् तिखो चमक आयो ।

“कहाँनेर छ घर ? देखेजस्तो त लाग्यो तर ठम्मिएन ।” उनी शुभराजतिर लक्ष्यित भए ।

“त्यहीँ पिपलटार परतिर हो ठुल्बुवाहजुर, तीनघरे —” ऊ बोल्नै पाएन ।

“यो त्यहीँ बलिराजको छोरो शुभराज त हो नि” एक जना बोल्यो । अर्कोले समर्थनमा टाउको हल्लायो । रणेन्द्रले थपे, “ए, बलेको छोरो ? कति भाइ पो छौ तिमरु ?”

“हो हजुर, म बलिराज विश्वकर्माको साइँलो छोरो । हामी चार भाइ छौँ ।”

“दुई भाइ त उता दुबईतिर छन् होइन ?”

“हो हजुर, ठुल्दाइ र माल्दाइ दुबई हुनुहुन्छ ।”

“तेरो नाउँ के पो अरे ?”

“शुभराज हजुर ।”

“दश कक्षामा छस् अरे ? निकै पो पढिछस् त !”

“के निकै र हजुर भरखर मावि तह त्यो पनि पूरा भएकै छैन !”

उनले फेरि शिरपुछार निरीक्षण गरे र ग्रीष्मातिर फर्किए “त्यो के नि ?”

“फूल, ठुल्बुवाहजुर, कागजको फूल । मलाई राम्रो लाग्यो अनि शुभ दाइले किन्दिनुभयो ।” उनलाई भने कसोकसो ग्रीष्माको उत्फुल्लता मन परेन । उनको अनुहार कडा भयो । ग्रीष्मा र शुभराजलाई पनि थाहा भयो उनको भङ्गिमा तर उनीहरूले त्यसलाई अनुहारमा आउन दिएनन् ।
“कागजको फूल !” उनी एक्लै बुदबुदाउँदै अगि बढे ।

मेलाको भीडभाडमा अलिकति ओझेल पर्नेबित्तिकै एउटाले आपत्ति गर्‍यो “बले कामीका छोरालाई हाम्रा माइला काजीकी छोरीले ‘तपाइँ, उहाँ’ भनेकी ! ममम यो त भएन हजुर !” अर्कोले थप्यो “त्यो पनि कस्तो लाडे पल्टिएकी त, देख्नुभएन ? उसले त्यो कागजको फूल किन्दिएको अरे !”

“अनि क्यार्नु त । एउटै स्कुलमा पढ्ने उनीहरू । अझ ऊ दश कक्षामा छ अरे । माइलाकी छोरी कतिमा छ ?” पहिलो बोल्यो “आठ कि नौमा होलिन् ।” दोस्रोले थप्यो यिनीहरूलाई अलि बढी नै बाल दिएको छ अहिले । दलित भत्ता पाउँछन् । पढाइमा अरू सुविधा दिएको छ । वडामा अनिवार्य दलित र महिला सदस्य हुनुपर्छ । यिनका भुइँमा खुट्टा छैनन् । त्यही भएर त अचेल बालीमा काम गर्नै छोडे । सहरमा जस्तै सिधै तोकेर पैसा माग्छन् । अस्ति एउटा खुकुरी अर्जापेको ठङ्ङै २५ रुपियाँ छोड्या होइन ।”

“मलाई त माइला काजीकी छोरीको चाल निको लागेन है हजुर” पहिलोले स्वर दबाएर झन् जोड दिँदै भन्यो “याद गरिसियो ? त्यत्रा काजीकी छोरीले त्यस डाङ्रालाई ‘शुभ दाइले’ पो भनेकी, बाफरे !” उसले हुनेसम्म अपभ्रंश पारेर लेघ्रो तान्यो । अर्काले थप्यो, “उनलाई त्यसले फूल किन्दिनुपर्ने ? त्यसलाई कम्तीमा सय रुपियाँ त पर्‍यो होला । कहाँबाट आयो त्योसँग त्यत्रो पैसा ? यसमा विचार गरिहाल्नु पर्ला जस्तो पो लाग्यो मलाई त ।”

बेलुका घरमा रणेन्द्रजीलाई अर्को झट्का लाग्यो । खाना खानुभन्दा पहिले फस्ट कोर्सका क्रममा पहिलो सिपपछि नै कजिनीको आक्रोश पोख्खिगयो, “हाम्री ग्रिष्मीका बारेमा केही सुनिस्या छ हजुर ?” उनले टाउको उठाएर कुतूहलित आँखा तेर्स्याए । अलिकति स्वर खसाएर आँखा फुकालेर कजिनी भन्दैगइन्, “त्यो त बले कामीको छोरो शुभराजेसँग हिँड्न ठिक्क परेकी पो छ अरे त !” मेलाको दृश्य झलक्क आयो उनका आँखामा । “एउटै गाउँमा बस्ने एउटै स्कुलमा पढ्ने केटाकेटीमा हाँसखेल भयो भन्दैमा त्यसो भनिहाल्नुहुन्छ र सवितेकी आमा ?” भुइँमा झर्न नपाई टिप्पा लगाइन् उनले, “उँह्, हजुर पनि, ए सविते, भन् त बालाई त्यसको चर्तिकला ।” ग्रीष्माभन्दा तीन महिना कान्छी उही नौ कक्षामा पढ्ने तर झन् डालिली सविता मौकाको ताकमा भएझैँ बक्न थालिहाली, “आ, ग्रीष्मा दिदीको के कुरा । शुभ दाइ र उहाँ कक्षा नभएका बेला एकछिन छुट्टिँदैनन् ।” आमाले टोकिहालिन्, “त्यस कामीलाई शुभदाइ भन्ने तेरो जिब्रो थुतिदिऊँ ?” भननन्न भई सविता रिसले तर सम्हाल्लिई, “कामी भएर के, उहाँ कस्तो ह्यानसम हुनुहुन्छ, कस्तो सब कुरामा च्याम्पियन र सबको हाइहाइ हुनुहुन्छ । उहाँसँग बोल्न झन् केटीहरूको त खोसाखोसै पर्छ । ग्रीष्मा दिदी र उहाँ त परपर पाखातिर डुल्न जानुहुन्छ र कतिबेरसम्म हराउनुहुन्छ …!” कजिनीको हात उठिगयो, “फेरि हुनुहुन्छ भन्छेस् त्यस डाङ्रालाई ?” सविता रिसाएर हिँडिहाली ।

“के जमाना आयो कुन्नि, यी केटाकेटी बौलाका हुन् कि ठुला मान्छे नै बौलाका हुन्, पैतालाका जुम्रालाई टाउकामा चढाएसि के भन्नु ? झन् तिनका स्वास्नीलाई पो मात चढ्या छ त, बाबा हो ! खासमा यो सब माउवादीले गर्‍या हो । भाँडा मोल्न, आँगनमा खरेटो लाउन, मल बोक्न, भकारो सोहोर्न आउँथे । अचेल त नाकमुख देखाउँदैनन् । बाटो परिगयो भने अर्कातिर फर्केर ‘कोर्निस गरेँ कजिनी साब’ भन्दै टिम्किहाल्छन् ।”

काजीले खाना खाइसक्न लाग्दा उनले मनको पेटारो खोलिन् “भदा धनकेशरको सासै अड्केको छ त्यो ग्रीष्मी भनेपछि । भाउजूलाई पनि केटी असाध्यै मन परेकी छ । उसको भने यस्तो चाल छ ।”
“उनीहरूको त माइती पनि सँगै पो हो क्यार त ?”

“हो नि, दाँतकाटी जुठो खाएर हुर्केका, तल्लो घर माथ्लो घर ।”

त्यस दिन अध्यक्ष काजीलाई निकैबेर निद्रा परेन । ‘वडा समितिमा भएकी एउटी परियार र एउटा रम्तेल पनि हरेक कुरामा हस्तक्षेप गरेर र्‍याखर्‍याख पार्नु भन्छन् । न बोल्नुको सोमत छ न पर्याप्त जानकारी छ न जनतामा हैसियत नै छ । बस्, कानूनमा लेखिदिया भरमा ठाउँ पा‘छन् । सनातनदेखि मानिआएको थिति एकै तालमा भत्काउनु भन्छन् । अस्ति अफिसपछि पानी ट्याङ्कीको छलफल गर्दैगर्दै नेउपानेको चियापसलमा पुगियो । त्यस दिन गंगे रम्तेलमात्र थियो । हामी सँगै ऊ पनि चिया पसलमा पस्न थालेको न्यौपानेको नोकर बिरेले घोक्य्राइदिहाल्यो । बाहिर उभिएर संविधान, कानून लोकतन्त्र, गणतन्त्र, मानवाधिकारको दुहाइ दिँदै कतिबेरसम्म कराइरह्यो । यही हालत छ सबै वडामा । गंगाजलले छर्किंदैमा गधा कहाँ हुन्थ्यो गाई !
आरक्षण पनि जातलाई होइन अवस्थालाई दिइनुपर्ने, त्यो पनि खास समयसम्म मात्र, खासगरी शिक्षामा । त्यसपछि रोजगारी खुलाएर आफ्नै प्रतिभाको बलमा अगि बढ्ने सिस्टम हुनुपर्ने । तर नेताहरूमा न दीर्घकालीन सोच छ न त्यसको मतलबै छ । जे जसरी हुन्छ सिंहदरबार छिरेर एकबाजी मुख डोब्नपाए पुग्यो ।

यी दलितलाई पनि तत्काल सुविधा, शिक्षासँगै गैरदलितसँग सहज र घुलमिल हुँदैजाने वातावरण बनाइनुपर्ने । बँधुवा गाई अचानक फुकाएर छोड्दिएजस्तै यता यिनीहरू सम्हालिनसक्नु भा‘छन् उता उनीहरू भुसको आगोजस्तै । कसरी पार पाउने होला यो समस्याबाट ?’

भोलिपल्ट खानेपानी मन्त्री जगन्नाथ शर्माको सवारी थियो पानीट्याङ्की उद्घाटन गर्न । आफ्नै जिल्ला र निर्वाचनक्षेत्रसमेत भएको हुँदा तथा माओवादीका पनि प्रमुख नेतामध्ये भएकाले सबै कुरा उनकै पकडमा थियो । रातै बसाइ भएकाले छालका छाल कार्यकर्ता भेटघाट भयो । ओल्लोपल्लो गाउँका मेयर तथा वडाध्यक्षको पनि ठुलै टाउको दुखाइ भएको यस विषयमा पनि सघन छलफल भयो ।

हप्ता दिनपछिको कुरा हो । टिफिनपछि दुई पिरियड खाली थियो । उनीहरू खोल्सापारि साविक थलामा पुगे । अँगालामा बाँधिने बित्तिकै उसले भनी, “शुभदाइ, मेरो महिनावारी नाघेको पन्ध्र दिन भयो” र थपी “अब पर्खिनु हुँदैन ।” उसले बधाइ दिँदै भन्यो “के गर्ने, तिमी नै भन । बिहे गर्न त उहाँहरू मान्नुहुन्न होला ।” उसले भनी “बाले त च्वाट्टै काट्नुहुन्छ । यत्तिकै हिँड्यो भने पनि जहाँ भेट्यो त्यहीँ आक्रमण हुनसक्छ । भरसक मन्जुरीबाटै काम गर्नुपर्छ । आमालाई हाम्रो प्रेम थाहा छ । म आमासँग कुरा गरेर तपाईंलाई भन्छु ।”

आगामी शनिवार अध्यक्षहजुर र माइलाकाजी सुरखेत जाने भएकाले त्यही दिन ४ बजेतिर ग्रीष्मा तयार भैराख्ने, शुभराज १५।२० जना साथी लिएर आउने, ग्रीष्मालाई लिएर सोझै मन्दिरमा गएर सिँदुर हाल्ने कुरा तय भयो ।

तर घटनाले अर्कै मोड लियो जब आधा घन्टा जतिको कुराकानीपछि आँगन कट्नासाथ उनिहरूमाथि कहाँकहाँबाट रोल–खुकुरीसहित अचानक तिसचालिस मान्छे खनिए । मङ्सिरको दिन अँध्यारो हुनै लागेको थियो । ग्रीष्मा र शुभसहित छ जनाको घटनास्थलमै काम तमाम भयो । घाइते भएर भागेका चार जनाको भाग्दाभाग्दै मृत्यु भयो । अरू केही सामान्य चोटसहित र केही सकुशल भागे । ग्रीष्मालाई उम्काउने योजना थियो अरे तर कसैले मरणान्तक प्रहार गरिहाल्यो । भनिन्छ त्यो केटाको भेषमा कुनै केटी थिई अरे जसले शुभराजलाई चैँ भगाउन खोजेको थियो अरे । तर सम्भव भएनछ ।

भोलिपल्टै सुर्खेतबाट घर आउने क्रममा खोलामा जिप खस्नाले रणेन्द्र र माइला काजीको पनि मृत्यु भएछ । डाइबरका लासको खोजी भैरहेको थियो ।

लगत्तै घटनास्थलको लागि प्रस्थान गरेका मन्त्री जगन्नाथ शर्माको पनि कोट डाँडामा हेलिकोप्टर ल्यान्डिङ गर्दा सन्तुलन गुम्नाले खोँचमा खसेर मृत्यु भयो । घाइते भएर बेहोस भएको पाइलट जलवीर विकको शिक्षण अस्पतालमा उपचार भैरहेको थियो ।

घटनाले देशव्यापी सनसनी पैmलाइदिएको थियो । छानबीन समिति पनि गठन भैसकेको थियो ।
बाह्रौँको काम सकिएर पानीबाट निस्किएकी ग्रीष्माकी आमा छोरीको कोठामा पसिन् । किताब, कपडा असरल्ल थिए । सिरानीनेर भित्तामा टेपले टाँसेर ठड्याएको कागजको फूलमा उनको हात पुग्यो । छोइनासाथ अचानक खुस्कियो । उनले हतारहतार समात्नेहुँदा फूल त हातैमा पचक्क पच्कियो । अचानक उनका आँखा बर्सिए र त्यही फूलमा परे । फूल गलेर फ्यात्त भयो । उनी सुँक्कसुँक्क गर्दै टोलाइरहिन् । आँखामा छोरीको, बाबुको, ठुल्बाको र अरू कतिको अनुहार आउँदैजाँदै भैरह्यो । सँगै उनको रुवाइ झन्झन् बढ्दैगयो ।

*****

prakashmanidahal@gmail.com