January 18, 2026, Sunday
२०८२ माघ ५, सोमबार

यात्रा : समीकरण

सारथी नव्राज

समानान्तर सोचाइ
वक्र जिन्दगीको
उतार चढाव
परिधीमा कोरिरहेछु
असन्तुलित
जोड, घटाउ
जीवनको उत्तरपुस्तिकामा ।
 
पटक पटक
नमिलेको अङ्कगणित
वर्गान्तर, विषमताका
त्रिभुजाहरुले
घोचिरहँदा पनि
लेखिरहेछु
अनुत्तरित उत्तरहरू…
 
परिणामको
स्वप्नमाथि उभिएर
केरमेट, कहिले सच्याउँदै
सामेल भइरहेछु
दैनिकी अग्नि परीक्षाहरूमा ।
 
समयसमीकरण  
योग अनि भागफल
अंश अंशमा
जिन्दगीको मोह
अतृप्त आकाङ्क्षाहरूको
अवरुद्ध जवाफी हलहरु…
 
चुनौती अनि सामानाको
पर्याय
अमान्य सिद्धान्तका विरुद्ध
नयाँ आयाम
नयाँ जवाफ
अलग साध्य प्रतिस्थापन
प्रतिपादनको खातिर
साधना गरिरहेको
एउटा परीक्षार्थी
म!!!!
 
ईमानको क्रय,विक्रय
मुनाफाको
हिसाब, हिस्सा हिस्सामा
किस्ता किस्तामा
चक्रीय
निक्षेप
खो़जिरहेकाहरूको एउटा
प्रश्न म!