June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

दुई थोपा आँसु

शौरव शर्मा

भ्रामक कुरा जगमा फैल्यो फैलियो बेस्सरी
भन्दछन् सब कम्जोर रुन्छ रुन्छ त्यो बेसरी। 
कम्जोर रुन्छ सबैका  सामु ए सथी जसरी  
एकान्त गई धुरुरु रुन्छ वीर नि त्यसरी  ।
 
सिरानी सारा भिजाऊ प्यारा आसुँका थोपाले
चाहिन्न रुमाल पुछ्न त आँसु पुछ न हातले ।
मनका पीर बगेर जाऊन् सलल नदीझैँ
 समुद्र भेट्छ बगेको नदी मनले पर्मात्मै ।
 
  टल्पल आँसु अलौकिक शक्ति बोकेर आँखामा
नुनिलो आँसु चम्कन्छ साथी गुडेको गालामा
तड्पन्छ मन कसैको याद सजल नयन
हर्ष भो मन कसैका लागि सजल नयन ।
 
नलुकोस् पीडा वियोग ज्वाला संयोग हर्ष हो
बगाई आँसु, बाहिर फ्याल, मनको पिडा त्यो। 
नदीको धारा बनाऊ आँसु बेसरी बगाऊ 
पवित्र मन, उज्वल आत्मा, ऐनाझैँ सजाऊ। 
 
समुद्र पानि नुनिलो हुन्छ आँसु नि नुनिलो 
बगाऊ आँसु, बनऊ नदी, नयन रसिलो। 
आसुँ त दुई, नदी हुन् साथी, मुहान आँखा हो 
समुद्रभन्दा विशाल ऊर्जा, हृदयभित्रको ।
 
मनका पीडा मनमै साथी फत्फत फत्काऊ
अमृत जल दुई थोपा आँसु तप्तप तप्काऊ
नबोल साथी दुर्वाच्य तिमी सुन्न नि नसुन
पवित्र मन ईश्वरको वास ईश्वरकै आशन ।