एउटा चिरअनुत्तरित प्रश्न
हरेक घरमा धेरथोर सुन्नैपर्ने साझा गुनासो हो ‘केटाकेटी बिग्रिए, काम नलाग्ने भए, गरी नखाने भए …।’ कतिपल्ट त गुनासो गाली र थप्पडसँगै आउँछ । धेरै बाआमाको अनन्त कोरस हो यो— ‘यसरी होइन त्यसरी गर्, यो होइन त्यो गर् …’ अनन्त अह्राइ, सिकाइ र सँगै अनन्त गुनासो । रूखो र कर्कश स्वरमा रिस र शारीरिक सजायसँग मिसिएर आउँदा भने बालक डराएर बुझ्नै नसक्नेगरी अताल्लिसक्छ, अलमल्लिसक्छ, रिसाइसक्छ र उल्टोपाल्टो गर्नपुग्छ ! अनि हेर्दाहेर्दै सुन्न, टेर्न छोड्छ र तर्किन, टार्न, ढाँट्न, परपर रहन, भाग्न र अलिक ठुलो भएपछि जवाफ फर्काउन थाल्छ, कारण नुन धेर भएपछि चर्को त हुनैपर्छ !
यिनै बिग्रिए भन्दै भकुन्डो पारिएका केटाकेटी नै क्रमश दम्पती, बाबुआमा, देशका नागरिक र कतिचैँ जनप्रतिनिधि र नेतासमेत् हुनथाल्छन् । तर गुनासो सकिँदैन । पहिले बाबुआमाको, स्कुलमा शिक्षकको, पछि श्रीमान् /श्रीमतीको एकार्कामा, त्यसपछि छोराछोरीको र नेता–जनप्रतिनिधि हुँदा जनताको गुनासो मृत्युपर्यन्त जारी रहन्छ ।
तर के के सिकाउनु, कहिलेसम्म सिकाइरहनु ? लेविस टमसका शब्दमा मान्छेले जीवनको करिब छैटौँ अंश, हाम्रो चलनमा त एकचौथाई, बाल्यकालका रूपमा खेर फाल्छ जब कि अरू प्राणी जन्मिनासाथ काम गर्न थाल्छन् । यही होला जोस्टिन गार्डरले ‘घोडा जन्मिन्छ तर मान्छे जन्मिँदैन, उसलाई बनाइन्छ’ र जोन ड्यूबेले ‘सिकाइ जीवनको तयारी होइन, सिकाइ नै जीवन हो’ भन्नुको मतलब । यी भनाइ गलत होइनन् कारण मान्छे र अन्य प्राणीको बँचाइ र बाँच्नुको उद्देश्यमा जमिन–आकाशको फरक छ तर सायद सम्पूर्ण सत्य भने होइनन् ।
त्यसो त सिकाइ पनि सिक्ने र जान्ने दुईखाले हुन्छन् भनिन्छ । कुनै स्वत जानिन्छ, जनावरले जस्तै अनौपचारिक देखेर, सुनेर अनुकरणादि सामान्यज्ञानले मलमूत्र उत्सर्जन गर्न, खान, डराउन, रिसाउन, खुसाउन, रुन, कराउन, हाँस्न, बोल्न जानेजस्तै । कुनै सिकिन्छ औपचारिक र मिहिनेतसाथ पढ्न–लेख्न, लुगा सिउन, साइकल चलाउन सिकेजस्तै ।
तर न स्वत जानिने भनिने कुरा सम्पूर्ण जानिएका हुन्छन् न सिकिएका नै । अर्थात् सबै मान्छे सरदर नै हुन्छन् । तब त कुरा आउँछ जानेन भन्ने, सिकिरहने, जान्दछु ठान्ने र सिकाइरहने, एकार्कालाई होच्याउने, खिस्याउने, गाली गर्ने आदि । सायद सत्य भनेको अपूर्णता नै हो र अन्त्यहीन आलोचनासँगै निरन्तर सिकाइ–सुधार–परिमार्जन । यसले सम्झाउँछ जीवनका तीन घुम्तीबारे यो भनाइ : पहिलो घुम्तीमा ‘मेरा बाले तेरा बालाई गोदिहाल्नुहुन्छ’, दोस्रोमा ‘हाम्रा बूढालाई केही आउँदैन,’ र तेस्रोमा ‘बाले भन्न त भन्नुहुन्थ्यो !’
जे होस्, आफ्ना छोराछोरीलाई परम योग्य र परम सक्षम भएको देख्न चाहने हरेक बाआमाको कहिल्यै नसिद्धिने तर कहिल्यै पूरा नहुने अभीप्सा हो किनकि सम्पूर्णता कहाँ हुन्छ र !
त्यसैले भन्ने गरिन्छ : ‘बाठो बाबुको लाटो छोरो’ अर्थात् उसले छोरालाई धेर जान्ने र राम्रो बनाउने भएर यति सिकायो यति सिकायो ऊ आफैँ नदेख्ने, नसुन्ने, नसोच्ने, नबुझ्ने अधबेस्रो, लाटोकोसेरो, झगडालु, दब्बु, चोर, अल्छी, ठग, लफङ्गा भयो …..। भनिन्छ नि मान्छेदेखि पनि चित्त नबुझेपछि भगवान्ले सबै जनावरका राम्राराम्रा अङ्ग मिलाएर सबैभन्दा राम्रो भनेर बनाएको अन्तिम जनावर उँट भएछ अरे ! मल धेर हुँदा पनि जलेर वा ठिँगुर्किएर बिरुवा मर्नु वा बाली हौसिनु भनेको पनि यस्तै होला ।
केटाकेटीलाई कसरी असल बनाउने भन्ने कुरा हरेक बाआमाको चिरअनुत्तरित प्रश्न हो । हुन त असल मान्छेको मउड्यालटी हुँदैन । भनिन्छ एउटा पण्डित र माझीको संवाद : ‘तिमीले पढ्न जानेको छ ?’ ‘छैन हजुर ।’ ‘त्यसोभए तिमीले आफ्नो आधा जीवन व्यर्थै गुमाएछौ ।’ केहीबेरपछि आँधी आएछ र माझीले सोधेछ ‘पण्डितजी, तपाईंले पौडिन जानेको छ ?’ ‘छैन त ।’ ‘अब तपाईंको पूरै जीवन गुम्नेभयो ।’ एकैछिनमा डुङ्गा पल्टिएछ र पण्डितजी परमधाम गएछन् । यस्ता धेरै कथा पाइन्छन् जनश्रुतिमा ।
पराहार क्यानडाको एउटा फनपार्कमा एउटा बाबुले अढाई वर्षतिरको छोरालाई लगाएको थप्पड मलाई आफ्नै गालामा दुखिरहेको छ । रोटेपिङ चढ्ने लाइनमा उभिएका बेला पछाडिबाट उसले मेरो टोपी तानिदियो । ‘यू क्यूट नटी कीड !’ भन्दै मैले उसको गाला थपथपाएँ । बाबुले ‘लभ टु मेक फन, रास्कल ?’ भनेर हाँस्तै कुतकुती लगाइदियो । हावामा उछाल्यो । बच्चो खिलखिलाएर हाँस्यो । उसका खुसीको सीमा रहेन । एकछिनपछि पिङमा चढ्ने दौरान उसले अर्को छिमेकीको टोपी तानेर हुत्याइदियो । बाबुले कसेर थप्पड लगाइहाल्यो । तर बच्चो रोएन मेरो अपेक्षाजस्तो, मात्रै जिल्ल पर्यो र कतिबेरसम्म टाउको लुकाइरह्यो । भरे पिङबाट ओर्लिएपछि पनि ऊ सामान्य भएको थिएन । मैले उसले बच्चालाई नपिट्नुपर्ने भनेँ । उसले त्यस्तो बदमासी गर्न हुँदैन भन्ने जान्नु पर्छ भन्यो । मैले भनेँ ‘हाउ कुड हि नो इट वोज ब्याड ह्वेन वी प्रेज्ड हिम सो ल्याभिस्ली फर द सेम एक्ट जस्ट बिफो ?’
अङ्ग्रेजीमा एउटा भनाइ छ : Parents are the pot and children, water. अनि जस्तो भाँडाको आकार त्यस्तै पानीको आकार त भन्नै परेन ।
हो, सायद बालकका प्रथम गुरु क्रमश आमा र बा नै हुन् । भरखर हाँस्न थालेको बालक ठिक उसकी आमा जसरी नै हाँसेको याद गर्नुभएको छ ? उसले देख्ने पहिलो हाँसो नै उसकी आमाको हो । त्यही टिप्छ, अझ खासमा टिपिन्छ । यो एउटा उदाहरण हो बालकले घरैबाट सबै कुरा सिक्ने यथार्थको । घरको वातावरणले उसलाई ढाल्दै लान्छ थाहै नपाई त्यो आकारमा जुन ऊ बनिदैजान्छ । मात्रै त्यो ईंटा ढलेजस्तो देखिँदैन । ऊ काँतर वा आँटी, जाँगरिलो वा अल्छी, मिलनसार वा छुच्चो, आवेसी वा धैर्यशील, आत्मविश्वासी वा शङ्कालु, सहयोगी वा स्वार्थी जे छ त्यो जन्मिदै भएर आएको हुँदैन । उसले त्यहाँ आएपछि नै सिक्छ । सिक्छ पनि होइन उसको चेतनामा स्वत त्यो रसिँदैजान्छ जसरी कपडामा मट्टितेल, बालुवामा पानी रसिँदैजान्छ र क्रमश उसको मनतन्त्र बनिँदैजान्छ जो ऊ हो । तब त घरलाई सबै मानवीय गुणको पाठशाला भनिन्छ ।
बाबुआमाका निजी, आपसी तथा घरका र परका अन्य मान्छेप्रतिको व्यवहार (भावभङ्गिमा, बोलाइ, कामगराइ इ.) जो उसले देख्छ, सुन्छ, उसमाथि लादिन्छ त्यसबाट ऊ एउटा खास खाले आनीबानी, स्वभाव, दृष्टिकोण र सोचको व्यक्तित्वमा ढल्दैजान्छ जसरी भूगोलमा ढल्दैजान्छ एउटा बिरुवा । जस्तो खासगरी कुनै दिवालका फेदमा उम्रिएको बिरुवा बाहिरपट्टि ढल्किँदैजान्छ सोझो बढ्न नसकेर । परिवारमा अति कडा वा लापरवाह बाबु वा आमा वा दुवै परेमा बालक पनि एकपाटोमात्रै बढ्ने धेरै सम्भावना हुन्छ मात्रै त्यो बिरुवाजस्तो सजिलै देखिँदैन जुन उसको रिसाहा वा खुसी, काँतर वा दुस्साहसी, लोभी वा खर्चालु, अल्छी वा अति सक्रिय, हस्तक्षेपकारी वा मतलबहीन… मन र व्यवहारको सन्तुलनहीनता वा एकोहोरोपनबाट देख्न सकिन्छ ।
यद्यपि बालक न सम्पूर्ण बिरुवाजस्तै बिकल्पहीन हुन्छ न बाबुआमा सम्पूर्ण दिवालजस्ता । त्यसैले ऊ सामान्य, सन्तुलित हुन पनि सक्छ नहुन पनि, धेरै त सरदर नै हुन्छ ।
सिकाइबारे एउटा घतिलो भनाइ छ : You need not teach your child; enough is to let her learn herself and help amicably when faltered and divert when on wrong track. हुन पनि मान्छे(चेतना) जन्मजात जिज्ञासु र सिकारु हुन्छ । हामीले तास खेल्न कुन स्कुलमा सिक्यौँ र ? रूख चढ्न, पौडी खेल्न माछा मार्न, ठग्न, हप्काउन, लामो हात गर्न, परेका बेला सघाउन वा अन्ठ्याउन, केटी फकाउन वा केटासँग मस्किन कहीँ कसैबाट सिकेको हो र ? सबै आफैँ जान्यौँ, गर्यौँ । तर साँच्चै पारङ्गतचैँ छैनौँ न कहिल्यै भैसकिन्छ नै । तब त सफलता–असफलता, सुख–दुखमा फरक पनि छौँ आफ्नै आफ्नै सीमासम्म ।
अर्को कुरा हामी किशोर छँदा एकार्काका बाआमाले चुरोट कसरी समात्छन् र तान्छन्, कसरी रिसाउँछन्, श्रीमान्/श्रीमती वा छोराछोरीलाई कुन बेला कसरी सम्बोधन गर्छन् आदि कुराको नकल गर्दै मरिमरि हाँस्थ्यौँ, होइन ? यसबाट सिकाइबारे केही बुझिन्छ ?
बालकको पहिलो गुरु आमा हुन्, दोस्रो बाबु, तेस्रो परिवार(दाजुभाइ दिदीबहिनी आदि), चौथो साथीसहित छिमेकी, पाँचौँ शिक्षक र स्कुल, छैटौँ सरकार/समाज र सातौँ प्रकृति–परिवेश । यी सबै गुरुसँग छायाझैँ सधैँ उपस्थित हुन्छ उसको स्वानुभूति innate reasoning जुन त्यसो त उक्त सात गुरुको प्रभाव र उसको आफ्नो वंशाणुगत अन्तज्र्ञानको पोषणअनुसार नै कमजोर वा सबल हुने देखिन्छ जसलाई आत्मज्ञान भनिन्छ जसले उसको आत्मविश्वास बनाउँछ ।
सबैभन्दा पहिले त असल मान्छेको मड्यालटी नै चाहिएला । बालकले ढोग्दा ‘ठुलीठुली हुनू’ भन्ने गरिन्छ यद्यपि यो अत्यन्त भाववाची र विवादास्पद कुरा हो, बिपीले भनेजस्तै । साथै असल पनि सबै दृष्टिले असल नठानिएर वा खराब ठानिएर मनग्गे आलोचित र समग्रमा धेरैजसो आफ्नो लक्ष्यमा असफल पनि देखिन्छन् इतिहासदेखि वर्तमानसम्म । युद्धमा सफल भए विकासमा असफल, नेतृत्वमा सफल भए परिवर्तनमा असफल, विद्याको डिग्रीमा सफल भए प्रयोगको क्षेत्रमा असफल …. । हुन त यथार्थमा पनि मान्छे सर्वज्ञ, सर्वगुणसम्पन्न, सर्वशक्तिमान, सर्वसफल र सर्वप्रिय हुनसत्तैन । त्यसैले सार्वजनिक–वैयक्तिक, पेसागत–स्वैच्छिक विभिन्न दृष्टिसहित कम्तीमा वा न्यूनतम कसीअनुसार ‘सन्तोषजनक’ सम्मलाई असल मान्नुपर्ला ।
गुगलले असल मान्छेका १५ लक्षण दिन्छ । यसमध्येको consistency गीताको ‘यस्त्विन्द्रियाणि मनसा नियम्यरभतेऽर्जुन । कर्मेन्द्रियैःकर्मयोगमसक्तः स विशिष्यते’ ३।७ अर्थात् स्थितप्रज्ञता अर्थात् सामान्य शब्दमा सन्तुलनतासँग मिल्छ । अर्थात् जो व्यक्ति फलको वास्ता नराखी निस्पृह कर्तव्यभावले सन्तुलित भएर प्रेमदेखि युद्धसम्म र श्रमदेखि विलाससम्म आवश्यकता र औचित्यानुसार गर्नसक्छ त्यही श्रेष्ठ हो ।
हुन त त्यस्तो व्यक्ति शिव, राम, कृष्ण, बुद्धबाहेक को हुनसक्छ भनिएला तर उनीहरू पनि आलोचित छन् भने सर्वसाधारण पनि त्यही नगरी सुख पाउँदैनन् मात्रै त्यसमा पहिले अहं, लोभ, आक्रोश आदि पूर्वाग्रहको र पछि दुखको रुन्चे वा सुखको मैमत्त पाइन नचढाइसत्तैनन् र खराबी नै थप्छन् । फरक त्यत्ति हो । अर्को, प्राप्ति वा सफलताको सीमा लगाउन पनि जान्दैनन् र मोती टिप्ताटिप्तै कालले आफैँलाई टिप्नलागेको पत्तै पाउँदैनन् ।
त्यस्तो निस्पृह तर कर्तव्यपराण र सन्तुलित व्यक्ति कसरी बनाउने त ? लाग्छ त्यसको उत्तर भने सरलै छ : बिरुवा रोप्छौँ हामी तर बढ्छ ऊ आफैँ, होइन ? उही ‘You need not…’ भनेजस्तो । तर यहाँ भने watch your child as he grows पनि बिलकुल भुल्न पाइँदैन किनकि amicable help र divertion कुनै बेला पनि चाहिनसक्छ । अस्तु ।
*****
prakashmanidahal@gmail.com
लेखकको सम्वन्धमा