सादा जीवन, उच्च विचार

ईश्वरचन्द्र विद्यासागर एक अत्यन्त विद्वान् पुरुष हुनुहुन्थ्यो । उहाँको वास्तविक नाम ईश्वर चन्द्र बन्दोपाध्याय थियो तर आफ्नो उच्च अध्ययन एवं प्रतिभाका कारण उहाँलाई विद्यासागर उपाधी दिइएको थियो । उहाँको जन्म वर्तमान भारतको पश्चिम बङ्गालको बिरसिंगा भन्ने गाउँमा भएको थियो । आज भारतको पश्चिम बङ्गाल यौटा ठुलो व्यापारिक नाका, उद्योग–कलकारखानाको सहर एवं ठुला ठुला अध्यात्मविद्, शिक्षाविद्, समाजसुधारकहरूको राजधानीका रूपमा प्रसिद्ध छ । तर यी सबै पहिचानहरूका साथै अर्को यौटा पहिचान छ पश्चिम बङ्गालको र त्यो हो ईश्वरचन्द्र विद्यासागरजीको जन्मस्थान भन्ने पहिचान ।
ईश्वरचन्द्रजी कुनै ठुला राजा महाराजा वा कुनै राजनेता हुनुहुन्नथ्यो । उहाँ कुनै ठुला व्यापारी पनि हुनुहुन्नथ्यो । उहाँ त केवल यौटा उच्च आदर्श राख्ने एक साधारण शिक्षक हुनुहुन्थ्यो । तर यौटा साधारण शिक्षक भए पनि उहाँको आदर्शतम् सोच– सुधारवादी मानसिकता एवं सरल जीवनशैलीले उहाँलाई विश्वप्रसिद्ध महापुरुषका रूपमा स्थापित गर्यो । ईश्वरचन्द्रजीले आफ्नो जीवनकालमा लगभग ५२ पुस्तकहरूको रचना गर्नुभयो, विधवा विवाहको मर्यादालाई स्थापित गर्नुभयो, स्त्रीशिक्षाका लागि पहल गर्नुभयो एवं सबैका लागि समान शिक्षाको अवसरका निम्ति आजीवन सङ्घर्ष पनि गर्नुभयो । तथापि उहाँको जीवन कुनै नेता वा समृद्ध संस्थापकको जस्तो थिएन । प्रायः यस्तो सुनिन्छ कि विद्यासागरजी आफ्नो सरल जीवनशैलीका लागि प्रख्यात हुनुहुन्थ्यो । उहाँको जीवनको कतिसम्म सरल थियो, यसबारे यौटा आख्यान प्रसिद्ध छ–
एक समय ईश्वरचन्द्रजी कतैबाट कुनै समारोहमा सम्मिलित भई रेलबाट कलकत्ता आउँदै हुनुहुन्थ्यो । कलकत्ता स्टेसनमा रेल आएपछि उहाँ रेलबाट ओर्लिएर केही कदम मात्र चाल्नुभएको थियो, अचानक यौटा मोटो धनी व्यापारीले आफ्नो सानो झोला जमिनमा राखेर कुनै भरियालाई कुरिरहेको देख्नुभएछ । कुनै पनि भरियालाई नदेखेर त्यो व्यापारी आत्तिएको भावमा यताउता हेरिरहेको थियो । ईश्वर चन्द्रजीले त्यो मान्छेको झोला उसको नजिक पुगेर उठाउँनुभयो र सुस्तरी आउँनुस् जाऔँ भनी स्टेसन बाहिरसम्म पुग्नुभयो । त्यो मोटो व्यापारीले झोला उठाउँने ईश्वरचन्द्रजीलाई उहाँको साधारण पहिरनका कारण चिनेन र यौटा साधारण भरिया ठानेर पछि पछि हिँड्यो । स्टेसनबाहिर पुगिसकेपछि यौटा घोडा टाङ्गाका अगाडि रोकिएर ईश्वरचन्द्रजीले भारी बिसाउनुभयो र खल्तीबाट रुमाल निकालेर पसिना पुछ्नुभयो । व्यापारीले आफ्नो पकेटबाट केही सिक्का निकालेर ईश्वरचन्द्रजीका सामु राख्नै आँटेको थियो कि उहाँले पर्दैन भनी आफूलाई हतार भएको भन्दै छिटो छिटो हिँड्नुभयो । त्यस व्यापारीलाई अचम्म लाग्यो कि कुनै भरियाले आफ्नो पारिश्रमिक नलिएर कसरी मिहिनेत गर्नसक्छ होला ! यत्तिकैमा टाँगावालाले भन्यो, “अरे ! उहाँ त ठुला विद्वान् ईश्वर बाबु हुनुहुन्छ !” ईश्वर नाम सुन्नासाथ व्यापारी छानाबाट खसेझैँ भयो किनकि ती दिनमा ईश्वरचन्द्रजीलाई पूरै भारतमा नचिन्ने कोही थिएनन् । उहाँको उदात्त सोच र नैतिक आचरणका लागि उहाँ सबैका प्यारा हुनुहुन्थ्यो । त्यस्ता महापुरुषलाई आफ्नो झोला बोकाएको कुराले व्यापारी शान्तसँग बस्न सकेन । ऊ हतार हतार आफ्नो घर पुगेर सामान छोडी ईश्वरचन्द्रजीको घरतिर लाग्यो । ईश्वरचन्द्रजी त्यही बेला घरबाहिर निस्कदै हुनुहुन्थ्यो तर अचानक व्यापारीलाई देखेर उनी आउँनुको कारण सोध्नुभयो । व्यापारीले उहाँसँग क्षमा माग्दै लाजले भुतुक्कै भयो कि उसले उहाँलाई यौटा साधारण भरिया ठानेर सामान बोकायो । ईश्वरचन्द्रजीले पनि सहजभावले भन्नुभयो कि यो सबै उहाँको सरल पहिरन र व्यापारीको नजरको दोष थियो जसकारण क्षमा माग्नुपर्ने कारण छैन । आफ्नो काम आफै गर्नुपर्छ तथा कसैले यदि त्यो काम गर्न सक्दैन भने हामीले उसलाई सहयोग गर्नुपर्छ भन्ने मानवतामुखी शिक्षाका साथ ईश्वरचन्द्रजीले त्यस व्यापारीलाई बिदा गर्नुभयो ।
ईश्वरचन्द्र विद्यासागर जी एक योग्य अध्यापक हुनुहुन्थ्यो जसले शिक्षालाई व्यावहारिक रूपमा पालन गर्नुहुन्थ्यो । मान्छेले जति सरलतालाई जोड दिन्छ त्यति उसले अन्य उच्च सोच एवं प्रगतिशील कार्यहरूमा आफूलाई दक्ष पाउँछ । जसले बाहिरी आडम्बर, देखावटीपनमा आफूलाई धेरै तल्लीन गराउँछ, त्यो मान्छे प्राथमिक स्तरमा राम्रो मानिए पनि उसको वास्तविक स्वरूप बुझ्न गाह्रो हुन्छ र समयको अन्तरालमा मान्छेहरू त्यस्ता देखावटीपन, आडम्बरयुक्त मान्छेलाई तिरस्कार गर्दै जान्छन् । ईश्वरचन्द्रजीको सरल व्यक्तित्वका कारण उहाँले आफूलाई एक महान् सुधारकका रूपमा स्थापित गर्न सक्नुभयो र आज सारा संसारले उहाँलाई एक महान् शिक्षकका रूपमा चिन्छ । यसरी आफ्नो सरल मानसिकता एवं त्यसबाट उत्पादित उदात्त सोच, नैतिक आचरण एवं प्रगतिशील मानसिकताका कारण ईश्वरचन्द्र विद्यासागरजी चिरकाल स्मरणमा रहिरहनुहुनेछ ।
लेखकको सम्वन्धमा