January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

लकडाउनमा समयको महत्त्व

कामना पोखरेल
कक्षा : ६
युनाइटेड स्कुल, ललितपुर

म आज तपाईंहरूलाई लकडाउनका समयमा मैले घर बस्दा के कस्ता क्रियाकलाप गरेँ र यस लकडाउनमा के के काम गरेँ भन्ने कुरा प्रस्तुत गर्न गइरहेकी छु ।

घरबस्दा धेरै मानिसहरू अल्छी हुन्छन् । उनीहरूलाई केही काम गर्न जाँगर लाग्दैन । कुनै मानिस भने दिनभरि सुत्छन् त कुनै मानिस मोबाइल र टिभीमा व्यस्त हुन्छन् । मोबाइल र टिभीले गर्दा कोही कोही त भातसमेत खाँदैनन् । भात खानै बिर्सन्छन् । मोबाइल र टिभी मनोरञ्जन र सूचनाका लागि हेर्नुपर्छ तर त्यसले आँखालाई कति बिगार्छ भन्ने कुरा तपाईंलाई पत्तो नै हुँदैन । हो, मैले यस लकडाउनमा पढ्ने मात्रै भनेकी पनि छैनँ तर मोबाइल र टिभीले तपाईंको आँखालाई कति हानी गर्छ भन्ने कुरा तपाईंहरूले जान्नुभएको छ ? छैन भने ख्याल गर्नुस् । समय मिलाएर हेर्न जानिएन भने यो अत्यन्त हानीकारक हुनसक्छ ।

यस्तो समयमा सुतेरै दिन बितानेउहरू पनि हाम्रा समाजमा देखिन्छन् । यसरी दिनभरि सुत्दाखेरी कति अल्छी हुइन्छ भन्ने कुरा थाहा पाउनुपर्छ । अहिले केही समयका लागि कोभिड–१९ का कारण लकडाउन चलिरहेको छ । तर जब लकडाउन खुल्छ तपाईंको यही सुत्ने बानीले काममा अल्छी लाग्न सक्छ । हो, हामी सबैले यस्तो नराम्रो बानी छाड्नुपर्छ र लकडाउनको सदुपयोग गर्न र धेरै काम गर्न सिक्नुपर्छ ।

अब म यस लकडाउनमा मैले कसरी समय सदुपयोग गरेँ भन्ने कुरा बताउँछु । तपाईंहरूले पनि सकेसम्म असल बानी बनाउनुस् र अल्छीपन हटाउनुस् । अब मैले मेरै कुरा सुरु गरेँ है ।
मैले यस लकडाउनमा धेरै कुरा सिकेँ । जस्तै खाना पकाउन, खेतबारी खन्न, ओछ्यान मिलाउन, कोठा सजाउन, खेल खेल्न आदि । हुन त यी काम घरायसी नै हुन् तर मलाई आउँदैनथ्यो । मलाई सिक्न मन लाग्थ्यो । यी साना साना कामले हामी घरमा आमाबालाई सघाउन सक्छौँ । यी ससाना काम गर्‍यौँ भने हाम्रा हात, खुट्टा तथा औँलाको विकास राम्ररी हुन्छ । शरीर मजबुत हुन्छ ।
हामी सबै परिवारले बारीमा तरकारी रोप्यौँ । एउटा बारीमा हामीले काँक्रा, गोलभेडा, भिन्डी, साग, सिमी, फर्सी आदि रोप्यौँ । मैले कोठा पनि सजाएँ । कागज काटेर विभिन्न चित्र बनाएँ । मैले कोठा सफा राखेँ । अक्षर बिग्रिन्छन् कि भनेर हस्तलेखन गरेँ । टेबल पुछेँ । बेलाबेलामा हात धोइरहेँ ।
अनलाइन कक्षा चलिरहेकोछ । सर र मिसले पढाएको फेरि दोहोर्‍याएर पढेँ । दिनको एक घन्टा टिभी हेर्ने समय छुट्याएँ । अधा घन्टा बेलुका र आधा घन्टा दिउसो टिभी हेरेँ । यसो गर्दा एक घन्टा हुन्थ्यो ।

यसरी नै मैले समय बिताइरहेकी छु । साँझ फेरि परिवारसँग खेलकुदका लागि समय छुट्याएँ । त्यसपछि कथाका किताब पढेँ । राति आधा घन्टाको समयसम्म टिभी हेरेँ । टिभी हेर्दै कहिलेकहीँ चित्र कोर्न पनि सिकेँ । सुत्नुअघि परिवारसँग लुँडो, चेस, तास आदि खेलेँ । अहिले म फुर्सदका बेला मादल पनि सिक्दै छु ।

यसरी मैले लकडाउनमा घरमै समय बिताइरहेकी छु । मैले आफैँले अहिले पढ्ने या टिभी हेर्ने समय भनी छुट्याएर काम गर्ने गरेकी छु । सबै काम कति बजे गर्ने भनेर एउटा तालिका बनाएकी छु । म त्यस तालिकालाई अनुशरण पनि गरिरहेकी छु । तपाईंहरूले कसरी समय बिताउँदै हुनुहुन्छ ? मलाई भन्नुस् है । अल्छीपन हटाउनुस् र टिभी मोबाइल कम गर्नुस् ।

अन्त्यमा कोभिड–१९ बाट बच्नका लागि समय समयमा साबुनपानीले हात धोऔँ । अत्यावश्यक कामबाहेक घरबाहिर पनि ननिस्कऔँ । लकडाउनको पालना र सदुपयोग गरौँ । कोभिड–१९बाट बचौँ । सतर्क रहौँ । हात नमिलाऔँ । अँगालो नहालौँ । अहिलेलाई यत्ति नै ।