दोष कस्को त ?
जस्का शरीरले
आफ्नो वयस्कपनको
कुनै आकृति विकास
गरिसकेका छैनन्
ती नाबालकहरू
बलात्कारका सिकार भएका छन्
तिम्रा मिलेका जिउडाल अनि
परिपक्क शरीरको
कुनै दोष छैन
ती निर्दोष छन् ।
बुर्कामा ढाकिएका
घुम्टोभित्र लुकेका
शिरदेखि पाउसम्म ढाकिएका
नरीहरू
बलात्कारका सिकार भएका छन्
तिम्रा मिनी स्किर्ट, वन पिस
टाइट जिन्स, रिप्ड जिन्सको
कुनै दोष छैन
ती निर्दोश छन् ।
जस्ले आफ्नो आँगनको डिल
बिरलै पार गरेका छन्
जसलाई
परपुरुषसँगको छायाबाट पनि
पर तर्किनुपर्ने संस्कारमा
हुर्काइएको हुन्छ
ती नारीहरू
बलात्कारका सिकार बनेका छन्
तिम्रो बेबाक मिजास
पुरुष साथीहरूसँगको
तिम्रो सङ्गतको कुनै दोष छैन
ती निर्दोष छन् ।
सभ्य अनि सुसम्पन्न परिवारका
घरभित्रका नारीहरू
बलात्कारका सिकार भएका छन्
तिम्रा गरिबी र लाचारिपनको
कुनै दोष छैन
ती निर्दोष छन् ।
दोष कस्को त?
शायद, दोष समाजका
ती बिरामी मानसिक्ताका मानिस हरूको
जो सभ्य मानिसको
खोल ओडेर हिंडेकछन् ।
शायद, दोष समाजका
ती मानिसहरूको
जो दोषीमा कम
पीडितमा धेरै
गल्तीहरू केलाउछन् ।
शायद, दोष समाजको
त्यो मान्यताको
जहाँ नारीको शालीनतालाई
गहना ठानिन्छ
र पुरुषको उग्रतालाई
मर्द ठानिन्छ ।
लेखकको सम्वन्धमा