सजाय
कथित् तल्लो र माथिल्लो
जातको रट लगाउँदै
भेरीमा फेरि एक पटक
मानवीय क्रूरताको
पराकाष्ठा उदाङ्गियो ।
कथित माथिल्लो जातकी
केटीलाई प्रेम सम्बन्ध
राखे कै, कसुरमा
कथित् तल्लो जातको
केटाको र उसका
साथीहरुको गला
कलिलै उमेरमा रेटियो ।
भेरीको रहमा
कुटी कुटी
ढुङ्गाले हिर्काएर
हत्या गरेर
मान्छेका
चार हातपाउ बाँधेर
पाता फर्काएर
हेलियो
बिचरा कलिला
नवराज विक र उसका
छ जना किशोर
साथीहरूलाई
गहिरो भेरी नदीमा
मानवीयताको
हुर्मत नैं लिने गरी ।
दिन दहाडै
सबैको सामुन्नेमा
पूरै सोती गाउँ उल्टिएर
खेद्दै लखेट्दै
भेरी नदीमा
निर्ममता पूर्वक
भाग्दाभाग्दै
क्रूरता पूर्वक
हात खुट्टा बाँधेर
हत्या गरेर चोपलियो ।
क्रूरतम राणा शासन,
शाही शासन ,
पञ्चायती शासन व्यवस्थालाई नैं
माथ गर्ने गरी
सङ्घीय लोकतान्त्रिक
गणतान्त्रिक व्यवस्थामा
व्यवस्थाकै हुर्मत लिने गरी
मध्य युगीन दास युग
बिर्साउने गरी
कलिला छवटा
मुनाहरू
फक्रिन नै नपाई,
टुसाउन नपाउँदै
निमोठियो ।
संसारमा
पुरुष र महिला
दुई जात मात्रै
छ भन्छन्
भन्नेहरू
तर खै ?
आज
रुकुम पश्चिमको
सोती गाउँमा
मल्ल र विक परिवारका
एक जोडी
किशोर किशोरीले
एक अर्कामा
मायाँ प्रेम
गरेकै अपराधमा
केटासहित उसका
सहयोगी मित्रहरू
मारिनुपर्छ भन्ने
कसले सोचेका थिए?
बर्सौदेखि
ज्वाइँ पालिएझैं
पालिएका
थरी थरीका
सुरक्षा निकायहरू,
स्थानीय सरकार र
प्रशासन कार्यालयका
कामचोर ठालुहरू
थरीथरीका
डलर हसुर्ने देशी विदेशी
मानव अधिकारवादी
सङ्घ संस्थाहरू र
उनीहरूकै
हित गर्छु भनेर
खडा भएका
दलित आयोगहरू
के गर्दै बसे ?
के तिनीहरू
शोभा बढाउनका लागि मात्र
खडा भएका
सङ्घ संस्थाहरू हुन् ?
आज तिनीहरूको
औचित्यमाथि नै
गम्भीर प्रश्न चिन्ह
उब्जिएको छ ।
एक ठाउँबाट
अर्को ठाउँमा
जान नपाउने गरी
बन्दाबन्दी
लागु भएका
बेलामा पनि
जाजरकोटदेखि
रुकुम पश्चिमको
सोती गाँउसम्म
ह्वारह्वार्ती
मान्छेहरू
ओहोर दोहोर गर्दा
पूरै गाउँ उल्टेर
ताण्डव नृत्य गर्दा
त्यहाँको राज्य र
सरकार
के हेरेर
बसेको थियो ?
अहिलेको
समयमा पनि
मानवीयताको भावना
लजाउने गरी
भएको
उक्त घटनाको
निष्पक्ष छानविन गरी
कडाभन्दा कडा
सजाय दिइयोस् ।
आजको युगको नै
धज्जी उडाउने
नर पशुहरूलाई
संविधान कानुन
संशोधन गरेर
भए पनि
ती अपराधीहरूलाई
मृत्यु दण्डको
व्यवस्था गरियोस् ।
संविधान र कानुनको
किताबमा
लेखेर मात्रै हुँदैन
जन जनको हृदयमा
जमेर बसेको
छुवाछुत र
जातीय भावनाको
कालो तुवाँलोलाई
जरैदेखि उखेलेर
फाल्नु पर्छ ।
चरम मानव अधिकार
उल्लघनका
दोषीहरूलाई
सबक सिकाउन
कडाभन्दा कडा
सजाय दिइनै पर्छ ।
मान्छे मान्छे
बिचको
विभेद हटाउन
कम्मर कसेर
लाग्नै पर्छ ।
लेखकको सम्वन्धमा