December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

यशु श्रेष्ठ : जलपरीको जुक्ति

सोइना दाहाल
कक्षा : ५
मञ्जरी सेकेन्डरी स्कुल,
काठमाडौँ

जलपरीको जुक्ति भन्ने बालकथा सङ्ग्रह यशु श्रेष्ठले लेख्नुभएको हो । यो पुस्तक पहिलो पटक रत्नसागर प्रकाशन प्रा.लि., डिल्ली बजारले २०६७ मा प्रकाशन गरेको हो । मैले यस पुस्तकको चौथो संस्करण (२०७०) पढेकी हुँ । यस पुस्तकका चित्र विनिता बुद्धाचार्य र एलिसा श्रेष्ठले बनाउनुभएको हो । यस पुस्तकमा जलपरीको जुक्ति, बाजी, भाइटीका, गोठमा गोठालो, अल्छी दादा, पौडीपोखरीमा पौडी गरी जम्मा सातवटा कथा सङ्कलन गरिएका छन् । यी सबै कथा पढिसके पनि म आज जलपरीको जुक्ति भन्ने कथाका बारेमा चर्चा गर्न चाहन्छु । त्यसभन्दा पहिले लेखक यशु श्रेष्ठका बारेमा थोरै जानकारी दिन चाहन्छु ।

बालकथाकार यशु श्रेष्ठको जन्म सन १९८२ मा धादिङमा भएको हो ।  उहँका पिताको नाम कैलाश श्रेष्ठ हो भने माताको नाम गंगादेवी श्रेष्ठ हो । उहाँले समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको  अध्ययन गर्नुभएको छ । उहाँले अहिलेसम्ममा बालसाहित्यका १२५ भन्दा बढी पुस्तक लेख्नुभएको रहेछ । उहाँले लेखेका बालसाहित्यका केही पुस्तकहरू यसप्रकार छन् :

१. देशको माया २. सुन्दर चित्र

३. चिम्पु र चिम्पान्जी ४. पुलगाडी

५. जलपरीको जुक्ति ६. रातो फूल

७. मेलामा खेला ८. गुलाफको फूल

९. सर्पको गाउँ १०. मिठा तरकारीहरू

११. धेरै धेरै प्रश्न १२. खाजा

१३. छाता आदि

जलपरीको जुक्ति कथाको मुख्य पात्र जलपरी नै हो । एक दिन ऊ नौका खियाउँदै जलदेवताको दरबारमा पुगी । त्यहाँ उसलाई ठुलो आपत् आइपर्‍यो । किनभने जलदेवताले उसलाई आफ्नै हराएकी कान्छी छोरी जस्तो लागेर आफ्नै दरबारमा राखिरहने निधो गरे । जलपरीले आफ्ना बाआमालाई भेट्न र घर जान नपाउने भई । यस्तो अवस्थामा उसले एउटा जुक्ति लगाई र ऊ त्यहाँबाट भागी । त्यसैले यस कथाको शीर्षक अभिधा अर्थमा जलपरीको जुक्ति राखेको राखिएको रहेछ ।

सारांश

नदी किनारमा एउटा माझी गाउँ थियो । त्यस गाउँमा परी नाम गरेकी एउटी केटी बस्थी । ऊ सारै चन्चले थिई । उसका बुबाआमा नौकामा बसेर माछा मार्थे । परीचाहीँ नदीमा माछाका भुरासँग खेलेर बस्थी । कहिले ऊ आफ्ना बुबाले बनाइदिएको नौकामा बसेर पानीमा घुम्थी । कहिले माछाका भुरा र पानीसँग खेल्थी । माछाका भुरा र पानीसँग खेल्न पाएपछि ऊ खान र सुत्नै बिर्सन्थी । त्यसैले उसलाई गाउँलेहरूले जलपरी भनेर बोलाउँथे । उसको वास्तविक नामचाहिँ परी थियो । एक दिन नौकामा घुम्दै जाँदा उसले पानीमुनि एउटा घर देखी । उसलाई पानीमुनि कसको घर रहेछ भनेर अचम्म पनि लाग्यो । उसले आफ्ना घर गएर बाआमालाई आफूले देखेको घरको कुरा सुनाई । बाले उसलाई डराउँदै त्यो जलदेवताको घर हो । त्यहाँ जानु हुँदैन । त्यहाँ गयो भने जलदेवता रिसाएर पानीमा तान्छन् भनेर सम्झाए । तर फेरि अर्को दिन ऊ नौकामा घुम्दै जाँदा त्यही ठाउँमा पुगी । ऊ डराएर भाग्न आँटेकी थिई । जलदेवताहरूले उसलाई ताने । ऊ जलदेवताको दरबारमा पुगी । त्यहाँ उसलाई ठुलो आपत पर्‍यो । किनभने जलदेवताहरूले उसलाई राजा जलदेवताकी हराएकी कान्छी छोरीजस्तै लागेर आफ्नो घर जान नदिने भए । त्यहाँबाट निस्कन उसले एउटा जुक्ति लगाई र ऊ रुन थाली । उसले रुँदै जलदेवतालाई बिहानबेलुका नौकामा चढेर जलमा डुल्ने आफ्नो बानी भएको कुरा गरी । राजाले उसलाई आफ्ना सेनाका साथ घुम्न जाने छुट दिए । परी नौकामा चढेर आफ्नो घर जानेबाटातिर लागी । घर आउँदाआउँदै बुबाले आफूलाई बोलाएको आवाज पनि उसले सुनी । उसले नौका बुबा भएका ठाउँतिर खियाउन थाली । राजाका सेना र जलपरीका बुबाले जलपरीलाई तानातान गरे । बुबाको नौका पल्टियो । बुबा परीलाई आफ्ना पिठ्युँमा बोकेर घरतिर लागे ।

निष्कर्ष

मैले यो कथा पढेर शिक्षा र मनोरञ्जन प्राप्त गरेँ । परी माछाका भुरासँग खेल्दा र नौकामा चढेर घुम्न जाँदाका कुराले आनन्द आउँछ । रमाइलो हुन्छ । म पौडिन जान्दिनँ । त्यसैले जलपरी नौकामा चढेर घुम्न जाँदा मलाई डर पनि लाग्यो । डर लागे पनि कथा पढूँ पढूँ भयो । मनोरञ्जन प्राप्त भइरह्यो । मैले यसकथाबाट निम्नअनुसारका शिक्षा पाएँ :

१. बाआमाले भनेको मान्नुपर्छ । मानेन भने आपत्‌मा पर्न सकिन्छ ।

२. आपतमा परियो भने आत्तिएर रुनु कराउनु हुँदैन । जुक्ति लगाउनुपर्छ ।

३. बाआमाले छोराछोरीलाई र छोराछोरीले बाआमालाई माया गर्नुपर्छ । आदि ।  

मलाई यो कथा निकै राम्रो लाग्यो । मैले कथा आफैँ पढेर बुझ्न सकेँ । कथाका कुनै कुनै वाक्यमा क्रियापद प्रयोग भएको रहेनछ । जस्तै : ‘नदी किनार छेवैमा माझी गाउँ ।’ यस वाक्यमा क्रियापद प्रयोग गएको छैन । यदि यहाँ ‘थियो’ भन्ने क्रियापद प्रयोग भएको भए अझ राम्रो हुन्थ्यो होला । यस कथामा अरू केही त्रुटि पनि रहेछन् । जस्तै :

‘अहँ कही पनि फेला पार्न सकेनौँ ।’ भन्ने वाक्यमा ‘कहीँ’ हुनुपर्ने हो तर चन्द्रबिन्दु छुटेको छ ।

यस्ता सानातिना त्रुटि भए पनि यो कथा रमाइलो र राम्रो छ । यस कथामा मुसुक्क, मगमग, ढुक्क, जुरुक्क, जस्ता अनुकरणात्मक शब्द; त, अँ, पनि, अहँ, रे, है, नि, पो, ल, न, जस्ता निपात अनि ओहो, बाबै, जस्ता विस्मयादिबोधक शब्द पनि प्रयोग भएका छन् । यी शब्दले वाक्यमा मसलाको काम गरेको देखिन्छ । यस कथामा दुईवटा सादा चित्र प्रयोग भएको छन् । सादा भए पनि ती चित्रले कथाको अर्थ बुझ्न सजिलो भएको छ ।