December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

कस्ले गाइरहेछ ?

प्रदीप लामा

विशाल केकमा
रङ्गीचङ्गी मैनबत्ती बालेर
लय मिलाई मिलाई
थपडी बजाई बजाई
खोइ कस्ले गाइरहेछ?
‘ह्याप्पी रिप्ब्लिक डे
ह्याप्पी रिप्ब्लिक डे।।’
 
ठानें-
कुनै अबोध बालबालिका
खोजें-
चारैतिर
तल माथि
यताउता
देखिनँ रङ्गीचङ्गी बेलुन बोकेका बालबालिका
उनीहरू त कुनै दुर्गन्धित नदी किनारामा
चुम्बकको सहायताले
सिक्का र धातु बटुलिरहेछन्
फुस-फुस कालो धुँवा आइरहेका इट्टाभट्टामा
कुपोषित बहिनी बुईमा बोकेर
इट्टा छापिरहेछन्
घरेलु कामदारहरू
भर्खरै मेडमको पेटिकोट धोएर
सिङ्गमर्मरको भर्याङ पुछिरहेछन्
खोइ कस्ले गाइरहेछ?।।
 
ठानें-
सायद कुनै विद्यार्थी
खोजें-
क्याम्पस
र विश्वविद्यालयका प्राङ्गणमा
स्वर्णपदकधारीहरू
कीर्तिपुरको कुनै बन्द कोठाभित्र
डर लाग्दो कपाल र दारी पालेर
कोरियन भाषा पढिरहेछन्
कोही टोफल आइल्टस सकाएर
स्टेटमेन्ट अफ पर्पोज लेखिरहेछन्
कोही
कान्जी, हिरागाना र काताकाना घोकेर
नो अब्जेक्सन लेटर कुरिरहेछन्
खोइ कस्ले गाइरहेछ?।।
 
ठानें-
उनै राता मान्छेहरू होलान्
जो रातो झन्डा बोकेर
किल्किले फुट्लाझैं गरी
आन्दोलनको अग्रपङ्तिमा
मुठ्ठी उचालेर
‘जिन्दावाद !  जिन्दावाद !!’ गर्थे
मुखियाको खेतमा
रातो झन्डा गाड्थे
असमानता, विभेद र कुरीतिका विरुद्ध
धावा बोल्थे
भुइँ मान्छेको गीत गाउँदै हिँड्थे।।
 
हैन म गलत रहेछु फेरि
उनीहरू त
कोही
शरीरमा बारुदका छर्रा बोकेर
खाडीका सेखहरूका ढोकामा
पहरा दिइरहेछन्
पहेँलो टोपी लगाएर
बेल्चा चलाइरहेछन्
कोही
आन्दोलनको क्षतविक्षत शरीर लिएर
बिहानैदेखि मूल सडकमा निस्केर
नेताहरूलई अश्लील गाली गरिरहेछन्
कोही उपचार अनि इलम खोजिरहेछन्
खोइ कस्ले गाइरहेछ?।।
 
सोच्नुस् त
कस्ले गाइरहेछ-
‘ह्याप्पी रिप्ब्लिक डे  
ह्याप्पी रिप्ब्लिक डे !’