April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

क्रिकेटका शब्दावली

पेशल अधिकारी

निकै लामो इतिहास बोकेको खेल हो क्रिकेट । यसको नेपालमा समेत पुरानै इतिहास पाइन्छ । यहाँसम्म कि भारतको भन्दा पुरानो क्रिकेट इतिहास नेपालमा पाइन्छ । त्यतिबेला जब भारतमा ब्रिटिसहरू मात्र क्रिकेट खेल्थे तब नै नेपालमा क्रिकेटको सुरुवात भइसकेको थियो । तर त्यस बेला भने धनाढ्य अनि राणा परिवारमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो । यति पुरानो इतिहास बोके तापनि नेपालीहरूको मन अनि रुचिमा आज पनि क्रिकेटले त्यति राम्रो ठाउँ लिएको छैन जति फुटबल अनि अरू केही खेलहरूले लिएका छन् । कारण हुनसक्छ क्रिकेट खेल्ने तौरतरिका र यसमा प्रयोग हुने शब्दावलीसम्बन्धी ज्ञानको कमी ।

क्रिकेट खेल्ने तरिका

यो त हामी सबैलाई थाहा छ कि क्रिकेट समूहमा खेलिने खेल हो र यसका प्रत्येक समूहमा ११ जना खेलाडी हुन्छन् । क्रिकेट वृत्ताकार मैदानमा खेलिन्छ जसलाई फिल्ड भनिन्छ । फिल्डको बाहिरी किनारालाई बाउन्ड्री भनिन्छ । फिल्डको ठिक बिचमा पिच हुन्छ जहाँ बलिङ् अनि ब्याटिङ् गरिन्छ जुन २२ गज (यार्ड) लामो हुन्छ ।

खेललाई अगाडि बढाउनका लागि दुवै समूहका कप्तानका साथ एम्पाएरले अफिसियल टस गराउँछन्, बिलकुल त्यसरी नै जसरी हामी कतिपय खेलका लागि ‘गाई कि त्रिशूल’ भनी सिक्का हावामा उछाल्ने गर्छौँ । जुन समूहले टस जित्छ उसलाई पहिले ब्याटिङ् गर्ने वा फिल्डिङ् गर्ने भनी रोज्ने अवसर मिल्दछ । र उनीहरूको रोजाइअनुसार नै खेल अगाडि बढ्दछ ।

ब्याटिङ् गर्ने समूहबाट दुई खेलाडी क्रिजमा उत्रन्छन् भने बाँकी खेलाडी आफ्नो पालोको प्रतीक्षा गर्दै तयारी अवस्थामा फिल्डबाहिरै रहन्छन् । त्यस्तै फिल्डिङ् गर्ने समूह भने बलर साथसाथै सबै खेलाडीहरू फिल्डिङ् गर्न फिल्डमा उत्रन्छन् जसलाई फिल्डर भनिन्छ । यसरी जुन समूह पहिले ब्याटिङमा उत्रन्छ, निर्धारित ओभर समाप्त नभएसम्म अथवा आफ्नो समूहका दश जना खेलाडी आउट नभएसम्म सोही समूहले ब्याटिङ् गरिरहन्छ । र, उक्त समूहले जम्मा कति रन लियो सोभन्दा एक रन बढीको लक्ष्य अर्को समूहलाई दिइन्छ । यसरी प्राप्त गरेको लक्ष्यलाई पछि ब्याटिङ् गर्ने समूहले भेटेको अवस्थामा सोही (लक्ष्य भेट्टाउने) समूहको जित हुन्छ । यदि पछि ब्याटिङ् गर्ने समूहले सो लक्ष्य प्राप्त गर्नुअगाडि नै समूहका दसैजना खेलाडी आउट भए भने पहिले ब्याटिङ् गर्ने (लक्ष्य दिने) समूहको जित हुन्छ ।

क्रिकेटमा बारम्बार प्रयोग हुने शब्दहरू

क्रिकेटमा त्यस्ता धेरै शब्दहरू छन् जुन अन्य खेलहरूमा कहीँ प्रयोग हुँदैनन् जसले गर्दा क्रिकेट खेल्न होइन बुझ्न पनि अली असजिलो हुन्छ । यद्यपि क्रिकेटमा प्रयोग गरिने सामान्य शब्दहरूबारे त प्रायः हामी सबै जानकार छौँ नै, जस्तो कि क्रिकेटको रेफ्रीलाई अम्पायर भनिन्छ । ब्याटिङ्का लागि पिचमा बल हुर्याउने व्यक्तिलाई बलर, उक्त बलको सामाना गर्दै ब्याटको सहायताले बल हिर्काउने व्यक्तिलाई ब्याट्स्मेन, ब्याट्स्मेनतर्फ विकेटपछाडि पन्जा लगाई बसेको व्यक्तिलाई विकेट किपर र बललाई सकेसम्म छिटो रोकी ब्याट्स्मेनलाई रन लिनबाट रोक्ने उद्देश्यले फिल्डभर छरिएर रहेका नौजना खेलाडीलाई फिल्डर्स भनिन्छ । यसका बाबजुत केही शब्दहरू भने त्यस्ता पनि छन् जुन क्रिकेटमा राम्रो ज्ञान भएकाबाहेक अन्य व्यक्तिहरूलाई बुझ्न गाह्रो हुन सक्छ । यस्ता जटिल र क्रिकेटमा बारम्बार प्रयोग भइरहने केही शब्दहरूका बारेमा यहाँ सामान्य चर्चा गरिन्छ ।

१. क्रिज ‍:

                पिचको दुई छेउ जहाँ ब्याट्स्मेनहरू रहेका हुन्छन् सोही ठाउँलाई क्रिज भनिने गरिन्छ । क्रिजको पछिल्लो भागमा विकेट र वरिपरि सेतो धर्सो रहेको हुन्छ ।

२. विकेट :

                ब्याट्स्मेनपछाडि क्रिजको अन्तिम भागमा गाडिएका तिनओटा स्टम्प (काठका बेल्नाकार टुक्रा जुन बराबर नापका हुन्छन्) र त्यस माथि अड्याइएका दुईओटा बेलको समूहलाई नै विकेट भनिन्छ ।

३. ओभर :

                एकजना बलरले एकपटकमा लगातार ६ पटकसम्म बलिङ् गर्न पाउँछ र त्यसपश्चात अर्को बलरले बलिङ् गर्नुपर्ने हुन्छ । यसरी एकजना बलरले ६ पटक बलिङ् गर्नुलाई नै एक ओभर भनिन्छ ।

४. नो बल :

                यदि बलरले बलिङ् गर्दा आफूतर्फको क्रिजभित्र अथवा विकेटभन्दा अघि बढेर बलिङ गर्दछ भने त्यसलाई नो बल भनिन्छ । यस्तो बलको गणना गरिँदैन र ब्याटिङ् गर्ने टिमतर्फ एक रन थपिन्छ । बलरले बल निश्चित हाईट ( ब्याट्स्मेनको कम्मर माथि या स्टम्पस्‌को हाईट ) भन्दा माथि सिधै बल (फुलटस) फाल्दा पनि नो बल हुन्छ । एक दिवसिय र T-20 मा बलरले नो बल गर्दछ भने अर्को बलमा ब्याटिङ् टिमलाई फ्रि हिट प्राप्त हुन्छ जुन बलमा ब्याट्स्मेन रन आउट भन्दा अरु कुनै किसिमले आउट हुँदैन ,टेस्ट क्रिकेटमा भने यो नियम लागु हुँदैन ।

५. वाइड :

                बलरले बलिङ् गरेको बल स्ट्रोकतर्फ क्रिजभन्दा बाहिरबाट अथवा विकेटभन्दा दायाँबायाँको सेतो धर्सोभन्दा बाहिरबाट जान्छ भने त्यस्तो बलिङ्लाई वाइड भनिन्छ । वाइड बल मान्य हुनका लागि त्यस बललाई ब्याट्स्मेनले टच गरेको हुनुहुँदैन । यसमा पनि नो बलमा जस्तै बलको गणना गरिँदैन यद्यपि ब्याटिङ् गर्ने टिमतर्फ भने एक रन थपिन जान्छ ।

६. स्ट्रोक :

                बलको सामना गर्नुपर्नेतर्फको क्रिजमा रहेको ब्याट्स्मेनलाई स्ट्रोक र अर्कोतर्फ क्रिजमा रहेको ब्याट्स्मेनलाई नन् स्ट्रोक भनिन्छ ।

७. रन :

                बलरले गरेको बललाई स्ट्रोकले ब्याटद्वारा हिर्काएपछि दुवै ब्याट्स्मेनहरू एकअर्काको क्रिजतफ दौडन्छन् । यसरी ब्याट्स्मेनहरूले एकपटक क्रिज परिवर्तन गर्दा एक रन हुनेगर्दछ भने यही बलले गुडेर बाउन्ड्री छुन पुग्दछ भने चौका (चार रन) र उडेर बाउन्ड्री कट्दछ भने छक्का (छ रन) हुन्छ ।

८. बाइ रन :

                बलरले बलिङ् गरेको बल ब्याट्स्मेनले ब्याटिङ् गर्दा ब्याट्ले टच नगरी अथवा ब्याट्स्मेनलाई समेत नछोई पिछाडितर्फ जान्छ र त्यस अवस्थामा ब्याट्स्मेनहरूले रन लिन्छन् भने त्यसलाई बाइ रन भनिन्छ ।

९. लेग बाइ :

                बलरले बलिङ् गरेको बल ब्याट्स्मेनको ब्याटमा टच नगरी अन्य अङ्गमा लाग्दछ र सो अवस्थामा ब्याट्स्मेनहरूले रन लिए भने त्यसलाई लेग बाइ रन भनिन्छ ।

१०. आउट :

                ब्याट्स्मेनबाट कुनै पनि किसिमको गल्ती भएको खण्डमा ब्याट्स्मेन खेलबाट बाहिरिनुपर्ने हुन्छ । यसलाई नै क्रिकेटमा आउट भन्ने गरिन्छ । यसरी एक ब्याट्स्मेन आउट भएपटि अर्को ब्याट्स्मेन जो फिल्डबाहिर आफ्नो पालोको प्रतीक्षा गरिरहेको हुन्छ ऊ क्रिजमा उत्रन्छ । यसरी एक टिम (समूह) बाट दश जना आउट भएपछि उक्त टिमको ब्याटिङ् गर्ने पालो सकिन्छ ।

११. बोल्ड आउट :

                बलरले बलिङ् गर्दा बलले सोझै गएर विकेटलाई हिर्काएको अवस्थामा स्ट्रोकमा रहेको ब्याट्स्मेन आउट हुन्छ जसलाई बोल्ड आउट भनिन्छ ।

१२. क्याच आउट :

                ब्याट्स्मेनले ब्याटिङ् गरेपछि बल जमिनमा नखसी बाउन्ड्रीभित्रै कुनै फिल्डरले समातेको खण्डमा पनि ब्याट्स्मेन आउट हुन्छ, जसलाई क्याच आउट भनिन्छ ।

१३. रन आउट :

                ब्याटिङपछि ब्याट्स्मेनले रन लिने क्रममा ब्याट्स्मेनहरू एकअर्काको क्रिजमा नपुगेकै अवस्थामा फिल्डरले बलद्वारा विकेटलाई हिर्काउँछन् भने सो अवस्थामा पनि ब्याट्स्मेन आउट हुन्छन्, जसलाई रन आउट भनिन्छ ।

१४. स्टम्पिङ् :

                बलरले बलिङ् गरेपछि बललाई विकेट किपरले समाती विकेटमा बलले हिर्काउँदा ब्याट्स्मेन क्रिजबाहिर रहेछ भने त्यस अवस्थामा पनि ब्याट्स्मेन आउट हुन्छ, जसलाई स्टम्पिङ् भनिन्छ ।

१५. लेग बिफोर विकेट (LBW)  

                यदि बलरले बलिङ गर्दा ब्याट्स्मेनको खुट्टा विकेटको ठिक अगाडि रहेछ र ब्याट्स्मेनको खुट्टामा बल ठोकिएको कारणले स्टम्पमा लागेन भने यस्तो अवस्थामा अम्पायरको निर्णयद्वारा आउट गरिन्छ, जसलाई लेग बिफोर विकेट (LBW) भनिन्छ ।

१६. हिट विकेट :

                ब्याट्स्मेनको ब्याटले विकेटलाई ठोक्काएको अवस्थामा पनि ब्याट्स्मेन आउट हुन्छ जसलाई हिट विकेट भनिन्छ ।

१७. विकेट डाउन :

                एक जना ब्याट्स्मेन आउट हुनुलाई नै एक विकेट डाउन भनिन्छ । यसरी एक टिमबाट दश विकेट डाउन भएपछि उक्त टिमको ब्याटिङ् गर्ने पालो सकिन्छ ।

यसरी क्रिकेट खेल्ने तौरतरिका र यसमा प्रयोग गरिने शब्दहरूका बारे जानकारी राख्न सके क्रिकेट त्यस्तो खेल हो जुन आफूले नखेली हेर्दैमा पनि भरपूर मनोरञ्जन लिन सकिन्छ ।