December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

प्रतिशोधले भुक्त उद्यम

हरिशरण अधिकारी

कश्यप ऋषिका दिति र अदिति नाम गरेका दुई पत्नी थिए । दितिका सन्तानहरू दैत्य र अदितिका इन्द्र आदि देवता भए । दैत्य र देवतामा प्रायः लडाइँ झगडा भई नै रहन्थ्यो । एक समय देवताहरूबाट दैत्यहरू पूर्ण रूपमा पराजित भइसकेका थिए । दितिमा एक प्रकारको प्रतिशोधको भावना उत्पन्न भयो । उनले आफ्ना पति कश्यप ऋषिका नजिक गएर विन्ति गरिन्– “हे प्रभु ! हे पति देव ! यदि ममाथि हजुरको कृपा हुन्छ भने, प्रभु ! इन्द्रलाई परास्त गर्न सक्ने सन्तान पैदा होस् भन्ने वरदान चाहन्छु ।”

कश्यप ऋषिले भने, “हे देवी ! यस संसारमा जसले जे इच्छा राख्छ, त्यो पूरा हुन्छ तर देश, काल, परिस्थितिलाई मध्यनजर राख्दै तिथि, प्रकृया र अनुशासनको मर्यादामा रहेर व्रत (उद्यम) गर्नुपर्छ । यदि विधि आदिमा त्रुटि भएमा परिणाम विपरीत हुन्छ । त्यसपछि दिति सोहीबमोजिम आफ्नो लक्ष्यमा अघि बढ्दिभइन् । विडम्बना ! आफ्नो कार्य (उद्यम) मा सानो त्रुटि भएका कारण प्रतिकूल परिणामको सामना गर्नुपर्‌यो । पुत्रको जन्म त भयो तर इन्द्रको शत्रु हुनुपर्नेमा इन्द्रको मित्र भएर इन्द्रकै साथमा गए । दितिको लक्ष्य पूरा हुन सकेन ।

यसका दुई कारण थिए– पहिलो कारण हो गरेका कार्यमा त्रुटि हुनु । दितिले आफ्नो इच्छा पूरा गराउन जुन कार्य गरिन् त्यसमा कुनै न कुनै त्रुटि थियो । दोस्रो कारण हो बदनियत । दितिले आफ्नो हितभन्दा बढी अरूको अहित चिताएर कार्य गरेकी थिइन् । यी नै दुई कारणले कार्यको परिणाम विपरीत आएको हो ।

यस सन्दर्भबाट बुझ्नुपर्ने दुईटा कुरा देखिए । १. हामी जे काम गर्छौँ, विधिपूर्वक गर्नुपर्छ । विधिमा कुनै त्रुटि हुनु हुँदैन । २. अरूको अहित चिताएर कुनै पनि कार्य गर्नु हुँदैन । अरूको अहित सोचेर कार्य गर्दा त्रुटि हुन सक्छ र परिणाम विपरीत हुन पुग्छ ।