जो होचो उसकै मुखमा घोचो
अरूकै खेतबारीबाट
खरिद गरी बजारसम्म
सब्जी ल्याएर बेच्ने
र दुई पैसा नाफा कमाई
परिवार पाल्ने गरेका साल्दाइ
लकडाउनमा विलखबन्धमा परे ।
सरकारी नियम पालन गरी
मास्क, पञ्जा र गमबुट लाएर
साइकलमा दुबैतिर
डोका झुन्डाएर बेच्न थाले
तर नगरप्रहरीले छोडेन साल्दाइलाई
उनको डोकाभरिको साग
घिरौँला र गट्टाहरू खोस्यो
धेरै अनुनयविनय गरे साल्दाइले
डोकामा झुन्डिए र सबै नियम पालन गरेको कुरा
प्रमाणित गर्न खोजे
तर ढुङ्गाको मन हुनेहरूले छोडेनन् ।
उठाए, लगे र खाल्डोमा पुरिदिए
साल्दाइ टाउकोमा हात राखेर धेरै बेर रोए
सकेनन् मुन्टो उठाएर केही भन्न पनि
बढी बोलेको नाममा
मान हानी गरेको नाममा
नियम उल्लङ्घन गरेको नाममा
कारबाहीमा पर्न पनि सक्थे उनी ।
ठुलाबडाहरू ट्रकभरि मान्छे हाल्छन्
तस्करी गर्छन्
फर्कँदा इन्डियाबाट
बाहिर सब्जी भित्र अवैध वस्तु ओसार्छन्
उनीहरू गैरकानुनी हुँदैनन् ।
साल्दाइ आफ्नै गाउँको ताजा
स्वस्थकर स्वदेशी सब्जी बेच्छन्
उनी गैरकानुनी बन्छन् किन
किनकि
उनी गरिब छन्
उनी निमुखा छन्
अरूले जसरी उनी कसैलाई
ख्वाउन, प्याउन सक्तैनन्
होचाका मुखमा घोचा हाल्ने समाजमा
जुनसुकै तन्त्र आए पनि कान चिरेकै हुँदोरहेछ ।
लेखकको सम्वन्धमा