March 23, 2023, Thursday
२०७९ चैत्र ९, बिहीबार

गजल

सजल भट्टराई

फर्किँदै छु आफ्नै देशमा फेरि विदेश आउन नपरोस्
यी मेरा हातले अब हरियो राहदानी समाउन नपरोस् ।।

उद्योग खोल हामीलाई देशमै रोजगारी देऊ सरकार
रोजीरोटीका लागि युरोप र खाडीमा धाउन नपरोस् ।।

देशको भलाइमा काम गर्नुहोस् ए कुर्सीका रक्षकहरू
नत्र जनताले अझै बालुवाटारमा घेरा लाउन नपरोस् ।।

हिजो जनतासँग गरेको बाचा नभुल्नु होला नेताज्यू
भोलि जनताले कालो मोसो दलेर सम्झाउन नपरोस् ।।

जाँदा जहाजमा गएको रोशन आज बाकसमा आयो
उसको परिवारले जस्तै अरूले आँसु बगाउन नपरोस् ।।