February 28, 2024, Wednesday
२०८० फाल्गुन १७, बिहीबार

…कहाँ छ र ?

कवि – बिष्णु न्यौपाने

रित्तियो  प्रेम आँखामा  माया छैन   छ वासना
थपियो   बस्तीमा सास्ती  चुल्होमा छैन रासन
हावामा  योजना बुन्छन्  सत्यता खै कहाँ छ र ?
बोल्दैनन् कर्मले  मान्छे धाक सच्चा कहाँ छ र ?
 
एउटै  बीजका  लाखौँ   बिरुवा पात  एक छन्
एउटै  कोखका मान्छे   प्रत्येक भिन्न भिन्न छन् 
बुद्धिले  गाँसिदै मान्छे  सिङ्गो बन्दो कहाँ छ र ?
अभिमान ठुलो ठान्छ    स्वाभिमान  कहाँ छ र ?
 
हजारौँ फल छन् उस्तै   बोट भिन्नै  भए पनि
सन्तान भिन्न भिन्नै छन्  आमा  एकै रहे पनि
ऐँसेलु रूख नै बाङ्गा  काँडो सिधा कहाँ छ र ?
धर्तीका  धूर्त मान्छेको   कर्म सिधा कहाँ  छ र ?
 
उखुकै  स्वाद पाइन्न   चिरैतो जात  तिक्त छ
दुष्ट  हुँडारले  छिर्दै   कलेजो, मुटु  झिक्तछ
मर्ममा  मर्न  हे मान्छे, मार्नु  धर्म कहाँ छ र ?
रक्तपिपासु भै बाँच्ने  सेर  सभ्य कहाँ  छ र ?
 
मासिन्न  जलको कुम्भी  डढेलो  सिद्धिँदा पनि
नासिन्न  स्वार्थको घैंटो श्वास नै  रित्तिँदा पनि
गोजी हुँदैन कात्रोमा  बोकी लानु  कहाँ छ र ?
सन्तोषी बन् न  हे मान्छे ईर्ष्या पूज्य कहाँ छ र ?
                               
                छन्दः अनुष्टुप्