…कहाँ छ र ?

रित्तियो प्रेम आँखामा माया छैन छ वासना
थपियो बस्तीमा सास्ती चुल्होमा छैन रासन
हावामा योजना बुन्छन् सत्यता खै कहाँ छ र ?
बोल्दैनन् कर्मले मान्छे धाक सच्चा कहाँ छ र ?
एउटै बीजका लाखौँ बिरुवा पात एक छन्
एउटै कोखका मान्छे प्रत्येक भिन्न भिन्न छन्
बुद्धिले गाँसिदै मान्छे सिङ्गो बन्दो कहाँ छ र ?
अभिमान ठुलो ठान्छ स्वाभिमान कहाँ छ र ?
हजारौँ फल छन् उस्तै बोट भिन्नै भए पनि
सन्तान भिन्न भिन्नै छन् आमा एकै रहे पनि
ऐँसेलु रूख नै बाङ्गा काँडो सिधा कहाँ छ र ?
धर्तीका धूर्त मान्छेको कर्म सिधा कहाँ छ र ?
उखुकै स्वाद पाइन्न चिरैतो जात तिक्त छ
दुष्ट हुँडारले छिर्दै कलेजो, मुटु झिक्तछ
मर्ममा मर्न हे मान्छे, मार्नु धर्म कहाँ छ र ?
रक्तपिपासु भै बाँच्ने सेर सभ्य कहाँ छ र ?
मासिन्न जलको कुम्भी डढेलो सिद्धिँदा पनि
नासिन्न स्वार्थको घैंटो श्वास नै रित्तिँदा पनि
गोजी हुँदैन कात्रोमा बोकी लानु कहाँ छ र ?
सन्तोषी बन् न हे मान्छे ईर्ष्या पूज्य कहाँ छ र ?
छन्दः अनुष्टुप्

लेखकको सम्वन्धमा