December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

तिम्रो याद

गरिमा न्यौपाने
कक्षा: ६
सिद्धार्थ बोर्डिङ् माध्यमिक विद्यालय,
दमक, झापा ।

तिमी आयौ मेरो जिन्दगीमा
मात्र केही पलका लागि
र गयौ नमेटिने झझल्को दिएर
मेरो पूरै जिन्दगी बनी ।
 
तिमी आउँछ्यौ भनेर पर्खिरहेछु म अझै
तिमी सधैँ हिँड्ने बाटो कुरेर
हरपल सम्झिरहन्छु
तिमीले छोडेर किन गयौ भनेर ?
बिर्सन खोज्छु पटक पटक
तर आइरहन्छ याद फर्कीफर्की
किन हो जाँदैजाँदैन छोडेर ।
 
तिम्रो फोटो सम्हालेर राखेकी छु
तिम्रो बोली, तिम्रो मुस्कान नै
सधैँ याद आइरहन्छ
तिमीलाई बिर्सन खोज्दै छु
तर
मेरो मन मस्तिष्कमा कैद भइसकेकी रहिछौ तिमी
कहाँ बिर्सन सक्दो रहेछु र ?
मलाई कहिल्यै रुन दिन्न भन्थ्यौ
सधैँ खुसी राख्छु भन्थ्यौ
तर तिमीले नै मलाई रुवाएर गयौ
‘तिम्रा हरेक दुःखमा म साथ दिन्छु’ भन्थ्यौ
‘कहिल्यै साथ छोड्दिनँ’ भन्थ्यौ
तर आज म एक्लै छु
सारै दुःखमा छु
तिमी कहाँ छौ ?
खै तिमी कहाँ हरायौ ?
 
तिम्रा हरेक कुरालाई साँचो ठानेकी थिएँ
हरेक वचन पूरा गर्छ्यौ भन्ने लाग्थ्यो मलाई
तिमीले भनेका सबै कुरा झुट्टा रहेछन्
तिमीले त मलाई दुःख दियौ दियौ,
मेरो साथ छोड्यौ छोड्यौ
तर म कहिल्यै तिम्रो कुभलो चिताउने छैन
तिमी जहाँ, जस्तो हालतमा भए पनि
खुसी रहू, सुखी रहू
तिम्रो यादले मलाई हरपल सताइरहोस्
तिमीलाई सम्झेर यो मन हरेक पल रोइरहोस्
तिमी त्यति नै बढी याद बनेर आइरहू
जति नै तिमीलाई बिर्सन खोज्छु म
तिमीलाई कहिल्यै बिर्सन नसकूँ म
आमा ! तिमीलाई कहिल्यै बिर्सन नसकूँ म
तर भन त आमा !
तिमीले मलाई किन छोडी गयौ ?